शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषले खाए गर्भनिरोधक चक्की, शरीरमा देखियो यस्तो असर

मङ्गलबार, ०३ साउन २०७९, १५ : ००
मङ्गलबार, ०३ साउन २०७९

वैज्ञानिकले पुरुषका लागि पनि गर्भनिरोधक चक्की बनाएका छन् जसले पुरुषको स्वास्थ्यमा कुनै हानी नगरी अनिच्छुक गर्भाधान रोक्न सफल हुनसक्छ । तर यसअघि बजारमा महिलाका लागि मात्रै गर्भनिरोधक औषधी पाइने गर्दथ्यो । रिपोर्टका अनुसार पुरुषका लागि बनाइएका दुई प्रयोगात्मक गर्भनिरोधक चक्की बजारमा भित्रिन तयार छन् । ट्रायलपछि के पत्ता लाग्यो भने यी चक्कीले शुक्रकिट उत्पादनलाई रोक्ने काम गरे ।

अनुसन्धानकर्ताका अनुसार यी चक्की कण्डम, भ्यासेक्टोमीको तुलनामा राम्रो विकल्प हुनसक्छ । अनुसन्धाता तामार ज्याकबसनका अनुसार पुरुष गर्भनिरोधक चक्कीको प्रयोगले पुरुष र महिलाका लागि फ्यामिली प्लानिङको विकल्प बढ्नेछ र अनिच्छुक गर्भ रोक्नमा पनि निकै मद्दत पुग्नेछ । उनका अनुसार पुरुषले फ्यामिली प्लानिङमा पहिलाभन्दा बढी सक्रिय भूमिका निभाउन सक्नेछन् । पुरुष गर्भनिरोधको ट्रायलमा समावेश भएका तीनजनासँग बिजनेस इन्साइडरले कुराकानी गरेर उनीहरुको अनुभव जान्ने कोसिस गरेको छ ।

अनुसन्धानकर्ताले दशकौँदेखि पुरुष गर्भनिरोधकमाथि अनुसन्धान गरिरहेका छन् । तर पछिल्लो परीक्षण मानिसमा यी विशेष कम्पाउन्ड (यौगिक) हेर्ने पहिलो हो । यो परीक्षणमार्फत् के थाहा हुन्छ भने पुरुष गर्भनिरोधक चक्कीले शरीरलाई सिन्थेटिक हर्मोन प्रदान गर्छ जसका कारण प्राकृतिक टेस्टोस्टेरोन रोकिने गर्छ । कम टेस्टोस्टेरोनका कारण शुक्रकिट पनि कम हुन्छ जसका कारण गर्भ रहने खतरा कम हुने गर्छ ।

युनिभर्सिटी अफ वासिङ्टनको सेन्टर फर रिसर्च इन रिप्रोडक्सन एन्ड कन्ट्रासेप्सन (सीआरआरसी) को अनुसन्धानका अनुसार फार्मास्युटिकल कम्पनीको लगानीको कमी र पुरुषको रुची बुझ्न ढिलाईका कारण पुरुष गर्भनिरोधकको विकल्पको खोजी गर्न ढिलाई भएको हो । तर हालै प्रकाशित भएको एक शोधका अनुसार एक अनुसन्धान गरियो जसमा सय पुरुषले २८ दिनसम्म पुरुष गर्भनिरोधक चक्कीको सेवन गरे । सयमध्ये ७५ प्रतिशत जना पुनः चक्की सेवन गर्न चाहन्छन् ।

सीआरआरसीको ट्रायलमा यी ट्रायलमा समावेश भएका तीन जनाले आफ्नो अनुभव साझा गरे । गर्भनिरोधक चक्की सेवन गर्ने पुरुषले क्लिनिकल ट्रायलमा समावेश भएपछि तौल बढ्नेदेखि उत्तेजनामा कमीको अनुभव गरे ।

१. उत्तेजनामा कमी र आराम महसुस

स्टर्म बेन्जामिनका अनुसार क्लिनिकल ट्रायलमा चक्की खाएपछि उनले आफूमा उत्तेजनाको कमी महसुस गरे र आराम महसुस गरे । स्टर्मले फेसबुक स्क्रोल गर्दैगर्दा पुरुष गर्भनिरोधकको ट्रायलमा सहभागी हुनेबारे एउटा विज्ञापन देखेका थिए । विज्ञापन देखेपछि उनले सन् २०१८ मा सीआरआरसीको परीक्षणमा भाग लिए र त्यसपछि उनलाई उच्च फ्याटयुक्त खानापछि १२ हप्तासम्म दैनिक गर्भनिरोधक औषधी सेवन गर्न भनियो ।

पछिल्लो अनुसन्धान अनुसार उच्च फ्याट भएको खानामा चक्कीको प्रभाव निकै राम्रो हुन्छ । महिनामा एकपटक स्टर्मको शुक्रकिटको परीक्षण पनि गरियो र करिब १५०० डलर पनि प्रदान गरियो । बेन्जामिनले आफूमा कुनै पनि नकारात्मक असर नदेखिएको बताए । उनले भने, ‘मलाई उत्तेजनामा कमी र बढी रिल्याक्स महसुस भयो ।’

औषधीमा भएको सिन्थेटिक हर्मोनको प्रतिक्रियाका कारण यस्तो भएको हुनसक्ने अनुसन्धाताले बताएका छन् । बेन्जामिनले थपे, ‘हरेक खुराकमा पाँच–६ ठूला चक्की समावेश थिए, जसलाई खान मुश्किल थियो । ’ उनले नतिजा यति सकाराँत्मक पाए कि उनले पुरुष गर्भ निरोधक इन्जेक्सनको ट्रायलमा पनि भाग लिए जुन मे २०२२ मा समाप्त भइसकेको छ ।

२. रुफारो हगिन्सको तौल बढ्यो

रुफारो हगिन्स पनि पुरुष गर्भनिरोधक चक्कीको ट्रायलमा समावेश भएका थिए । ४० वर्षका रुफारोले सिआरआरसीको ट्रायलमा समावेश हुने निर्णय गर्दा उनलाई पनि हाई फ्याट डाइटसँगै चक्कीको खुराक दिइयो ।  उनले सन् २०१६ देखि थुप्रै पटक मेडिसिन ट्रायलमा भाग लिएका थिए । उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले भावनात्मक रुपमा कुनै पनि परिवर्तन देखिनँ । मेरो शरीरको दुई–तीन पाउन्ड तौल बढ्यो । ’

रुफारो व्यावसायिक म्याराथन रनर हुन् त्यसैले उनले आफ्नो रुटिनलाई निकै राम्रोसँग फलो गर्ने गर्दथे । रुफारो भन्छन्, ‘समाजमा पुरुषले धेरै कुरा गर्न सक्छन् किनभने यो हाम्रो जिम्मेवारी हो । बच्चा जन्माउने वा नजन्माउने दबाब महिलाको तुलनामा पुरुषमाथि कम हुन्छ ।’

३. पछिल्लो २० वर्षदेखि ट्रायलको हिस्सा

स्टिव ओवेन्स र उनकी श्रीमती पहिलादेखि नै चल्दै आएको गर्भ निरोधक तरिकासँग सन्तुष्ट थिएनन् त्यसैले उनीहरु पछिल्लो २० वर्षदेखि पुरुष गर्भनिरोधक ट्रायलमा भाग लिँदै आएका छन् । उनीहरुले हालै भएको ट्रायलबारे रेडियोमा सुनेका थिए । जानकारी भएपछि उनीहरु सीआरआरसीको ट्रायलमा समावेश भए । उनीहरुले जेल, ट्रान्सप्लान्ट, इन्जेक्सन र हालै  चक्कीको ट्रायलमा भाग लिए । उनीहरुले कुनै पनि साइड इफेक्ट महसुस गरेनन् त्यसैले उनीहरु लगातार यी ट्रायल्समा समावेश भइरहेका छन् ।

४. अनावश्यक गर्भ रोक्न मद्दत मिल्ने

अमेरिकामा युनिस केनेडी श्राइवर नेशनल इन्स्टिच्युट अफ चाइल्ड हेल्थ एन्ड ह्युमन डेभलपमेन्टमा कन्ट्रासेप्टिभ डेभलपमेन्ट प्रोग्रामका मुख्य अनुसन्धाता तामार ज्याकबसनका अनुसार पुरुषमा गर्भनिरोधकका लागि कि त भ्यासेक्टोमी र कण्डम नै छ जुन महिलाका लागि उपलब्ध गर्भनिरोधक विकल्पको तुलनामा निकै सिमित छ । पुरुषका लागि प्रभावकारी गर्भनिरोधक तरिकाको खोजले पुरुष र महिलामा अनावश्यक गर्भलाई कम गरेर स्वास्थ्यमा सकारात्मक असर हुनेछ । यसरी पुरुषले फ्यामिली प्लानिङमा पनि सक्रिय भूमिका निभाउन पनि मद्दत गर्नेछ ।

ज्याकबसनले थपे, ‘क्लिनिकल ट्रायलमा पुरुषमा देखिएको सकारात्मक नतिजा र औषधीलाई पुनः प्रयोग गर्ने इच्छाले भोलिको समयमा पुरुष गर्भनिरोधकले सम्भावित रुपमा नयाँ उचाई प्राप्त गर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप