सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दाे, सीमा नाकामा कडाइ
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मङ्गलबारमात्र यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मङ्गलबार नौ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ । मङ्गलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । जोखिम कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उनले भने, “सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तर रूपमा भइरहेको छ ।”
यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ । पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रूपमा भइरहेको जनाइएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५४ हजार ८८२ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ७६० जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती