बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गैँडाको अवस्थाबारे अध्ययन गर्न विज्ञ टोली गठन

सोमबार, ०२ साउन २०७९, १६ : २६
सोमबार, ०२ साउन २०७९

गैँडाको मृत्यु दर घटाउन र चितवन राष्ट्रिय निकुञ्जबाट गैरकानुनी तरिकाले हुने अङ्ग–प्रत्यङ्गको ओसारपसार तथा खरिदबिक्रीलाई अन्त्य गर्न वन तथा वातावरण मन्त्रालयले विज्ञहरुको एउटा टोली गठन गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा गठन भएको टोलीमा नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी मिलनध्वज खाण, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक वीरेन्द्र जोहारी, विज्ञ डा.शान्तराज ज्ञवाली र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागकै सदस्यसचिव इकोलोजिस्ट डा. गणेश पन्त छन् ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवको विशेष निर्देशनमा निकुञ्जमा गैँडाको अवस्थाबारे विस्तृत अध्ययन गर्दै यस्ता समस्यालाई अन्त्य गर्न सोमबार विज्ञहरुको टोली गठन गरिएको मन्त्रीका निजी सचिवालयले जनाएको छ ।

 गैंडाहरु राष्ट्रिय निकुञ्जका प्रमुख जनावर भएको र पछिल्लो समय गैँडाको मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री यादवले गैंडा संरक्षणका लागि भावी योजना बनाउन विज्ञ टोली गठन गरिएको बताए । निकुञ्जका गैँडा र मानवबीच पनि द्वन्द्व बढ्दै गएको र यसलाई समेत न्यूनीकरण गर्न टोलीले अध्ययन पश्चात बुझाउने प्रतिवेदनले ठूलो सहयोग मिल्ने उनको भनाइ छ ।

मन्त्री यादवले गैँडा संरक्षणका लागि आफू गम्भीर रहेको र यसका लागि उठाउनु पर्ने हरेक कदम आफू उठाउन तयार रहेको बताए । उनले मातहतका निकायहरूलाई पनि यस विषयमा गम्भीरताका साथ काम गर्न निर्देशन दिए ।

टोलीले चितवनमा गैँडाको हालको अवस्था, संरक्षणका लागि चलिरहेका विभिन्न कार्यक्रमको प्रभावकारिता, गैँडा संरक्षणमा भइरहेका चुनौती र भविष्यमा यसलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन गर्ने छ । विज्ञ टोलीले १५ दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमै बसेर अध्ययन गर्ने वन मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा हाल ६९४ वटा गैँडा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप