बदला लिन स्कुटरमा हतियार राखेर प्रहरीलाई खबर !
ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई प्रहरीले असार १३ मा पेस्तोलसहित नियन्त्रणमा लियो । प्रदेश–३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीमा २ राउण्ड गोली सहित पेस्तोल भेटिएको थियो ।
अनुसन्धान गर्दै जाँदा सो पेस्तोल श्यामकृष्णको नभएको र अरुले नै स्कुटरको डिकीमा राखेर फसाएको थाहा भएको छ । पेस्तोल राखेर फसाएको आरोपमा प्रहरीले ललितपुरको लुभु घर भएका ४३ वर्षीय अनिल श्रेष्ठ र ५० वर्षका अख्खनदास श्रेष्ठलाई पक्राउ गरेको छ ।
अनिल श्रेष्ठ ललितपुरस्थित सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुन् । अख्खनदास निवर्तमान उपाध्यक्ष र श्यामकृष्ण सो सहकारीको व्यवस्थापक हुन् । अनिल श्रेष्ठले श्यामकृष्णको स्कुटरको डिकीमा पेस्तोल राखेर प्रहरीलाई खबर गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।
२०७८ चैत १७ मा ललितपुर प्रहरीले अनिल श्रेष्ठ विरुद्ध बहुविवाहको मुद्दा चलाएको थियो । आफ्नो मिल्ने साथीको श्रीमतीलाई भगाएर विवाह गरेको हुनाले श्यामकृष्णले अदालतमा अनिलको विरुद्धमा साक्षी बकपत्र गरेका थिए । त्यसमा अनिलले रिसिबी साँधेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
सहयोगी बहुउद्देश्यीय सहकारीबाट २ करोड ९५ लाख कर्जा निकालेका थिए । सो कर्जाको सावाँ र ब्याज तिर्न श्यामकृष्णले पटक–पटक ताकेता गरेपछि मनमुटाव बढेको थियो । सो रिसईवी साँध्न उनले हतियार राखेका हुन् ।
जेठ २५ मा अनिलले प्रहरी कन्ट्रोलमा फोन गरेर श्यामकृष्ण चढ्ने मोटरसाइकलमा पेस्तोल भएको सूचना दिए । तर, प्रहरीले उनको स्कुटरको नम्बर फेला पार्न सकेन । प्रहरीले फेला नपारेपछि पार्किङमा राखेको स्कुटरबाट उनले फेरि पेस्तोल निकालेर लगेका थिए । असार १३ मा श्यामकृष्ण मालपोत कार्यालय हिँडेको अवस्थामा पेस्तोल राखेर उनले २५ पटक प्रहरीलाई फोन गरेर बोलाएका हुन् ।
श्यामकृष्णले चढ्ने स्कुटर सहकारीको नाममा छ । सो स्कुटरको साँचो पूर्व उपाध्यक्ष अख्खनदास श्रेष्ठसँग पनि थियो । अनिलले २५ दिनअघि अख्खनदासबाट स्कुटरको साँचो लिएको अनुसन्धानबाट थाहा भएको एसपी शाहले जानकारी दिए ।
श्यामकृष्णलाई हाजिर जमानीमा छाडेर हतियार राख्ने दुईजनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।