रोकिएका दर्जन आर्थिक विधेयकहरू अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानाकर्षण
नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरूलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न एघार वटा विधेयकहरू अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरू सम्बोधन हुन नसकेको बताएका थिए । धितोपत्र सम्बन्धी ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक अर्थ समितिमा छलफलका क्रममा रहेको छ ।
यस्तै बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने सम्बन्धी ऐन पनि अर्थ समितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे ।
उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्बन्धित सबै विधेयकहरूलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुख ज्यूलाई आग्रह गर्दछु, ।’ सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुख लाई आग्रह गरे ।
गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवर्द्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानाकर्षण गरे ।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरूलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । सभामुख सापकोटाले भने, ‘केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु । बजेटसँग सम्बन्धित विधेयकहरू करिब करिब सकिएको छ । अरू विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’
छलफलका क्रममा रहेका आर्थिक विधेयकहरूका सम्बन्धमा सम्बन्धित समितिका सभापतिहरूसँग जानकारी लिने समेत सभामुख सापकोटाले बताए । सबै आर्थिक विधेयकहरूलाई प्राथमिकतामा राखेर अघि बढाउन आफूले पहल गर्ने सभामुख सापकोटाको भनाई छ । सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरू संसदीय समितिमा झण्डै चारवर्ष देखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : देशभर सौगातको ‘बम बहादुर’
-
हस्तान्तरण नै नभएको कृषि थोक बजारमा बागमतीको मन्त्रालय
-
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
-
मुग्लिन –पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप
-
बामदेवलाई तेस्रो मर्यादा, चौथोमा बेदुराम
-
एक खेलअगावै पाकिस्तानले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृङ्खला