किरात प्रदेशका लागि अर्को आन्दोलन जरुरी छ
मैले खुलस्त ढङ्गले भन्दै आएको छु, यहाँ किरात पहिचान जोडिएर प्रदेशको नाम राखिनुपर्छ । किरातको पक्षमा बोल्दा, त्यसमा मतदान गर्दा, म जुनसुकै मूल्य चुकाउनु पनि तयार छु । किरातीको सन्तान भएको नाताले मात्रै होइन, केही दह्रो तर्क, तथ्य, दशी, प्रमाणसहित मैले यो कुरा बोल्दै आएको हुँ ।
अहिलेका मूलधारका राजनीतिक पार्टी र यसका नेताहरूले पनि आन्दोलनको बेला, चुनावको बेला, यो प्रदेशको नाम किरात राख्ने, किरात जोड्ने भनेका छन् । माओवादीको कुरा गर्ने हो भने त उहाँहरुले जनयुद्धको बेलादेखि नै अभ्यास नै गर्नुभयो । विभिन्न प्रदेश बनाएर पहिचानको नाममा उहाँहरूले कसैलाई ताम्सालिङ, कसैलाई कोचिला, कसैलाई किरात भनेर अभ्यास नै गर्नुभयो ।
एमालेले दुईवटै संविधानसभाको चुनावमा बहुपहिचानको कुरा गरेको छ । यो प्रदेशको नाम किरात कोशी, किरात सगरमाथा राख्ने कुरा एमालेले गरेकै हो । त्यहीँबाट हामी छुट्टिएर आएको कारण हाम्रो घोषणापत्र पनि त्यही हो । पार्टीको महाधिवेशनको दस्तावेजमा पनि त्यही छ । काँग्रेस पहिचानको पक्षमा होइन कि जस्तो धेरैलाई लागेको छ । तर, उसको मूल मन्त्र नै के छ भने पहिचान पनि भेटिने, एकता पनि नमेटिने ।
अब जनतालाई आश्वासन दिएर मान्छेलाई क्रान्तिमा, आन्दोलनमा सहभागी गराउने, चुनावमा जनताको भोट लिएर प्रधानमन्त्री/मन्त्री हुने अनि दिने बेलामा चाहिँ अर्को निर्णय गर्ने हो भने त्यो भन्दा ठूलो धोका, त्यो भन्दा ठूलो बेइमानी केही हुँदैन ।
बोलीको कति ठूलो महत्त्व हुन्छ भन्ने कुरा तपाई हामीलाई थाहा नै छ । चीन जति शक्तिशाली हुँदा पनि हङ्कङबारे किन सम्झौता अवधि भरी पर्खियो ? सम्झौतामा आफू चुकेको कारण बेलायतलाई उसले हमला गरेन, पर्खियो । किरातको विपक्षमा उभिनेहरूकै धर्मग्रन्थ रामायणमा रामचन्द्रलाई वनवास पठाउनुमा दशरथ एउटा बोलीमा केकैसँग चुकेका थिए । लडाइँमा दशरथको रथको चुकुल खुस्कियो । केकैले आफ्नो औँलाले चुकुलको काम गर्दिइन् । उनको सहयोगले दशरथ लडाइँ जित्न सफल भए । त्यसपछि दशरथले ‘तिमी के बर माग्छौँ ?’ भन्दा केकैले ‘पछि माग्छु’ भनिन् । पछि राज्याभिषेक हुने बेलामा दशरथलाई उनले पहिलेको कुरा सम्झाउँदै रामचन्द्रलाई १४ वर्ष वनवास र आफ्नो छोरा भरतलाई राजा बनाउनु पर्यो भनेपछि त्यही बोलीकै आधारमा दशरथले भरतलाई राजा बनाए । छोरालाई वनवास पठाएको पिरले नै दशरथ मर्छन् । त्यस्तो अवस्थामा पनि बोलीमा उनी नचुकेको उदाहरण छ । त्यसकारण पहिचानको विषयमा नेताहरू र उनीहरूको बोलेको हुनाले बोलेको कुरा पुर्‍याउनुपर्‍यो भन्ने मेरो तर्क छ ।
भूगोलको नाम, हिमालको नाम, ठाउँको नाम ज्योतिषले राखेजस्तो जुराएर राखिँदैन । कुनै न कुनै साइनो सम्बन्धबाट त्यहाँको नाम रहन्छ । हाम्रो यो विराटनगरमा भोजपुरे आएर बस्यो भने भोजपुरे टोल, राईहरू बस्यो भने राई गाउँ बन्छ । कुनै ठाउँमा आरु पाइन्थ्यो भने आरुखर्क, लप्सी पाउने लप्सीफेदी भनेर नाम रहन्छ । यो ठाउँमा सबैभन्दा पहिले ठाउँमा किरातहरू आएर बसेका हुन् । त्यसबेला अहिलेको जस्तो सुख समृद्धिको अवस्था थिएन । किरातीहरूले रगत, पसिना बगाएर यो ठाउँमा मान्छे बस्न लायक बनाए । यहाँका बाँझो धर्ती फुटाउन कति रगत बग्यो, कति पसिना बग्यो । त्यसकारण सबैभन्दा पहिलो यहाँ किरातीहरूको पहिचानको हकदाबी लाग्दछ ।
इतिहासलाई फर्केर हेर्दा वल्लो किरात, पल्लो किरात, माझ किरात भनेर उहिल्यै स्वीकार गरेको कुरा हो । हामीले नयाँ कुरा खोजिरहेका छैनौँ । अहिले पनि टुक्राउँछन् भने वल्लो किरात, पल्लो किरात, माझ किरात तीनवटै राज्य बनाइदिए भयो । होइन एकै ठाउँ जोड्ने भए किरात हुनुपर्‍यो । यो कुरा अहिले मात्र हामीले माग गरेको हो र ? यो त उहिलेका कागजपत्रमा छ ।
अहिले मूल धारका नेताहरूले जति सजिलो बुझेका छन्, त्यस्तो सजिलो छैन । आन्दोलन उठ्न समय लाग्ला । तर, अहिले भुसको आगो सल्किएजस्तो विद्रोहको भावना मानिसमा रहिरहनेछ । त्यसो हुँदा भोलि कुनै पनि बेला लडाइँ, झगडाको अवस्था आउने, देशै विखण्डनको अवस्था आउने भएको हुनाले हामीले अहिले दिँदा शान्ति हुन्छ भने किन नदिने त ? दिँदा खेरि के नै बिग्रन्छ त ? त्यो पाटोबाट पनि हेर्नुपर्‍यो ।
हामीले महाकुलुङ नाम राख्यो, रामप्रसाद राई गाउँपालिका राख्यौँ । जातको नामबाट, व्यक्तिको नाम राख्दा पनि केही भएको छ त ? अस्तिसम्म २ नम्बर प्रदेशको नाम मधेस राख्दा बरबाद नै हुन्छ भन्ने नेताहरू थिए । तर, अहिले केही बिग्रियो त ? केही बिग्रिएको छैन । दिँदा केही बिग्रँदैन । बरु नदिँदा अशान्ति हुन्छ, मान्छेमा असन्तोष हुन्छ, विद्रोहको भावना बाँकी रहन्छ ।
श्रीकृष्ण भगवान्ले त शान्तिको लागि आफ्नो पुस्तौँ पुस्तादेखिको राज्य छोडेर अर्को ठाउँमा बसाई सरेका थिए । श्रीकृष्णलाई जरासन्तले १८ पटक आक्रमण गर्छन् । श्रीकृष्ण र बलरामले जित्न मात्रै सक्थे, मार्न सक्दैन थिए । जितिन्छ तर मार्न मिल्दैन भनेपछि श्रीकृष्णले कति पटक झगडा गर्नु भनेर शान्तिका लागि राज्य नै छोडेका थिए । शान्तिका लागि यस्तोसम्म गर्छन् भने यो त हकदाबी लाग्ने कुरा हो । उहिल्यै नै हामीले किरात भनेर स्वीकार गरेको विषय किन नदिने ?
राजनीति शास्त्र पढ्ने विद्यार्थीहरूले बुझ्ने कुरा भनेको तत्काल आन्दोलन, क्रान्ति भएन भने पनि राज्यले दिएको कुरामा मान्छेले चित्त बुझाएनन् भने अलगाव पैदा हुन्छ । त्यो अवस्था आयो भने देश असफलतातिर जान्छ भन्ने राजनीतिक सिद्धान्तले पनि भन्छ । हामीले तुरुन्तै क्रान्ति, आन्दोलन गर्न नसकिए पनि अलगाव पैदा हुन्छ । हाम्रा विदेश गएका सन्तानहरू यो देशमा फर्किँदैनन् । लाहुरेहरू विदेशमा गएर उतै बस्लान् । यहाँ भएकालाई चुनावमा भोट हाल्ने जाँगर चल्दैन । कोरोना जस्तै महामारीमा करोडौँ पैसा जम्मा गरेर पनि हामी सहयोग गर्दैनौँ ।
म तर्कसहित यो प्रदेशको नाम किरात राख्नुपर्छ भन्ने पक्षमा उभिएको छु । यो प्रदेश सरकारले निर्णय गरेर नाम नतोक्ने विषय भएकोले मलाई अप्ठ्यारो भएको हो । प्रदेश सरकारले नाम तोक्ने थियो भने म यसअघि नै निर्णय गरिसक्थे । पहिला पनि नेकपा सरकारमा हुँदा कोशी राख्ने प्रयास भइसकेको थियो, नेताहरूको निर्देशन नै आइसकेको थियो । त्यतिबेला हामीले ठूलो विद्रोह गरेपछि त्यो दुर्घटनाबाट हामीले नै जोगायौँ । अझै पनि अप्ठ्यारो बाँकी छ । प्रदेशसभाको दुई तिहाइले मात्रै नाम पास गर्नुपर्ने हुन्छ । पहिचानको पक्षमा अहिले दुई तिहाइ हुने अवस्था छैन बरु पहिचानको विपक्षमा दुई तिहाइ हुने सम्भावना छ ।
त्यो विषयलाई बुझेर तपाईंहरूले दुईवटा काम गर्नुपर्छ । एउटा जो पहिचानको पक्षमा स्पष्ट उभिएका छैनन्, ती पार्टीहरूलाई फकाउने हो कि दबाब दिने हो । पार्टी पक्षमा छैन भने पनि पार्टीका सांसदहरूलाई व्यक्तिगत ढङ्गले भए पनि पहिचानको पक्षमा उभ्याउने गरी तपाईंहरूले फकाउन र सम्झाउन जरुरी छ । अर्को अवस्था भनेको तपाईंहरू अब सडकमा उत्रिनु जरुरी छ ।
मुख्यमन्त्री राईले सोमबार किरात राई यायोक्खाका नेताहरूलाई सम्बोधन गर्दै व्यक्त गरेको विचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म