शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारी नीतिले संकटमा अटोमोबाइल्स क्षेत्र

‘सटर बन्द गरेर अब कर्मचारीलाई बिदा गरे हुने भयो’
मङ्गलबार, ०३ साउन २०७९, १२ : ५९
मङ्गलबार, ०३ साउन २०७९

नेपाली अटोमोबाइल्स क्षेत्र यतिबेला ठूलो समस्यामा फसेको छ । तीव्र आयात र व्यापार घाटाको प्रमुख स्रोत नै अटोमोबाइल्स रहेको निष्कर्षसहित सरकारले गाडी आयातमा नियन्त्रण गर्न खोजेपछि समस्या उत्पन्न भएको हो । सरकारले यसअघिकै व्यवस्थालाई निरन्तरता दिँदै साउन १ गतेदेखि भदौ मसान्तसम्म कार, जिप, भ्यान लगायतका प्यासेन्जर सेग्मेन्टमा पर्ने मध्यम खालका सवारी साधनको आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ । दुई पाङ्ग्रेमा २५० सीसी इन्जिन क्षमतामाथिका कुनै पनि मोटरसाइकल आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएकोमा पछिल्लो पटक यस्तो सीमासमेत सरकारले १५० सीसीमा झारिदिएको छ । जसले गर्दा यतिबेला अटोमोबाइल व्यवसायी ठूलो समस्यामा परेका छन् ।

झण्डै साढे ३ खर्ब रुपैयाँ बराबरको लगानी रहेको अटोमोबाइल्स क्षेत्र होइन, यसले प्रत्यक्ष परोक्ष रुपमा सोही क्षेत्रमा आश्रित लगभग ९५ हजार रोजगारीमाथि समेत संकट उत्पन्न गरेको व्यवसायीहरुको भनाइ छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा हचुवाको सरकारी नीतिकै कारण सिङ्गो अटोमोबाइल्स क्षेत्र धरापमा परेको बताउँछन् । ‘अब सटर बन्द गरेर कर्मचारीहरुलाई बिदा गरे हुने भयो । गाडी आयात गर्न पाइँदैन, बिक्री गर्न पाइँदैन भने शोरुम मात्र किन खोलिराख्नु र ?’ आक्रोश मिश्रित दुःखेसो पोख्दै थापाले भने ।

झन्डै दुई वर्ष कोभिड–१९ का कारण अटोमोबाइल्स क्षेत्र थलिन पुग्यो । त्यसपछि विस्तारै उठ्दै गरेको बजारलाई तरलता अभावको कारण देखाउँदै सरकारले अटो लोनमा ५० प्रतिशतको सिलिङ तोकिदियो । अहिले फेरि तीव्र आयात र विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै सरकारले सवारी आयातमा एकपछि अर्को प्रतिबन्ध लगाउँदै छ । यसले गर्दा यतिबेला अटोमोबाइल्स व्यवसायीहरुलाई छोडी जानु कि गरी खानुको स्थितिमा पु¥याएको छ ।
‘७–८ वर्षदेखि अटोमोबाइल क्षेत्रले निरन्तर दुःख खेपिरहेकै छ । व्यवसायीहरुले सहजता पाएका छैनन् । यस्तो हुनुमा सरकारको रवैया र दृष्टिदोष नै हो’ अध्यक्ष थापाले भने ।

व्यापार घाटासहित घट्दो विदेशी मुद्राको दोष

सरकारले बढ्दो व्यापार घाटासहित विदेशी मुद्रा सञ्चितिमाथिको दबाबलाई प्रमुख कारण विलासी साधनको आयातलाई मानिरहेको छ । तर नाडा भने यो मान्न तयार छैन । ‘कुल आयातको जम्मा ४ प्रतिशतको अटोमोबाइल्सले कसरी आयात बढायो र घाटा भयो ?’ अध्यक्ष थापाको प्रश्न छ ।

