शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धान रोपाइँ हालसम्म ६० प्रतिशतमात्र, सबैभन्दा कम मधेस प्रदेशमा

बुधबार, ०४ साउन २०७९, ०५ : ५०
बुधबार, ०४ साउन २०७९

सरकारी तथ्याङ्कलाई आधार मान्ने हो भने देशभरि हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा भएको धान रोपाइँको तुलनामा यो निकै न्यून हो । गत वर्ष साउन ४ गतेसम्म ९६ प्रतिशत रोपाइँ भइसकेको थियो ।

धान खेतीको ‘हब’ मानिएको मधेस प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार मधेस प्रदेशमा ३९ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको हिसाबले सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा (८७ प्रतिशत) रोपाइँ भएको छ ।

यस्तै, प्रदेश १ मा ४९, बागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ७९, लुम्बिनी प्रदेशमा ७५ र कर्णाली प्रदेशमा ५६ प्रतिशत रोपाइँ भएको छ । जबकि अघिल्ला वर्ष यतिबेलासम्म कर्णाली, सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको हुन्थ्यो ।

सबैभन्दा कम रोपाइँ भएको मधेस प्रदेशमा जिल्लागत विवरण हेर्ने हो भने धनुषामा ३५, महोत्तरीमा ३०, सर्लाहीमा ३५, पर्सामा ४२, बारामा ४०, रौतहटमा ३२, सप्तरीमा ५० र सिरहामा ४२ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ चार लाख पाँच हजार हेक्टरमा धान खेती हुन्छ, जबकि हालसम्म एकलाख ५८ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।

यसरी कम रोपाइँ हुनुको मुख्य कारण मल र सिँचाइको अभाव नै रहेको कृषि विभागले जनाएको छ । मधेस प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता ललनकुमार सिंहले पनि धान रोपाइँ नहुनुको मुख्य कारण सिँचाइ नै रहेको बताए । उनले भने, ‘करिब १० दिनदेखि पानी परेको छैन, लगभग रोपाइँ ठप्प नै छ ।’

सिँचाइको सुविधा भएकाहरूले मात्र पछिल्लो समय रोपाइँ गरिरहेको नत्र आकाशे पानीको भरमा खेती गर्ने किसानले एक साता यता धान रोप्न नपाएको उनको भनाइ छ । वर्षा नहुँदा सिँचाइ सुविधा नभएका क्षेत्रमा रोपेको धान पनि सुक्न थालेको उनले बताए । उनका अनुसार साउनको दोस्रो हप्तासम्म धान रोपाइँ गर्न सकिन्छ ।

के भन्छ मौसम विभाग ?

जल तथा मौसम विज्ञान विभागका अनुसार साउन ५ गतेसम्म मधेस प्रदेशमा पानी पर्ने सम्भावना छैन । विभागले मंगलबार साउन ३ देखि ५ गतेसम्मको अवधि समेटेर जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी सूचना अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मंगलबार रातिदेखि वर्षाको सम्भावना छ । यो अवस्था साउन ४–५ गतेसम्म रहने विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का तथा मध्य वर्षा कतैकतै भइरहेको छ तर मधेस प्रदेशमा वर्षाको सम्भावना देखाइएको छैन ।

आकाशे पानीको भरमा खेती गर्दै आएका किसानका लागि यो ठूलो चुनौती बनेको छ । साउन १५ गतेसम्म रोपाइँ भएन भने त्यसपछि रोपेको धानको उत्पादन पनि राम्रो हुँदैन र त्यसले समग्र उत्पादनमा असर पार्छ । गत वर्ष असोजमा भएको बेमौसमी वर्षाका कारण धानमा निकै क्षति पुगेको थियो । त्यसले ८ प्रतिशतले धान उत्पादनमा कमी ल्याएको थियो ।

यसपटक समयमा पानी पर्न सुरु भएको कारण समयमा नै रोपाइँ सम्पन्न हुने र उत्पादन पनि राम्रै हुने अनुमान सरकारले गरेको थियो तर पानीको अवस्था हेर्दा लक्ष्यलाई भेट्न सकिदैन कि भन्ने चिन्ता बढेको कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले बताए ।

मनसुन चाँडै आए पनि अहिले पानी निकै कम पर्न थालेकाले रोपाइँ पनि कम भएको उनको भनाइ छ ।

कुन जिल्लामा कति रोपाइँ ?

प्रदेश १ मा गत वर्ष यतिबेला ७० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो तर अहिले ४९ प्रतिशतमात्र रोपाइँ भएको छ । प्रदेश १ मा सबैभन्दा बढी तेह्रथुममा ७० प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम मोरङ, पाँचथर र धनकुटामा ३५ प्रतिशत रोपाइँ भएको छ । इलाममा ५३, भोजपुरमा ६७, उदयपुरमा ४४, ओखलढुंगामा ६६, खोटाङमा ५८, झापामा ६१, सुनसरीमा ४५ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै बागमती प्रदेशमा ६५ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी काठमाडौँमा ९३, भक्तपुर र ललितपुरमा ९० प्रतिशत रोपाइँ भइसकेको छ भने धादिङमा ४९, नुवाकोटमा ६०, सिन्धुपाल्चोकमा ७३, मकवानपुरमा ६०, चितवनमा ७० प्रतिशत रोपाइँ भएको छ ।

गण्डकी प्रदेशमा ८० प्रतिशत रोपाइँ भइसकेको छ । मनाङ, मुस्ताङमा धान खेती नै हुँदैन भने अहिलेसम्मको तथ्याङ्क अनुसार कास्कीमा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ भइसकेको । स्याङ्जामा ९१, म्याग्दी, गोरखा र बाग्लुङमा ७०, पर्वतमा ५५, तनहुँमा ६८, लमजुङमा ८१ र नवलपुरमा ८० प्रतिशत रोपाइँ भइसकेको छ ।

लुम्बिनी प्रदेशमा ७५ प्रतिशत रोपाइँ भइसकेको छ । सो प्रदेशमा सबैभन्दा बढी नवलपरासीमा ९६ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै कपिलवस्तुमा ७२, रुपन्देहीमा ९०, बाँकेमा ४०, बर्दियामा ७८, दाङमा ७० प्रतिशत रोपाइँ भएको छ ।

५६ प्रतिशत रोपाइँ भएको कर्णाली प्रदेशको डोल्पा र जुम्लामा रोपाइँ सम्पन्न भइसकेको छ । हुम्लामा ९८ प्रतिशत, कालीकोटमा ६८, मुगुमा ७५, सुर्खेतमा ३०, दैलेखमा ४५, रुकुम पश्चिममा ८६, जाजरकोटामा ५९ र सल्यानमा ७८ प्रतिशतमात्र रोपाइँ भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ८७.४९ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा सबैभन्दा बढी रोपाइँ भएको जिल्ला बैतडी, बझाङ, कैलाली र डडेल्धुरा छ । त्यहाँ क्रमशः ९४, ९१, ९१ र ९३ प्रतिशत रोपाइँ भएको छ । दार्चुलामा ७८, बाजुरामा ८३, डोटीमा ७५, अछाममा ८५, कञ्चनपुरमा ८४ प्रतिशत रोपाइँ भएको छ ।

कुनै जिल्लामा ३० र कतै ९० प्रतिशत रोपाइँ हुनुको कारण खण्डवृष्टि नै रहेको मधेस प्रदेशका कृषि मन्त्रालयका प्रवक्ता सिंहले बताए । यस्तै अवस्था रह्यो भने सुक्खा भएर खडेरी पनि हुनसक्ने सम्भावना हुने भन्दै उनले तर अहिले नै आत्तिने अवस्था नरहेको बताए । उनले साउन १५ गतेसम्म पानीको बाटो हेर्ने बताए ।

सिँचाइ सुविधा कति ?

सिँचाइ विभागका अनुसार नेपालमा कुल खेतीयोग्य जमिनमध्ये ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ । ६० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप