कोरोना भाइरस

महामारीको चौथो लहर सुरु भएकै हो ?

अस्पतालमा स्वास्थ्यकर्मी धमाधम सङ्क्रमित

person explore access_timeसाउन ३, २०७९ chat_bubble_outline0

काठमाडौँ । नेपालमा चार महिना यता पहिलो पटक कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनका साथै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर १० प्रतिशतभन्दा बढी छ ।


सङ्क्रमण दर प्रत्येक दिन बढ्दै गए पनि मन्त्रालयले चौथो लहर भनेर घोषणा गरेको छैन । यद्यपि जनस्वास्थ्यविद्हरू कोरोना महामारीको चौथो लहर सुरु भएको बताउँछन् । पछिल्लो समय सङ्क्रमण बढ्दै जानु र सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएकाले चौथो लहर सुरु भएको उनीहरू बताउँछन् ।



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कोरोना महामारीको चौथो लहरको सङ्केत देखिएको बताए । उनले साताको एक पटक सीमा क्षेत्रदेखि देशका विभिन्न भागका सङ्क्रमितको नमुना सङ्कलन गरी जिन सिक्वेसिङ गरिहेको बताए । नेपालमा सङ्क्रामक भनिएको बीए.५ उपप्रजाति देखिइसकेकाले सजग हुनुपर्ने उनको भनाइ छ ।



भारतमा पनि बीए.५ उपप्रजाति सङ्क्रमित धमाधम पुष्टि भइरहेकाले सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेबाट सङ्क्रमणको जोखिम बढ्न सक्ने उनले बताए ।

सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला ओमिक्रोनको नयाँ सबभेरियन्ट बीए.५ सङ्क्रमणका कारण सङ्क्रमण दर बढेको हुन सक्ने बताउँछन् ।

इडीसीडीका पूर्व निर्देशक डा.बाबुराम मरासिनी पनि कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको बताउँछन् । तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेर घट्दै दैनिक सात÷आठ जनासम्म मात्रै सङ्क्रमित हुँदै आएको अवस्थामा पछिल्लो समय सङ्क्रमितको ग्राफ पुनः लगातार उकालो लागेकाले चौथो लहर सुरु भएको मान्न सकिने उनको भनाइ छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी पनि कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको बताउँछन् । ओमिक्रोन भेरियन्टको बीए. ५ उपप्रजातिबाट चौथो लहर सुरु भएको उनको भनाइ छ ।

तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने ओमिक्रोनको नयाँ सवभेरियन्ट बीए. ४ बाटै बढीलाई सङ्क्रमण भएको जनाएको छ । धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरी तीन जनामा ओमिक्रोनको सबभेरियन्ट बीए. ५ पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

असार २० गतेसम्म एक प्रतिशत रहेको कोरोना सङ्क्रमण दर अहिले ५ प्रतिशतभन्दा बढी छ । असार २७ गतेबाट कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा माथि पुगेको हो । २८ गते १७७ जना, २९ गते २०६ जना, ३० गते २६० जना, ३१ गते ३२ जना, २०५ साउन १ गते १३५ र २ गते ४५७ जना सङ्क्रमण पुष्टि भएको छ ।

तेस्रो महामारीका क्रममा फागुन महिनाबाट सङ्क्रमण दर क्रमशः घट्दै गएको थियो । गत माघ महिनामा सङ्क्रमण दर उच्च हुँदा ५० प्रतिशत पुगेको थियो  । 

पछिल्ला दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुको कारण ओमिक्रोन भेरियन्टको सबभेरियन्ट बीए.५ सङ्क्रमण हुन सक्ने त्रिवि शिक्षण  अस्पताल (टिचिङ)का फोक्सो रोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।

अस्पतालमा स्वास्थ्यकर्मी सङ्क्रमित

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालहरूमा स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुन थालेका छन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का डाक्टर प्रज्ज्वल श्रेष्ठका अनुसार तीन जना डाक्टर, तीन जना सफाइकर्मी, दुई जना नर्समा कोरोना सङ्क्रमण भएको छ । लक्षण देखिएर पीसीआर परीक्षण गराउने स्वास्थ्यकर्मीको दर बढिरहेको उनले बताए ।

यता त्रिवि शिक्षण अस्पतालमा ७ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको डा. बमले बताए । उनले भने, ‘हिजोआज कोरोना सङ्क्रमणको लक्षण देखिएर परीक्षण गराउन आउने बिरामीसँगै स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण बढिरहेको छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी नवराज गौतमले बताए । उनका अनुसार सङ्क्रमण देखिएर टेकु अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । एक सङ्क्रमित आईसीयूमा र अन्य ४ जनाको वार्डमा उपचार भइरहेको उनले बताए ।

यस्तै वीर अस्पतालमा ५ जना सङ्क्रमित भर्ना भएको डा. श्रेष्ठले जानकारी दिए । तीमध्ये दुई जनालाई अक्सिजन दिइएको उनले बताए ।

उता त्रिवि शिक्षण अस्पतालमा एक सङ्क्रमित भर्ना भएको अस्पतालका कोभिड–१९ संयोजक डा. बमले बताए । चिकित्सकहरूका अनुसार हालसम्म कोरोना सङ्क्रमण भई स्वास्थ्यमा जटिलता आइ अस्पताल भर्ना हुने दर भने न्यून छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कोरोना महामारीसँग जुध्न सबै संयन्त्रलाई सक्रिय बनाइसकेको बताए । नेपाल–भारत सीमा नाकामा कडाइ गरिएको उनले बताए । स्थलमार्ग र हवाई मार्गमा कडाइ गरिएको उनको जिकिर छ । सबै अस्पताललाई औषधि बेड र जनशक्तिका साथ तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले बताए ।

कोरोना महामारीसँग जुध्न कुन प्रदेशमा कस्तो पूर्वाधार ?

प्रदेश १ –

आइसोलेशन बेड ८१९, एचडीयू बेड ५६७, आईसीयू बेड ३४२, अक्सिजन सिलिन्डर १३४१, अक्सिजन प्लान्ट २६ र अक्सिजन ट्याङ्क २ ।

मधेस प्रदेश –

आइसोलेशन बेड १६८०, एचडीयू बेड ६९५, आईसीयू बेड ३९६, भेन्टिलेटर १२४, अक्सिजन सिलिन्डर २३८८, अक्सिजन प्लान्ट ९, अक्सिजन ट्याङ्क ४ ।

बागमती प्रदेश–

आईसोलेशन बेड ३२८३, एचडीयू बेड ११९१, आईसीयू बेड १४२३, भेन्टिलेटर ५३२, अक्सिजन सिलिण्डर ४८९६, अक्सिजन प्लान्ट ३४ वटा र ट्याङ्क १४ ।

गण्डकी प्रदेश–

आईसोलेसन ६५१, एचडीयू बेड ४४४, आईसीयू बेड २२८, भेन्टिलेटर ८२, अक्सिजन सिलिण्डर २३०५, अक्सिजन प्लान्ट १८ र ट्याङ्क १ ।

लुम्बिनी प्रदेश–

आईसोलेसन ४५२, एचडीयू बेड ६४०, आईसीयू बेड २३९, भेन्टिलेटर ५६, अक्सिजन सिलिण्डर २७६६, अक्सिजन प्लान्ट २३ र ट्याङ्क ४ ।

कर्णाली प्रदेश–

आईसोलेसन ६०७, एचडीयु बेड ९६, आईसीयू बेड ७९, भेन्टिलेटर ३५, अक्सिजन सिलिण्डर ४०५, अक्सिजन प्लान्ट १० ।

सुदूरपश्चिम प्रदेश–

आईसोलेसन ७१०, एचडीयू बेड २१३, आईसीयू बेड ७२, भेन्टिलेटर ३१, अक्सिजन सिलिन्डर १३९१, अक्सिजन प्लान्ट १२ र ट्याङ्क २७ ।

बुस्टर डोज लगाउन सुझाव

कोरोना सङ्क्रमण बढ्न नदिन अनिवार्य रूपमा बुस्टर डोज खोप लगाउन स्वास्थ्यकर्मीहरू सुझाव दिन्छन् ।  पूर्ण मात्रा खोप लगाएकाले बुस्टर जोड खोप लगाएमा सङ्क्रमण भए पनि स्वास्थ्यमा  जटिलता कम आउने डा.दासको भनाइ छ ।

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २७ जिल्लामा खोप कार्यक्रम सञ्चालन भइरहेको भन्दै उनले अनिवार्य रूपमा लक्षित समूहका बालबालिकालाई खोप लगाइदिन उनको सुझाव छ ।

जनस्वास्थ्यको मापदण्ड पालना गर्न अतिआवश्यक रहेको भन्दै उनले मास्कको प्रयोग, नियमित रुपमा हातको सरसफाइका साथै सामाजिक दुरीको ख्याल गर्न पनि आग्रह गरे ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।