आर्थिक वर्ष २०७८÷७९ को ११ महिनामा १८ खर्ब रुपैयाँ बराबरको आयात हुँदैगर्दा करिब ७० अर्ब रुपैयाँ बराबरको मात्र गाडी आयात भएको नाडाको तर्क छ । जसबाट राज्यलाई १ खर्ब ५० करोड रुपैयाँमाथिको रेभिन्यू (राजस्व) प्राप्त भएको छ । र पनि सरकारले अटो सेक्टरलाई बिलासी वस्तुको टोकरीमा हालेर खराब व्यवहार गरिरहेको नाडाको आरोप छ ।

‘राजस्व संकलनका हिसाबले पनि अटोमोबाइल्स सेक्टर ठूलो आर्थिक स्रोत हो । जबकि कुल राजस्वमा २२ देखि २५ प्रतिशतको योगदान त अटोमोबाइल्स सेक्टरकोमात्रै छ । आयात मूल्यको तुलनामा दोब्बरभन्दा बढी राजस्व दिने सेक्टरलाई बिलासी भनेर रोक्न सरासर गलत छ,’ अध्यक्ष थापाको भनाइ छ । १५ देखि २० लाखका गाडीलाई बिलासी भन्नु र रोक्नुको कुनै तुक नभएको थापा बताउँछन् ।

फेरि बन्यो ‘नाडा अटो शो’ अनिश्चित

करिब तीन वर्षपछि आयोजना हुन लागेको नाडा अटो शो फेरि अनिश्चित बन्न पुगेको छ । अघिल्ला दुई वर्ष कोभिड–१९ का कारण हुन नसकेको अटो शो यस पटक नाडाले भदौ ७ देखि १२ गते गर्ने तयारी गरेको छ । तर, सरकारले गाडी आयातमा निरन्तर प्रतिबन्ध लगाउने नीति लिएपछि यस पटक पनि अटो शो अनिश्चित बन्न पुगेको हो ।

‘अटो शोका लागि नयाँ गाडी आउने सम्भावना छैन । असार मसान्तका लागि भनिएको एलसी प्रतिबन्ध लम्ब्याएर सरकारले भदौ मसान्तसम्म पुर्‍याइदिएको छ । यता नाडा अटो शो भदौ ७–१२ लाई तोकिएको छ । यस्तो अवस्थामा अटो शो नै गर्ने कि नगर्ने भन्ने द्विविधामा छौं,’ थापाले भने ।

एलसी प्रक्रिया पु¥याएर अर्डर गरेको गाडी नेपाल आइपुग्न कम्तीमा ३ महिना लाग्ने हुँदा अब अटो शोका लागि नयाँ गाडी सम्भव नभएको थापाले बताए । ‘अब भदौ १ गतेदेखि नै प्रतिबन्ध खुल्ला भयो भने पनि नाडाका लागि नयाँ गाडी आइपुग्ने सम्भावना छैन । अब अटो शो गर्ने कि नगर्ने कि भन्ने द्विविधामा छौं । आजभोलि नै नाडाको केन्द्रीय समिति बसेर यसको टुङ्गो लगाउँदैछौँ,’ रातोपाटीसँग थापाले भने ।

थापाका अनुसार भदौका लागि भनिएको नाडा अटो शो स्थगित भए मंसिर–पुसमा सर्न सक्छ । तर, फेस्टिभल मुडमा जति गाडीको बिक्री हुन्थ्यो, मंसिर–पुसमा त्यति नहुने उनको भनाइ छ । खास दसैँतिहारकै अवसर पारेर नेपालीहरुले सवारी साधन किन्ने गरेकोमा यसै सिजनमा वर्षभरिको कुल व्यापारको ४० प्रतिशतमाथि व्यापार हुने गर्छ । तर, त्यो सम्भावना यसपालि नभएको थापाको भनाइ छ ।

अटोमोबाइल्स व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बर्सेनि दसैँ–तिहार अघि वृहत अटो शो आयोजना गर्छ । यस वर्ष नाडाले भदौ ७ गतेदेखि १२ गते अटो शो गर्ने तयारी गरिरहेको थियो । तर, सरकारले गाडी आयात नै गर्न नपाउने गरी एलसी प्रतिबन्धलाई निरन्तरता दिएपछि अहिले अटो शोको मिति सार्ने मुडमा नाडा पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप