बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

संघीय संसद् भवन निर्माण : ३ वर्षमा ४५ प्रतिशत मात्र काम सम्पन्न

मङ्गलबार, ०३ साउन २०७९, १५ : २५
मङ्गलबार, ०३ साउन २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद् भवनको मंगलबार बिहान निरीक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशनसमेत दिएका छन् ।  

नयाँ बन्दै गरेको संघीय संसद् भवन बानेश्वरभन्दा यहाँ केके सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञासामा आयोजना निर्देशक श्रेष्ठले भने, ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरू, संसद् सचिवालय, विकास समिति, सङ्ग्रहालय, पुस्तकालय, प्रतिनिधि सभा र राष्ट्रिय सभाका भवन, भिभिआइपी भवन, आरामदायी लबी, वातानुकूलित कक्ष रहेका छन् । 

साथै करिब ३५० गाडी अट्ने अण्डरग्राउण्ड पार्किङ र त्यति नै सङ्ख्यामा भवनबाहिर पार्किङको व्यवस्था, फोहरासहितको आकर्षक बगैँचा, आधुनिक सुरक्षा व्यवस्था, आगलागी नियन्त्रण, भूकम्प प्रतिरोधी, सिभेज ट्रिटमेन्ट प्लान्ट, १२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड पानी ट्याङ्की लगायतका थुप्रै सुविधा राखिएको छ । 

लागत खर्च, समय अवधि र कार्य प्रगतिबारे मन्त्री चौधरीको जिज्ञासामा ठेकेदार कम्पनीका प्रतिनिधि काशीनाथ डोटेलले कोभिडका कारण सामग्री अभाव, एलसी खोल्न शतप्रतिशत मार्जिनको सरकारको नयाँ प्रावधान, अनियन्त्रित मूल्यवृद्धि लगायतका कारण काममा ढिलाइ भएको बताए  । 

२०७६ साल असोजबाट सुरु भएको भवन निर्माणको कुल लागत खर्च ५ अर्ब २ करोड रहेको छ । ३ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि कोभिडका कारण ६ महिना थप गरिएको हुँदा ०७९ चैत्रसम्म सकिनुपर्ने समयसीमा रहेको छ । आयोजना सुरु भएको ३ वर्ष पुग्नै लाग्दा हालसम्म जम्मा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको कम्पनीले बताएको छ । 

मन्त्रालयका सचिव डा. रमेश सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाल, उपमहानिर्देशक दिलिप भण्डारी, चक्रवर्ती कण्ड र सचिवालयको टिमसहित भवन निर्माण स्थल पुगेका मन्त्रीले यति लामो अवधिसम्म पनि जम्मा ४५ प्रतिशत मात्र काम भएकोमा असन्तुष्टी व्यक्त गर्दै भने समयसीमाभित्रै तदारुकताका साथ काम सम्मपन्न गर्न निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप