शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री नै किरात पक्षधरलाई बन्द हडतालका लागि उकास्दै

‘गणित देखाएर गलत गर्न खोजे संवैधानिक अधिकार प्रयोग गर्ने चेतावनी’
मङ्गलबार, ०३ साउन २०७९, १७ : ३७
मङ्गलबार, ०३ साउन २०७९

प्रदेश १ को नामकरणको विषय चर्किँदै जाँदा पहिचान पक्षधर संघ सङ्गठनहरूको स्वर पनि चर्को बन्न थालेको छ । त्यसको सहारा बनेका छन् प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई । 

किरात राई यायोख्खाले आज आयोजना गरेको ‘किरात सभ्यता’ नामक पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री राईले आफू कुनै पनि हालतमा किरातको नाममा उभिने प्रष्ट पारे । ‘म सारा सिमेभूमे, यलम्बर, सुम्निमा, पारुहाङ सबै पितृको कसम खाएर भन्छु म किरातको पक्षमा उभिनेछु,’ उनले भने । 

‘के बन्द हडताल गर्नै नसक्ने हैसियतमा छन् त किरातको माग गर्ने युवाहरु ? १० जना युवाहरु डाँडामा चढेर ढुङ्गा हाने पनि बन्द त भइजान्छ नि । सडकमा केही युवा लाठी लिएर आए भने सडक पनि बन्द हुन्छ,’ उनले भने, ‘मानिसलाई टुप्पीबाट धुवाँ आउने खालका कुरा गर्छन् के, यो देशमा राष्ट्रघाती सन्धि सम्झौताहरू मधेसी आदिवासीले गरेका छन् कि मूल धारका भनिनेहरूले गरेका छन् ? ।’

उनले प्रदेशसभा (संसद्)को गणित पहिचानको पक्षमा नभएको पनि बताए । ‘सांसदको गणित पहिचानको पक्षमा छैन । यसमा हामीले काफी होमवर्क गरेका छौँ,’ उनले भने, ‘यसमा प्रष्ट कुरा के छ भने अत्यन्तै खराब निर्णय गरियो भने त्यो कुरा मान्य हुने छैन । हदैसम्मको लचकता अपनाउन हामी तयार छौँ । अरूले दुई तिहाइको गणितको शक्ति देखाउँछन् भने मुख्यमन्त्रीले पनि आफ्नो संवैधानिक शक्ति प्रयोग गर्छ । संविधानभित्र रहेर एकदमै जबरजस्ती खराब नाम, सेन्टिमेन्ट देखाएर प्रक्रिया तिर अगाडि बढाउने गलत काम गर्ने अवस्था सिर्जना भयो भने, मुख्यमन्त्री बुख्याचा होइन, त्यो कुरामा म स्पष्ट छु ।’

कार्यक्रममा किरात राई यायोख्खाका अध्यक्ष दिवस राईले किरात प्रदेश नमाने भोलिदेखि नै जिल्ला जिल्ला ठप्प पार्ने गरी कार्यक्रम तयारी गरिरहेको बताए । ‘८ गतेको संसद्‍मा टेबुल हुँदा किरात प्रदेश नामकरण अनिवार्य सर्त हो भन्ने मानसिकताले सांसदहरू जाउन्, अहिलेसम्म हामी अनुरोधको भाषा बोलिरहेका छौँ,’ उनले भने, ‘किरात प्रदेशमा सहमत हुन नसक्ने दलको भण्डाफोर मात्रै होइन सत्यनास गर्छौं ।’

कार्यक्रममा प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीले आदिवासी जनजातिको पहिचानलाई सम्बोधन गर्नकै लागि पनि सङ्घीयताको व्यवस्था गरिएको बताउँदै सोही अनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिए । ‘किरात प्रदेश नाम राख्दा जातीय हुन्छ भन्नेहरू नै बढी जातिवादी हुन्,’ उनले भने, ‘किरात इतिहास पनि हो र भूगोल पनि हो ।’ उनले आफ्नो चिनामा पनि किरात उल्लेख भएको बताए । १ नम्बर प्रदेशको मूल पहिचान किरात भएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप