बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिन्जो आबेको  हत्या र नेपालको भूराजनीतिक परिस्थिति

मङ्गलबार, ०३ साउन २०७९, १२ : २४
मङ्गलबार, ०३ साउन २०७९

जुलाई ८ तारिख स्थानीय समयअनुसार बिहानको ११ः३२ मा जापानका लोकप्रिय पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पश्चिम जापानको नारा सहरको चुनावी कार्यक्रममा गोली प्रहार भयो । गोली लागेको लगभग साढे पाँच घण्टापछि उनलाई अस्पतालले मृत घोषणा गरियो । दोस्रो विश्वयुद्धपछि जापानी इतिहासमा यति उचाइ हासिल गरेको व्यक्तिको हत्या भएको पहिलो घटना थियो । सन् २००७ मा नागासाकीका मेयरको गोली हानी हत्या भएको थियो । गोली काण्ड छिटफुट रूपमा भए पनि हत्यासम्मको घटना जापानमा निकै कम हुने गरेको छ । आबेको हत्याले सिङ्गो जापान र उनलाई चिन्ने विश्व समुदाय स्तब्ध भयो । उच्च पदस्थ व्यक्तिको निर्मम हत्याले जापान प्रहरीको सुरक्षा व्यवस्थामा समेत प्रश्नचिह्न  खडा भयो । 

राजनीतिक पारिवारिक पृष्ठभूमिका आबे जापानको इतिहासमा सर्वाधिक लामो समय प्रधानमन्त्री हुने व्यक्ति हुन् । उनी सन् २००६ देखि २००७ सम्म एक वर्ष एक दिन र सन् २०१२ देखि २०२० सम्म सात वर्ष २६६ दिन गरेर कुल आठ वर्ष २६७ दिन जापानको प्रधानमन्त्रीको कुर्सीमा बसे । लामो समयदेखि आन्द्राको रोगको उपचार गराइरहेका आबेले सन् २०२० सेप्टेम्बर १६ का दिन दुई वर्ष पदावधि बाँकी छँदै प्रधानमन्त्री पदबाट राजीनामा दिए । तथापि उनी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को सक्रिय राजनीतिमा लागिरहे । २०२२ जुलाई १० तारिखमा जापानको प्रतिनिधि सभाको निर्वाचनको दुई दिनअघि अर्थात् जुलाई ८ तारिखका दिन पश्चिम जापानको चुनावी कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेका बेला उनीमाथि दुई राउन्ड गोली प्रहार भयो । सोही साँझ उनको उपचारका क्रममा निधन भयो । 

सिन्जो आबेको निर्मम हत्याको विश्वव्यापी रूपमा आलोचना भयो । जापान प्रहरीले सुरक्षा कमजोरी भएकोमा क्षमायाचना गर्याे । उनले प्रधानमन्त्रीको पद सम्हालेको समयमा जापानको फुकुसिमा आणविक भट्टी विस्फोट भयो भने कोरोनाको विश्वव्यापी लहरले जापानको अर्थतन्त्रलाई नराम्ररी थला पार्याे । यस्तो विषम परिस्थितिलाई नियन्त्रणमा लिई अर्थतन्त्र सुधारका निम्ति उनले थुप्रै  कार्यक्रमहरू ल्याए । उनको कार्यकालको सर्वाधिक चर्चित नीति ‘आबेनोमिक्स’ थियो । यो अर्थतन्त्रसम्बन्धी कार्यक्रमलाई समेटिएको नीति थियो । यो नीतिले जापानको अर्थतन्त्रलाई अमेरिका र चीनपछिको विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रूपमा उभ्याउन सफल भयो । मौद्रिक नीति, आर्थिक प्रोत्साहन र संरचनागत सुधारजस्ता महत्त्वपूर्ण स्तम्भहरूले जापानको अर्थतन्त्रलाई सुस्त गतिबाट चलायमान बनायो । यसमा आबेको योगदान प्रमुख स्थानमा थियो । 

आबेको हत्याको पाँचौँ दिन राजधानी टोकियोमा उनको पार्थिव शरीरको अन्त्यष्टि गरियो । हजारौँ जापानी नागरिकहरू र उच्च पदस्त व्यक्तिहरू उनको अन्त्येष्टिमा सहभागी भए । आबेको अन्त्यष्टिमा लाखौँ जापानीहरूले आफ्ना अश्रुधारा बगाए र भावपूर्ण बिदाइ गरे । आबेको शवयात्राले जापानी धर्ती र करोडौँ जापानी नागरिकहरू एकैपटक भावविह्वल भए । उनको बिदाइ जापानीहरूका निम्ति सुनामी र भूकम्पजस्तै अप्रत्यासित रूपमा आयो । उन्नत र समृद्ध जापानका धरोहर, करोडौँ जापानीहरूका सुनौला बिहानी र आँखाका नानी हेर्दाहेर्दै धुवाँ बनेर आकाशमा बिलाएर गए । 

आबेको हत्या नियोजित थियो कि आकस्मिक थियो ? सङ्गठनात्मक योजनाअनुसार भएको थियो कि व्यक्तिगत कुण्ठाका कारण भएको थियो त्यो समयसँगै खुल्दै जाला तथापि यसप्रकारका घटनाहरू संसारका विभिन्न भूभागमा विभिन्न समयमा भने विगतमा पनि भएका थिए । अमेरिकी इतिहासलाई हेर्ने हो भने अमेरिकाका सोह्रौँ राष्ट्रपति अब्राहम लिङ्कनको राष्ट्रपति पदमा रहेकै बेला सन् १८६५ अप्रिल १५ का दिन हत्या भएको थियो । त्यसैगरी ३५औँ अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको पदवहाल रहेकै समयमा सन् १९६३ नोभेम्बर २२ का दिन हत्या भयो । सन् १९४८ जनवरी ३० तारिखका दिन भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक महात्मा गान्धीको हत्या भयो । सन् १९८४ अक्टोबर ३१ का दिन आफ्नै अङ्गरक्षकले गोली प्रहार गरी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरे । सन् १९९१ मे २१ दिन भारतीय प्रधानमन्त्री राजीव गान्धीको पनि हत्या भयो । 

सन् १९७५ अगस्ट १५ का दिन बङ्गलादेशका संस्थापक सेख मुजिवुर रहमानको तीन छोरा र पत्नीसहित राष्ट्रपति भवनमा गोली हानी हत्या भयो । विसं २०५८ मा राजा वीरेन्द्रको वंश नाश हुने गरी नारायणहिटी दरबारभित्र ‘दरबार हत्याकाण्ड’ भयो । पाकिस्तानी लोकतन्त्रका खम्बा मानिने जुल्फिकर अली भुट्टोकी छोरी अर्थात् लोकप्रिय नेतृ बेनिजिर भुट्टोको पनि अकल्पनीय रूपमा हत्या भयो । नेपालकै सन्दर्भमा पनि जनप्रिय नेता मदन भण्डारीको रहस्यमय हत्या भयो । सम्बन्धित देशका आशलाग्दा व्यक्तिहरूको हत्याले सम्बन्धित देशवासी र अन्तर्राष्ट्रिय समुदायमा पनि गहिरो असर पर्ने गरेको छ । 

शान्तिप्रिय देश जापानमा भएको पूर्वप्रधानमन्त्रीको हत्याले केही प्रश्नहरू स्वतःस्फुर्त रूपमा उब्जिएका छन् । जापानको शान्ति सुरक्षालाई कमजोर बनाउन कतिपय व्यक्तिहरू र समूहहरू उद्यत भएका त छैनन् ? पुनः यस्ता घटनाहरू हुन नदिन जापानको गृहमन्त्रालय पूर्ण सजग छ वा छैन ? जापानबाहेकका कतिपय देशहरूमा उच्च पदस्त व्यक्तिहरूमाथि आक्रमणका योजनाहरू कतिपय व्यक्ति वा समूहहरूले बुनिरहेका त छैनन् । हरेक देशको गृहप्रशासन नेतृत्व र नागरिकहरूको सुरक्षामा सतप्रतिशत सजग छ वा छैन ? व्यक्ति हत्याका योजनाकारदेखि संलग्न सबैलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित देशका सुरक्षा अधिकारीहरू र न्यायालय चुकिरहेका त छैनन् ? यस्ता मूलभूत प्रश्न हाम्रा अगाडि खडा छन् । 

नेपालको सन्दर्भमा राजा वीरेन्द्रको वंशनाशको कारक तत्कालीन युवराज दीपेन्द्रलाई लगाइयो । तारानाथ रानाभाटको छानबिन आयोगको प्रतिवेदनको उक्त निष्कर्ष आम नेपालीहरूले पत्याएका छैनन् । मदन भण्डारीको रहस्यमय हत्याको चित्तबुझ्दो कारण खोज्ने र आम मानिसहरूमा उक्त कुराको विश्वास दिलाउने वातावरण तयार भएको छैन । तथापि सिन्जो आबेका हत्यारा घटनास्थलबाटै पक्राउ परिसकेका छन् । प्रहरी अनुसन्धानले आबे हत्याकाण्डमा संलग्न व्यक्ति र हत्याको उद्देश्य पत्ता लगाउने नै छ । भारतमा महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेलाई मृत्युदण्डको सजाय दिइएको थियो । यसबाट उच्च पदस्त व्यक्तिको हत्या र त्यसमा संलग्नहरूको खोजी देशअनुसार फरक फरक रूपमा हुने गरेको देखिन्छ ।

नेपाल भूराजनीतिक हिसाबले असाध्यै संवेदनशील स्थानमा छ । वर्तमानमा एसियाका शक्ति सम्पन्न राष्ट्र चीन र भारतका बीचमा उभिएर सन्तुलित रूपमा आर्थिक रूपले सम्पन्न बन्नु नेपालको चुनौती हो । यी दुई छिमेकी राष्ट्रहरू निकट भविष्यमा  जनसङ्ख्या, अर्थतन्त्र र सामरिक हिसाबले विश्वका महाशक्ति राष्ट्र बन्ने अवस्थामा छन । सैन्य सुदृढीकरण र परमाणु हतियारको निरन्तर निर्माण र प्रतिस्पर्धाले चीन र भारतले विश्वको ध्यान आफूतर्फ केन्द्रित गरिरहेका छन् । राजनीतिक व्यवस्थाका हिसाबले फरक ध्रुवका यी दुई शक्तिशाली मुलुकहरूका बीचमा पसेर आआफ्नो स्वार्थ परिपूर्तिमा ध्यान केन्द्रित गरेका अमेरिका र युरोपेली मुलुकहरू दिनरात नेपालको भूराजनीतिक फाइदा उठाउन योजनाहरू बुनिरहेका छन् । अस्वस्थ राजनीतिको मुहार देखिरहेका अमेरिकी र युरोपेलीहरू नेपालका नेताहरूको गैरजिम्मेवार चरित्र, ढुलमुले नीति र पैसाका अगाडि लम्पसार पर्ने निकम्मा चरित्रसँग जानकार छन् । यसका निम्ति आफ्नो स्वार्थसिद्ध गर्न उनीहरू दरबार हत्याकाण्ड वा भण्डारी हत्याकाण्डको पुनरावृत्तिसम्म पनि पुग्न सक्छन् । कहिले दक्षिणमुखी, कहिले उत्तरमुखी र कहिले पश्चिममुखी हुने नेताहरूको अराजनीतिक चरित्रको फाइदा जो कोहीले पनि उठाउन सक्छ । यसमा नेपालको गृहप्रशासन सजग रहनु आवश्यक छ । 

दक्षिणतिरको खुला सीमानाको दुरुपयोग हतियार तस्करीमा पनि हुने गरेको छ । पूर्वसांसद मिर्जा दिलप्रसाद बेगको हत्या होस् वा लुम्बिनीमा जापानी भिक्षु युनाताका नावातामेको हत्या होस् । यी दुवै हत्यामा अवैध हतियारको प्रयोग गरिएको छ । अवैध हतियारको ओसारपसार र बिक्री वितरणले नेपालको शान्ति सुव्यवस्थामा गम्भीर असर पर्ने विषयलाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन ।

ताचिकावा, टोकियो, जापान  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उद्धव लुइटेल
उद्धव लुइटेल
लेखकबाट थप