शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट कार्यान्वयनको मार्गदर्शन जारी : खर्च गर्न नसकिने भए चैत १५ भित्रै सरेन्डर गर्नुपर्ने

सोमबार, ०२ साउन २०७९, १२ : २१
सोमबार, ०२ साउन २०७९

चालु आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी भएको छ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि कार्यान्वयनमा आएको बजेटको प्रभावकारीताका लागि यस्तो मार्गनिर्देशन वा मार्गदर्शन जारी गरेको हो । 

मन्त्रालयको मार्गदर्शन अनुसार बजेट खर्च गर्ने मन्त्रालयहरू वा निकायहरूले एकभन्दा बढी इकाईबाट खर्च गर्ने गरी एकमुष्ट रकम विनियोजन भएको भए २०७९ असोज मसान्तभित्र रकम बाँडफाँड गरी सोको जानकारी अर्थ मन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयहरूलाई जानकारी दिनु पर्नेछ । 

अनुदान सङ्केत नं.६०२ बाहेकको खर्च शीर्षक नं. २८९११ (भैपरी आउने–चालु खर्च) र ३१५११ (भैपरी आउने–पुँजीगत खर्च) मा विनियोजित बजेट अर्थ मन्त्रालयबाट बाँडफाँड स्वीकृत गराएर मात्र खर्च गर्नुपर्नेछ । यस्तो बाँडफाँड २०७९ असोज मसान्तभित्र गरिसक्नुपर्नेछ । वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभएमा वा बाँकी अवधिमा खर्च हुन नसक्ने भएमा त्यस्तो रकम २०७९ चैत १५ गतेभित्र अनिवार्य रूपमा समर्पण (सरेन्डर) गर्नुपर्नेछ, मार्गदर्शनमा भनिएको छ । 

यस्तै, विनियोजन ऐन, २०७९ को दफा ५(१) बमोजिम नेपाल सरकारको कुनै निकायबाट कार्यान्वयन हुने गरी विनियोजन भएको कुनै योजना वा कार्यक्रम प्रदेश तथा स्थानीय तहमार्फत कार्यान्वयन गर्नुपर्ने भएमा सम्बन्धित प्रदेश तथा स्थानीय तहबाट कार्यक्रम कार्यान्वयन गर्ने/गराउने व्यवस्था मिलाउनुपर्नेछ । 

अर्थ मन्त्रालयले अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँड, कार्यक्रम/योजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जवाफदेहिता र अनुगमन सम्बन्धी व्यवस्था लगायतको क्षेत्रमा रहेर करिब ६ दर्जन बुँदामा मार्गदर्शन गरेको छ ।  

यस्तो मार्गदर्शन विनियोजन ऐन, २०७९ को दफा ९ को उपदफा (४) बमोजिम अर्थ मन्त्रालयले जारी गरेको हो । चालु आर्थिक वर्ष २०७९/८० का लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

यस्तो मार्गदर्शन :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप