शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बडवाइजरले १० महिनामै ओगट्यो ‘प्रिमियम सेगमेन्ट’को ३० प्रतिशत बजार

मङ्गलबार, ०३ साउन २०७९, ०६ : ४१
मङ्गलबार, ०३ साउन २०७९

बडवाइजरले औपचारिकरूपमा नेपालमा उत्पादन र बिक्री वितरण गर्न सुरू गरेको १० महिना मात्रै भयो । २०७८ भदौ महिनादेखि औपचारिकरूपमा नेपाली बजारमा प्रवेश गरेको बडवाइजरले छोटो समयमै लोकप्रियता हासिल गरिरहेको छ । अमेरिकाको मल्टिनेश्नल कम्पनीले उत्पादन तथा बिक्री वितरण गर्दै आएको बडवाइजर बियर विश्वप्रसिद्ध ब्राण्ड हो ।

जसले नेपालमा १० महिना अघि मात्रै उत्पादन र बिक्री वितरण सुरू गरेको थियो । तर, त्यसयताको छोटो अवधिमै ‘प्रिमियम सेगमेन्ट’तर्फको ३० प्रतिशत बजार हिस्सा लिइसकेको राज ब्रुअरीका प्रमुख बजार अधिकृत वैभव शर्माले बताए । ‘नेपालमा स्ट्रङ र प्रिमियम गरी दुई प्रकारका बियर पाइन्छ,’ शर्माले भने, ‘यी २ मध्ये स्ट्रङ बियरले ८० प्रतिशत बजार हिस्सा ओगट्छ । बाँकी २० प्रतिशत बजार हिस्सामा प्रिमियम सेगमेन्टको कब्जा छ ।’

‘कूल बियर बजारको उक्त २० प्रतिशत बजार हिस्सा मात्रै प्रिमियम बियर अट्छ,’ शर्माले थपे, ‘यसैलाई १०० प्रतिशत मान्दा त्यसको ३० प्रतिशत बजार हिस्सा बडवाइजरले लिइसकेको छ ।’ खासगरी, बडवाइजर विश्वप्रसिद्ध ब्राण्ड हो । जसले गर्दा नेपालम सार्वजकि भएलगत्तै यसले छिट्टै लोकप्रियता हासिल गर्यो । बडवाइजरले नेपालमा चैत महिनामा लञ्च गरेपनि कोरोनाका कारणले २०७८ भदौदेखि बजारमा औपचारिकरूपमा आयो । लञ्च लगत्तै बडवाइजरले नेपालको बियर बजारमा राम्रै हलचल ल्याएको थियो । 

त्यसयता, गत वर्षको दशैं अर्थात असोज महिनामा पनि राम्रो व्यापार भएको कम्पनीको भनाइ छ । तर, जाडोयाम सुरू भएपछि बिक्री खस्किन थालेको थियो । जुन, क्रिसमस र अंग्रेजी नयाँ वर्षले पुनः उत्कर्षमा पुर्याइदियो । यो वर्षको वैशाख, जेठ र असार महिनासम्म आउँदा औसतमा मासिक ६० हजार कार्टुन बडवाइजर बिक्री हुँदै आएको छ । यो भनेको प्रिमियम सेगमेन्टको ३० प्रतिशत बजार हिस्सा हुन आउने कम्पनीको भनाइ छ ।

नेपालमा वार्षिक सरदर २ करोड कार्टुन बियर खपत हुन्छ । जसमध्ये ८० प्रतिशत अर्थात १ करोड ६० लाख कार्टुनको बजार हिस्सा स्ट्रङ बियरले ओगट्छ । प्रिमियम सेगमेन्टमा बाँकी ४० लाख कार्टुन पर्छ र यसको ३० प्रतिशत अर्थात सरदर ७ लाख कार्टुन बिक्री हुने शर्माको भनाइ छ ।

बजार हिस्सा बढाउने योजना

वार्षिक १ लाख २० हजार हेक्टोलिटर बडवाइजर उत्पादन गर्ने क्षमता राज ब्रुअरीमा छ । यसअनुसार कम्पनीले मासिक १ लाख कार्टुन बियर उत्पादन र बिक्रीको लक्ष्य राखेको छ । जसमध्ये मासिक ८० हजार कार्टुन बिक्रीको लक्ष्य भेट्टाउन सकिने योजना ब्रुअरीले बनाएको छ । यसका लागि हाल मासिक ६० हजार कार्टुन बिक्री भइरहेको अब २० हजार कार्टुन बढाउनुपर्छ । मासिक ८० हजार कार्टुन बडवाइजर बिक्री गर्नु भनेको प्रिमियम सेगमेन्टको ४५ प्रतिशत बजार हिस्सा ओगट्नु हो । र, यसका लागि कम्पनी तयार रहेको शर्माको भनाइ छ ।

यसरी छानियो राज ब्रुअरी

बडवाइजर विश्वप्रसिद्ध ब्राण्ड भएपनि नेपालमा उत्पादन तथा बिक्री वितरण हुने गरेको थिए । तर, यसको मूख्य कम्पनी नेपालमा पनि आफ्नो बजार विस्तारका लागि तयारी गरिरहेको थियो । यसैगरी, नेपाली मदिरा बजारमा छुट्टै पहिचान बोकेको जाउलाखेल ग्रुप अफ कम्पनीले पनि राम्रो ब्राण्ड लिन खोजिरहेको थियो । यहीक्रममा बडवाइजरको प्यारेन्ट कम्पनीका प्रतिनिधि ब्रुअरी खोज्दै सन् २०१९ तिर नेपाल आए र केही ब्रुअरीको अनुगमन गरे । त्यसक्रममा राज ब्रुअरी पनि हेरे र ६ घन्टाको अवधिमा उत्पादन र बिक्रीको अनुमति दिन राजी भए ।

दुई कम्पनीबीच सहमती भएपछि उत्पादन तथा बिक्री वितरण धेरै पहिलादेखि सुरू हुनुपर्ने थियो । तर, कोरोना महामारीका कारणले उत्पादन र लञ्च कार्यक्रमलाई धकेलेर गत वर्षसम्म पुर्याइदियो । राज ब्रुअरीले उत्पादनको अनुमति पाएपछि ८÷१० पटक ट्रायल उत्पादन भयो । र, परिक्षणका लागि स्याम्पल अमेरिका पुग्यो । अमेरिकामा परिक्षणका लागि पुगेको स्याम्पल स्वीकृत भएपछि औपचारिकरूपमा उत्पादन सुरू भएको कम्पनीको भनाइ छ । ‘बडवाइजर मल्टिनेश्नल कम्पनी हो । यो गुणस्तरीय हुन्छ,’ शर्माले भने, ‘आजका दिनमा पनि कम्पनीका २ जना प्रतिनिधि राज ब्रुअरीमा गुणस्तर परिक्षण गर्न बसेका छन् । उनीहरूले ‘ओके’ नभनी बियर बजारमा जाँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप