शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राहदानी विभागको शौचालय करेन्ट र भोलाले भरियो !

निर्देशक भन्छन्–ट्वाइलेट मर्मत गर्दा–गर्दा हैरान छौँ
मङ्गलबार, ०३ साउन २०७९, २० : ०८
मङ्गलबार, ०३ साउन २०७९

काठमाडौँको त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागको अत्याधुनिक कार्यालय । बाहिरबाट हेर्दा जति चिटिक्क र आकर्षक देखिन्छ यो कार्यालय, भित्रको व्यवस्थापन भने चित्त बुझ्दो छैन । 

राहदानी सम्बन्धी हरेक कामका लागि दैनिक हजारौँ सेवाग्राही पुग्ने यो कार्यालयमा लाइन नबसी काम लिन सम्भव छैन भने शौचालय जानुपर्‍यो भने गइसक्नु छैन । शौचालय यति धेरै फोहोर छ कि प्यान र भुईँको सतह दिशा पिसाबले भरिएको छ । पुरुष शौचालयको प्यानमा पिसाब भरिएको दृश्य सामान्य भइसकेको छ । चारैतिर पराग र गुट्खाका खोल र भित्ताभरि पराग थुकेको फोहोर पनि त्यतिकै छ । 

ट्वाइलेटको मात्रै समस्या छैन । इ–पासपोर्ट बनाउन पनि झन्झट भोग्नुपरेको र बिचौलियाले पैसा लिने गरेको सेवाग्राहीको गुनासो छ । इ पासपोर्टका लागि कोटा खाली नभएको भन्दै बिचौलियाले पैसा लिने गरेको सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन् । 

पासपोर्ट बनाउनका लागि केही दिन धाएर मंगलबार फेरी पनि राहदानी विभाग पुगेका सेवाग्राही अच्युत प्रसाद फुयाँललाई राहदानी विभागको ट्वाइलेटमा १ मिनेट समय बिताउन मुस्किल पर्‍यो । ट्वाइलेटमा एक छिन पस्ने बित्तिकै बान्ता हुने अवस्था रहेको उनले बताए । दुर्गन्ध सहँदै हरेक दिन शौचालय प्रयोग गर्न सेवाग्राही बाध्य हुनुपरेको फुयाँलले बताए । 

परराष्ट्र मन्त्रालय अन्तर्गतको सेवाग्राहीको भीड हुने कार्यालयको ट्वाइलेटको बेहाल अवस्थाबारे हामीले मन्त्रालयकी प्रवक्ता सेवा लम्साललाई जिज्ञासा राख्यौँ, उनले नयाँ भवन भएकोले पनि ट्वाइलेट खराब अवस्थामा हुन नपर्ने बताइन् । तर आफू मन्त्रालयमा रहने भएकोले राहदानी विभागको ट्वाइलेटको समस्या बुझ्न नपाएको बताइन् । 

विभागका प्रवक्ता भन्छन् ः ‘सेवाग्राही प्यानमै बोतल हाल्छन्, ट्वाइलेट मर्मत गर्दा–गर्दा हैरान छौँ’

यता विभागको दुखेसो भने अर्कै छ । आफ्नो कारण नभई सेवाग्राहीकै बदमासीका कारण ट्वाइलेट फोहोर र जाम हुने गरेको विभागको दाबी छ । सेवाग्राहीले ट्वाइलेटको प्यानभित्र पानीको बोतल, कागज हालिदिने, पराग गुट्खा पिसाब फेर्ने प्यानमा थुकेर जाम गराइदिने गरेका कारण ट्वाइलेटमा समस्या आइरहने गरेको विभागका निर्देशक समेत रहेका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई बताए । 

उनले एउटा ट्वाइलेट फोहोर भए पनि सबै ट्वाइलेट त्यस्तो नरहेको र अरू ट्वाइलेट प्रयोग गर्न सकिने बताए । 

उनले भने–‘हामीले ट्वाइलेट सफा गर्ने, मर्मत गर्ने नगरेको हैन तर सेवा ग्राही नै प्यानभित्र बोतल हालिदिने, कागज, परागको खोल हालिदिएर जाम गराइदिनुहुन्छ । एउटा ट्वाइलेट त्यस्तो भए पनि विभागको प्रत्येक तलामा ट्वाइलेट छ त्यो प्रयोग गर्न सक्नुहुन्छ ।’

ट्वाइलेट प्रयोग गर्दा सेवाग्राहीले साधारण अनुशासन समेत कायम नगर्दा ट्वाइलेटमा समस्या आएको उनको दाबी छ । सेवाग्राहीले नै अनावश्यक चिज ट्वाइलेटमा हालेर जाम पारिदिने गरेका कारण समस्या भएको उनले बताए । 

निर्देशक आरनले भने–‘सेवाग्राहीलाई के भन्ने खै उहाँहरूलाई चेतना नभएको कसरी भन्ने, सरकारी कार्यालय हो जे गरे पनि हुन्छ भनेर त्यसो गर्नुभएको हो कि ? बोतल, कागज सबै ट्वाइलेटमै हालिदिएको छ । पानी फ्लस पनि गरिदिनु हुँदैन । ट्वाइलेट छिरेका कति जना सेवाग्राहीको हामी पछि लाग्ने ? के भन्ने खै उहाँहरू हाम्रै दाजुभाइ दिदीबहिनी हुनुहुन्छ तर हामीलाई नै हैरान पार्नुभएको छ । प्रत्येक महिनैपिच्छे ट्वाइलेट बनाउँदा बनाउँदै हैरान भएका छौँ ।’

बिचौलियाको समस्या भएमा विभागका पदाधिकारीलाई भेटेर उजुरी गरेमा कारबाही गर्ने र इ–पासपोर्टका लागि कोटा भरिने भन्ने कुरा नरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप