सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गरिने

मङ्गलबार, ०३ साउन २०७९, १७ : २६
मङ्गलबार, ०३ साउन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए ।  

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालीम कार्यक्रमहरु विस्तार गर्नुपर्नेमा जोड दिए । सबै प्रदेशमा प्रतिष्ठानका शाखा विस्तार गरी सञ्चालनमा ल्याउने र यसबाट पर्यटनको विकास तथा विस्तारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । पर्यटन उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न, उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम र अनुसन्धानका कार्यक्रम अघि बढाउन सवै प्रदेशमा प्रतिष्ठानका शाखा कार्यालय विस्तार गर्नुपर्ने उनले बताए । 

गत आर्थिक वर्षमा झापा, महोत्तरी, बाँकेमा प्रतिष्ठानका शाखा कार्यालयहरु स्थापना भएका छन् । सो अवसरमा मन्त्री श्रेष्ठले प्रतिष्ठानको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर र सञ्चालन भइरहेका तालिमका सम्वन्धमा जानकारी लिएका थिए ।  प्रतिष्ठानबाट उत्पादित जनशक्ति मध्ये ९० प्रतिशत बढी रोजगारीमा आवद्ध भएका छन् । प्रतिष्ठानले हालसम्म ५७ हजार ५ सय ७२ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ भने गत आर्थिक वर्षमा मात्र करिव १५ सय जना शैक्षिक कार्यक्रममा सामेल भएका छन् । प्रतिष्ठानले पर्यटन उद्योगका लागि चाहिने जनशक्ति तयार गर्न उच्चस्तरीय शैक्षिक कार्यक्रम, तालिम कार्यक्रम तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप