जग्गा कब्जा गरेर बनाइएका छाप्रा पोखरा महानगरले हटायो
पोखरा महानगरपालिकाले वडा नम्बर ३३ मा जग्गा कब्जा गरी अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगर मातहत रहेको पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा संरक्षण अभियान अन्तरगत छाप्रा हटाइएको हो ।
महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अवैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए ।
शर्माका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको हो ।
पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप ती छाप्रा भत्काइएको उनले बताएका छन् । अन्यत्र पनि यस्ता अनधिकृत रुपमा निर्माण गरिएका संरचना क्रमश: भत्काउँदै लागिने उनले बताए ।
सार्वजनिक जमिन कब्जा गरि विभिन्न स्थानमा आफूखुशी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् ।
सर्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरूले आफैँ यस्ता संरचना हटाउन आग्रह गर्दै उनले नभए कानुन बमोजिम क्षतिपूर्ति तिराएर महानगर आँफैले यस्ता संरचना हटाउने बताए ।
पोखरामा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै पछिल्लो पटक महानगरपालिकाको तीब्र आलोचना भएको छ । निवर्तमान मेयर मानबहादुर जिसीले आफन्त र विभिन्न कम्पनीलाई अनाधिकृत रुपमा जग्गा भाडामा लगाएको भन्दै केही दिन पहिले तीब्र बिरोध भएको थियो । बिरोध पछि नगर विकास समितिले भाडामा लगाइएका भनिएका पर्यटक बसपार्क, गल्फ कोर्स र पृथ्वीचोकको जग्गाको सम्झौता रद्ध गरिसकेको छ ।