शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनीको मायादेवी मन्दिर थाइ संस्थाले मर्मत गर्दै

मङ्गलबार, ०३ साउन २०७९, १८ : ५६
मङ्गलबार, ०३ साउन २०७९

लुम्बिनीको मायादेवी मन्दिर थाइल्याण्डको बुद्धिष्ट संस्था थाइपुङ थाइले गर्ने भएको छ । वर्षौँदेखि पानी चुहिएर महत्त्वपूर्ण सम्पदा क्षति हुने क्रममा रहेकै समयमा मायादेवी मन्दिर मर्मतको काम सुरु हुन थालेको हो ।

लुम्बिनी विकास कोषका अनुसार भदौबाट मर्मतको काम सुरु हुने भएको छ । मन्दिर मर्मतका लागि कोषले प्राविधिक सहयोग गर्ने भएको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पानी चुहिने भएपछि प्राचीन संरचना मक्किने, ढुसी लाग्ने, खिइने, धुलो बन्नेजस्ता समस्या रोक्न मर्मत गर्न थालिएको रातोपाटीलाई बताए । उनका अनुसार मर्मत खर्च थाइ संस्थाले नै व्यहोर्ने छ भने पुरातत्व विभागका इन्जियिरहरुले निगरानी गर्नेछन् ।

लुम्बिनी विकास कोषको पुरातत्व महाशाखाका अनुसार मन्दिर चुहिन थालेको पाँच–छ वर्ष भएको छ । त्यसअघि पनि पानी चुहिने समस्या भएको तर मर्मतपछि केही समय समस्या समाधान भए पनि फेरि उस्तै भएको महाशाखाले जनाएको छ । कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार मन्दिर चुहिन थालेको १८ वर्ष अघिदेखि हो । यो बीचमा दुई पटक मन्दिरको छतलाई वाटरप्रुफिङ (पानी चुहिन नदिन प्रविधिको प्रयोग गरी मर्मत) गरिएको उनले बताए ।

अहिले मर्मत गर्नका लागि ७ करोड रुपैयाँ जति खर्च आउने अनुमान गरिएको छ । ६ वर्ष अघि जापान सरकारको सहयोग र युनेस्कोको संयोजनमा इटालीका रसायनविद् किनो मियुसीले मायादेवी मन्दिरभित्र रहेका सम्पदा खिइँदै जान थाल्नुको कारणबारे अध्ययन–अनुसन्धान गरेका थिए । त्यस बेला मायादेवी मन्दिर रहेको स्थानको जमिनमुनिको पानीमा नुनको मात्रा पाइएको थियो । त्यसपछि विकास कोषले मन्दिर परिसरमा रहेको जमिनको सतहको पानीको लेबल घटाउने प्रयास गरेको थियो ।

मन्दिरको छतमा फलामको एङ्गल र पाता बिछ्याएर त्यसमाथि दुई तहको इँटा राखेर माथिबाट सुर्खी र चुनाले ढलाइ गरिँदा बढी लोड भएर छत चुहिएको यसअघि गरिएको अध्ययनले देखाएको लुम्बिनी विकास कोषले जनाएको छ । दर्जनौँ ठाउँबाट पानी चुहिएकै कारण मन्दिरभित्रका महत्त्वपूर्ण संरचना नासिने खतरा बढेको विज्ञहरु बताउँछन् । बुद्ध जन्मस्थल लुम्बिनीको सबैभन्दा महत्त्वपूर्ण ठाउँ (केन्द्र) नै मायादेवी मन्दिर हो । लुम्बिनी विकास कोषका अनुसार पुरानो मायादेवी मन्दिरलाई सन् १९९२ मा भत्काएर पुरातत्त्व विभाग, जापानको जापनिज बुद्धिस्ट फेडरेशन र लुम्बिनी विकास कोषले संयुक्त रूपमा उत्खनन् गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप