सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश १ नामकरण बहस

प्रदेश १ को नाम किरात भए मुख्यमन्त्री राईलाई यलम्बरको उपाधि दिने घोषणा

पुर्खाहरूको चिहानले भन्छ– यो माटो किरात हो
सोमबार, ०२ साउन २०७९, १७ : ५७
सोमबार, ०२ साउन २०७९

प्रदेश १ को नामकरणको बहस तीब्र भइरहेका बेला किरात प्रदेशको माग गर्दै सोमबार मुख्यमन्त्री कार्यालय घेराउ भयो । किरात राई यायोख्खाको नेतृत्वमा भएको घेराउ कार्यक्रममा सुनसरीको धरानदेखि इटहरी हुँदै सयौं मोटरसाइकलको र्याली मुख्यमन्त्री कार्यालय र प्रदेशसभा भवन घेर्न पुगेको थियो । 

र्‍यालीका कारण निकैबेर कोशी राजमार्ग प्रभावित बन्यो । मुख्यमन्त्री कार्यालय विराटनगरको रोडशेष क्षेत्र झण्डै दुई घण्टा एकतर्फी बन्यो । घेराउ कार्यक्रममा किरात राई यायोख्खाका नेताहरुले प्रदेशको नाम किरात राख्नुपर्नेमा जोड दिए । उनीहरुले मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रशंसा गरे भने किरात प्रदेशको विरुद्धमा जाने दलहरुलाई आगामी चुनावमा देखाइदिने धम्की पनि दिए । 
घेराउकै बीचमा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र पनि बुझाइएको थियो । त्यसक्रममा किरात राई यायोख्खाका अध्यक्ष दिवस राईले प्रदेशको नाम किरात घोषणा गर्न सफल भए मुख्यमन्त्री राईलाई आफ्नो इतिहास पूर्खा भनेर चिनिने यलम्बरको उपाधिले सम्मान गर्ने घोषणा गरे । 
 
‘जनताको अभिमत लिएर हामी आएका छौँ । किरात प्रदेश नामकरण सार्थक रुपमा तत्काल टुंगो लागोस् । यसको श्रेय यो मुलुकको, सिंगो प्रदेशको हाम्रो इतिहासको यलम्बरको रुपमा प्रदेशको यलम्बर तपाईलाई घोषणा गर्नेछौं,’ राईले भने, ‘यदि किरात प्रदेश नामकरण भएन भने त्यसको परिणाम के हुन्छ, भोलि देख्दै जानेछन् तिनीहरुले । यो आन्दोलन पहिचानको हो । एउटा सिंगो माटोसँग जोडिएको, पुर्खाको सन्ततिको भविष्यसँग जोडिएको छ, यो रगत र पसिनासँग जोडिएको छ । यो किरात प्रदेशको माग प्राप्त नगरेसम्म हजार वर्षसम्म किन लड्नु किन नपरोस्, हामी नरहेपनि हाम्रा सन्ततिले लड्नेछन् र भन्न चाहन्छौं प्रदेशको नाम किरात प्रदेश राख्न मुख्यमन्त्रीले पहल लिनुहोस् ।’

उनले आफ्ना पूर्खाको चिहानबाट बनेको कारण १ नम्बर प्रदेशको माटोले पनि किरातलाई चिन्ने दाबी गरे । ‘किराँत भनेको कुनै पनि जातीय साम्प्रदायीक कुरा होइन । यो सिंगो माटोको परिचय हो । यहाँको इतिहास, सभ्यता, भूगोल, भाषा सबै हिसावले किरातसँग यसको विरासत जोडिन्छ । यहाँको सिमे, भूमे, खोला, वनजंगलदेखि सारा मनोविज्ञान हाम्रो किरात समुदायको भावना जोडिन्छ । हाम्रो मुन्धुम जोडिन्छ । हाम्रो पिता पुर्खाहरू जोडिन्छ ।

 हामीलाई थाहा छ हाम्रो पुर्खाहरुको चिहानले भन्छ यो माटो किरात हो,’ उनले थपे, ‘कसैले इतिहास सम्झेर कसैले नढाँटी भित्र मनमा आत्मामा एकपटक सम्झने हो भने यो माटोमा उभिनेले किरात नै सम्झन्छ । यति पुरानो सभ्यता र संस्कृति बोकेको यो माटोलाई आज दिनदहाडै विभक्त पार्ने प्रयास गरिरहेको छ यसको हामी घोर भत्र्सना र विरोध गर्छौं । यति मात्रै होइन या माटोमा हामी किरात प्रदेश घोषणा गरेरै छोड्छौँ । यो संकल्प पनि गर्न चाहन्छौं ।’
सोही क्रममा मुख्यमन्त्री कार्यालयभित्रै ‘१ नम्बर प्रदेश किरात प्रदेश’ भन्दै नाराबाजी पनि भएको थियो । ज्ञापनपत्र बुझाउने क्रममा किरात राई यायोख्खाका महासचिव जनक राईले प्रदेशको नामकरण किरात नभए आन्दोलन गर्ने चेतावनी दिए । 

‘१ नम्बर प्रदेशसभामा प्रदेशको नामकरणको लागि निर्णायक छलफल चलिरहेकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै विभिन्न कालखण्डमा भएको राजनीतिक, सामाजिक आन्दोलन र वर्तमान संविधानको भावना, नेपालकै प्राचिन इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा र १ नम्बर प्रदेशको आम प्रदेशवासीको चाहना अनुसार १ नम्बर प्रदेशको नाम किरात प्रदेश नामकरण गर्न गराउनुहुन जोडदार माग गर्दै कथंकदाचित् जनताको भावना विपरीत पहिचानलाई निस्तेज गर्ने गरी नामकरण गरिए जुनसुकै प्रकारको कडाभन्दा कडा आन्दोलन गरिने जानकारी गराउँदै यसबाट सिर्जना हुने असहज परिस्थितिको जिम्मेवार स्वयं प्रदेश सरकार, राजनीतिक दल र सरोकारवाला निकाय हुने जानकारी गराउन चाहन्छौं,’ उनले भने । 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने किरात प्रदेश नामकरण गरिनुपर्ने कुरामा आफ्नो पनि समर्थन रहेको बताए । ज्ञापनपत्र बुझ्दै उनले आफूले सार्वजानिक रुपमा किरात प्रदेश हुनुपर्ने माग राख्दै आएको स्मरण गरे । ‘मैले भन्दै आएको छु, पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्दछ,’ मुख्यमन्त्री राईले भने, ‘मैले खुल्ला रूपमा भन्दै आएको छु । प्रदेशको नाम पहिचानको आधारमा किरात प्रदेश हुनुपर्दछ । प्रदेशको नामकरणको लागि मतदान गर्दा मैले जुनसुकै मूल्य चुकाएर भएपनि किरात प्रदेश मै गर्नेछु, किरातीको छोरा भएको नाताले मैले यसो भनेको होइन । प्रदेश १ पहिचान र सभ्यता जोडिएको प्रदेश हो । त्यसैले पनि प्रदेशको नामकरण किरात प्रदेश हुनुपर्ने दशी भएकोले किरातको पक्षमा बोल्दै आएको छु ।’

माओवादीले जनयुद्धको बेलादेखि पहिचानको आधारमा नामकरण गरिनुपर्ने एजेण्डा रहेको उनले सुनाए । ‘माओवादीले त अभ्यास नै गरेको थियो । चुनावको बेलामा पनि गरेको हो । एमालेले पनि चुनावमा जनता समक्ष जाने क्रममा बहुपहिचानको आधारमा राख्ने कुरा गरेको छ । पार्टीको महाधिवेशन र दस्तावेजमा पनि एकीकृत समाजवादीले पनि पहिचानको आधारमा माग राखेको छ,’ मुख्यमन्त्रीले भने, ‘त्यसैले ढिलो नगरि पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्दछ ।’ जनतालाई आस्वासन मात्र दिएर पहिचानको आधारमा भाग्न नहुने उनले बताए । 

प्रदेश नं १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने तयारी गरेको सन्दर्भमा किरात राई यायोख्खाले किरात प्रदेशको माग राख्दै विराटनगरमा प्रदर्शन गरेको हो । मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएपछि उनीहरू प्रदेशसभाको कार्यालय पनि पुगेका थिए । प्रदेशको नामकरणको विषय पेचिलो बन्दै गइरहेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्ग्याउन सकेको छैन । 
घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन् । 

नामकरणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचान र सभ्यताका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथा, सप्तकोशीलगायत नामकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बुवान पक्षधर पार्टीहरूले भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप