बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पञ्जाब उपनिर्वाचनमा २० मध्ये १५ सिट जितेपछि इमरान खान उठाए ‘अर्ली इलेक्सन’ को माग

मङ्गलबार, ०३ साउन २०७९, १४ : ५८
मङ्गलबार, ०३ साउन २०७९

एजेन्सी 

पाकिस्तानको सबैभन्दा ठूलो राज्य पञ्जाबमा २० सिटका लागि भएको उप–चुनावमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तेहरिक–ए–इन्साफ(पीटीआई)’ले १५ सिट जितेको छ । जितसँगै इमरानको मनोबल उच्च देखिएको छ । उनले तत्काल आम निर्वाचन गराउन माग गरेका छन् । 

गत अप्रिलमा अविश्वासको मतबाट प्रधानमन्त्री पदबाट हट्न बाध्य भएदेखि इमरानले विदेशी शक्तिले षडयन्त्रका कारण सत्ताबाट हट्नु परेको भन्दै कयौँ विरोध प्रदर्शनमा गरिसकेका छन् । विदेशी षडयन्त्र भनेर इमरानको इशारा अमेरिकातर्फ थियो । 

पञ्जाबमा सम्पन्न उप–चुनावलाई त्यहाँको दलको लोकप्रियताको परीक्षाको रूपमा हेरिँदैछ । इमरानको पार्टीले २० सिटमध्ये १५ सिट जित्दा सत्तारुढ पाकिस्तान ‘मुस्लिम लिग–एन(पीएमएल–एन)’ले चार सिट मात्र जित्न सक्यो । एक सिट स्वतन्त्र उम्मेदवार हात पारे । 

पन्जाब प्रान्त पहिलेदेखि शरिफ परिवारको किल्ला मानिँदै आएको छ । सरिफहरूलाई तिनको राजनीतिक किल्लामै धक्का लागेको छ । पाकिस्तानी पत्रिकाहरूले पञ्जाबमा सत्तारुढ दलको कमजोर प्रदर्शनका लागि देशको कठिन आर्थिक परिस्थितिलाई जिम्मेवार मानेका छन् । सरकारले देशको राजस्वको आधा हिस्सा नै विदेशी ऋण तिर्नुपरेको उसको हात बाँधिएको स्थिति छ । 

खानले पछिल्लो जितसँगै केन्द्र सरकार र सेनामाथि पनि दबाब बढाएका छन् । परिणामपछि उत्साहित भएकाले इमरानले ‘शरीफ सरकार लामो समय नटिक्ने’ दाबी गरे । इमरान खानको बहिरगमनमा त्यहाँको शक्तिशाली सेनाले पनि सघाएको बताइन्छ । 

पाकिस्तानले अहिले गम्भिर आर्थिक चुनौतीको सामना गरिरहेको छ । देशमा घट्दो वैदेशिक मुद्राको सञ्चिती बढाउनको लागि सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग(आईएमएफ) महिनौँदेखि वार्ता गरिरहेको छ ।  

तर खानले देशका सबै समस्याहरुका लागि वर्तमान सरकारलाई जिम्मेबार बताएका छन् । तर वर्तमान शरिफले इमरानबाट कमजोर अर्थतन्त्र र आर्थिक संकटहरु विरासतमा पाएका थिए । बरु शरिफले इमरानको सरकारको कारण रोक्का भएको आईएमएफको सहयोग सुचारु गरेका छन् ।

आईएमएफले ७.२ अर्ब डलर सुचारु गर्नको लागि पाकिस्तान सरकरले पेट्रोलियम पदार्थलाई दिइरहेको अनुदान रोक्नुपर्ने माग राखेको थियो । त्यो सर्त मान्दा पेट्रोलको मूल्य एक्कै पटक झण्डै आधाले बढेको थियो । यो निर्णय अहिले सत्तारुढ दलको कमजोर प्रदर्शनको लागि जिम्मेबार रहेको बताईन्छ । ‘अलोकप्रिय निर्णयको तितो स्वाद,’ देशको प्रभावशाली अंग्रेजी पत्रिका ‘डन’ले पहिलो पृष्ठमा विश्लेषण गर्दै लेखेको छ । 

पाकिस्तानले यही महिना उसका मित्र राष्ट्रहरुबाट ४ अर्ब डलरको पाउने आशा गरेको छ, जुन रकमले उसलाई विदेशी ऋणमा डिफल्ट हुनबाट रोक्नेछ । 

तर इमरानले भने यी सबभन्दा पनि वर्तमान संकट समाधानको एउटै उपाय जतिसक्दो छिटो निष्पक्ष निर्वाचन भएको बताएका छन् । इमरानको मागका बावजुद अहिलेको सरकारले आगामी अक्टोबर २०२३ मा निर्वाचन गराउने बताईरहेको छ । इमरानले भने उक्त मिती धेरै पछाडि रहेकाले प्रतिक्षा गर्न नसकिने बताए । 

विश्लेषकहरुले छिट्टै निष्पक्ष निर्वाचन गराइएमा इमरान खानले जित्ने सम्भावना उच्च रहेको बताएका छन् । पञ्जाबका २० पीटीआई सांसदले पार्टी परिवर्तन गरेपछि उपनिर्वाचन गराइएको थियो । पछिल्लो मत परिणामले मुख्यमन्त्री हम्जा शरिफको प्रदेश सरकार ढल्ने सम्भावना बढेको छ । हम्जा प्रधानमन्त्री शेहबाज शरिफका छोरा हुन् । 

अल–जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप