बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन सक्छ नेकपा एमालेको ‘भरपर्दो’ सहयात्री ?

मङ्गलबार, ०३ साउन २०७९, १७ : २२
मङ्गलबार, ०३ साउन २०७९

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनलाई कायम राख्ने औपचारिक निर्णय गरिसकेको छ । काँग्रेसको यो निर्णयसँगै एमालेका सामु चुनौती थपिएको छ ।

स्थानीय तह निर्वाचनमा साना दलसँग तालमेल गरेको एमालेले आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धन फुटाएर आफ्नो अनुकुल समीकरण बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखे पनि काँग्रेसले गठबन्धन कायमै राख्ने निर्णय गरेसँगै एमालेको त्यो योजना तुहिने लगभग निश्चित देखिएको छ ।

त्यसैले एमालेले अब पाँच दलीय गठबन्धन बाहेकका दलहरुलाई विश्वासमा लिने योजनालाई अब प्राथमिकतामा राख्ने भएको छ । सोही क्रममा एमालेले ‘भरपरर्दो सहयात्री’ को खोजी गर्ने बताइसकेको छ । यद्यपि अहिलेको अवस्थामा एमालेले वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जस्तै स–साना समूहलाई साथ लिएर सत्तासाझेदार दलहरुसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गत असार २६ गते अन्तर पार्टी निर्देशन (अपानी–४) जारी गर्दै एमालेलाई सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभए पनि गठबन्धन भत्काउन नलाग्ने बरु भरपर्दो सहयात्रीको खोजी गर्नुपर्ने उल्लेख गरेका थिए ।

‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागिमात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन’,अध्यक्ष ओलीले अपानी–४मा भनेका छन्, ‘तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ ।’

त्यसो त ओलीको लिखितम् र बकितममा एकरुपता भने छैन । असार २६ गते पार्टीको दस्तावेजमार्फत तत्काल सत्ता गठबन्धन भत्काउने र सरकार बनाउनेतिर नलाग्ने बताएका ओलीले त्यसको चार दिनपछि असार ३२ गते शनिबार नै काठमाडांैमा भएको एक कार्यक्रममा ५ दलीय गठबन्धन सरकारको विकल्पमा राष्ट्रवादी सरकार गठन गर्नुपर्ने धारणा राखे । आफू राफसाफ कुरा गर्ने पक्षमा रहेको भन्दै ओलीले भने, ‘कोही बामपन्थी हुनुहुन्छ भने आउनुस्, काँग्रेस विरोधी होइन, देश र राष्ट्रियताका पक्षमा काम गर्ने सरकार बनाऊँ ।’

यसअघि एमालेबाहेक अरु वामपन्थी नै नरहेको बताउँदै आएका ओलीले त्यसदिन भने एक स्टेप पछि हटेर ‘वामपन्थी छन् भने’ भन्ने शब्द प्रयोग गरे । ओलीले प्रयोग गरेको उक्त शब्दले उनी केही पछि हटेको संकेत गरे पनि ओलीले भनेजस्तो निर्वाचनअघि त्यस्तो सरकार बन्ने सम्भावना कुनै पनि दृष्टिकोणबाट सम्भव नभएको सत्ता गठबन्धन दलका नेताहरुको भनाइ छ ।

कस्तो हो ओलीले भनेको भरपर्दो सहयात्री ?

एमालेको अपानी– ४ मा भनेजस्तो उसले चाहेको भरपर्दो सहयात्री को हो त ? एमालेका नेताहरु नै यो प्रश्नको जवाफबारे अलमलमा छन् । एमाले पोलिटव्युरो सदस्य अग्नि खरेल भरपर्दो सहयात्री भनेर धोका नदिने सहयात्री भन्न खोजेको बताउँछन् ।

‘प्रस्टै छ– भरपर्दो भनेको धोका नदिने सहयात्री भनिएको हो’, खरेलको भनाइ छ । तर को को हुन सक्छन् त त्यस्ता सहयात्री ? भन्ने रातोपाटीको प्रश्नमा उनी अनुत्तरित छन् । ‘त्योबारे महासचिवलाई सोध्दा स्पस्ट जवाफ आउनसक्छ’, खरेलको भनाइ छ ।

तर, नेकपा एमालेका एक पदाधिकारीका अनुसार विचार र दृष्टिकोणका हिसावले एमालेले भनेको भरपर्दो सहयात्री सत्तासाझेदार दलभित्रै छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी नै भरपर्दो सहयात्री हुनसक्ने भए पनि उनीहरुको विश्वास जित्ने प्रयास एमालेले गर्न सकेको छैन, त्यसैले तत्काललाई त्यो सम्भावना नरहेको उनको भनाइ छ ।

सोही कारण माओवादी र समाजवादीले एमालेसँगको गठबन्धन या सहकार्य भन्दा पनि काँग्रेससँगको सहकार्यलाई नै जोड दिएको ती नेताको भनाइ छ ।

‘अपानीमा काँग्रेसबाहेक गठबन्धनमा रहेका माओवादी र समाजवादीलाई लक्षित गरेर भरपर्दो सहयात्री भनिएको हो । तर आगामी निर्वाचनअघि माओवादी र नेकपा समाजवादी एमालेसँग गठबन्धन गर्ने अवस्थामा छैनन्’, एमालेका एक उपाध्यक्षले रातोपाटीसँग भने, ‘माओवादी र नेकपा समाजवादीले आगामी निर्वाचनसम्म सत्ता गठबन्धनलाई नै निरन्तरता दिने बताइसकेको अवस्था र हाम्रो अध्यक्षले विगतमा भएको गल्ती प्रस्टसँग स्वीकार नगरेको अवस्थामा भरपर्दो सहयात्री भेट्न मुस्किल छ, त्यो सम्भावना छैन ।’

तर एमालेको अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी संगठनलाई मजबुत बनाउनु नै अहिलको पहिलो काम भएको बताउँछिन् । कमजोरी पहिचान गर्दै ‘लुप होल’हरु बन्द गरेर अघि बढेपछि मात्रै सहयात्रीको खोजी गर्नुपर्ने शाक्यको भनाइ छ ।

‘हाम्रो पहिलो उद्देश्य भनेकै संगठन मजबुत बनाउने हो । त्यसका लागि पार्टीले अहिले सातै प्रदेशमा प्रशिक्षण चलाइरहेको छ’, शाक्यले भनिन्, ‘कमीकमजोरी सच्याउँदै त्यस्ता कमजोरी हुन नदिने हो भने एमालेले अझै धेरै राम्रो गर्नसक्छ ।’

एमालेका एक केन्द्रीय सदस्य भने नेतृत्वले यतिबेला भरपर्दो सहयात्री खोज्नु भनेको बेमौसमी बाजाजस्तै भएको बताउँछन् । नेताहरुको व्यक्तिगत सौदावाजीका कारण एमाले र माओवादी मिलेर बनेको नेकपा नटिकेको उदाहरण दिँदै उनी भन्छन्, ‘भरपर्दो हुनसक्छ भनेर जोसँग पार्टी एकता गरियो, बीचैमा टुट्यो, नेकपामात्रै फुटेन एमाले समेत फुट्यो भनेपछि अब भरपर्दो सहयात्री त महन्थ ठाकुर, राजेन्द्र लिङ्देन, कमल थापा वा सीके राउत बाहेक अरु को हुनसक्छ र ?’

हुन त एमालेका अधिकांश नेताले आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै चुनावमा जाने बताउँदै आएका छन् । सोही अनुसारको तयारी गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएको एमालेले ठाउँ हेरेर तालमेल हुनसक्ने कुरालाई भने स्वीकार गरेको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार विराटनगरमा भएको एक कार्यक्रममा आगामी निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै एमाले एक्लै चुनावमा जान तयार रहेको बताए । ‘निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ’, पोखरेलको भनाइ छ । गत स्थानीय निर्वाचनमा ३४ प्रतिशत मत ल्याएको एमालेले अबको निर्वाचनमा १६ प्रतिशत बढाएर एक्लै बहुमत ल्याउने विश्लेषण गरेको थियो ।

एमालेको आन्तरिक विश्लेषण यस्तो भएपनि पछिल्लो समय सत्ता गठबन्धनमा रहेका दलहरु क्रमश काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपाले हालकै सत्ता गठबन्धनलाई निरन्तरता दिने र एमालेलाई थप कमजोर बनाउने रणनीति बनाएपछि उसले दबाब महसुस गरेको छ । यद्यपि सत्ता गठबन्धनलाई चुनावसम्म लैजाने सैद्धान्तिक सहमतिमा विमति नरहे पनि सिट बाँडफाँटको विषय जटिल बन्ने सत्ता गठबन्धनकै नेताहरुको भनाइले एमालेलाई थोरै भए पनि राहत मिलेको कतिपय एमाले नेताहरुको बुझाइ छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप