शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाबुरामका पूर्व सहकर्मी भन्छन्, ‘माओवादीमा फर्कनुहोस्, हामीलाई नेता मान्न कुनै गाह्रो छैन’

सन्यास लिएकै राम्रो : हरि रोका
सोमबार, ०२ साउन २०७९, १० : १८
सोमबार, ०२ साउन २०७९

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले गत असार ३० गते संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहित नौ जनालाई पार्टीबाट निष्काशन गरे । वैकल्पिक शक्ति बनाउने उद्घोष गर्दै २०७२ साल असोज ९ गते तत्कालीन नेकपा एकीकृत माओवादी छोडेका बाबुराम नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा अहिले पार्टीविहीन अवस्थामा पुगेका छन् । जसपाबाट निकालिएपछि बाबुरामले असार ३१ गते एक विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने बताएका छन् । 

तर, बाबुरामका पूर्व सहकर्मी तथा नेकपा माओवादी केन्द्रका नेताहरूले आफ्नै पुरानो घर फर्किन सुझाव दिएका छन् । बाबुरामको लिगेसी माओवादीमै भएकाले पुरानै पार्टीमा फर्किन पार्टी स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले अनुरोध गरेका छन् । ‘उहाँको बौद्धिकता कार्यक्षमता, इतिहास र योगदानका विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय जगत परिचित छ । मैले बारम्बार भन्ने गरेको छु । तपाईंको लिगेसी जहाँ छ, तपाईंको इतिहास र योगदान जहाँ छ, त्यसैले तपाईंलाई न्याय र मूल्यांकन गर्न सक्छ । त्यसैले फर्कनुहोस्,’ रातोपाटीसंग कुरा गर्दै भट्टले भने, ‘माओवादीहरू सबै एउटै केन्द्रमा आउनुपर्छ । देशभक्त प्रगतिशील र अग्रगमनका पक्षधरहरू एउटै केन्द्रमा आउन जरुरी छ । अरु कुनै प्रयोग र परीक्षणको निरन्तरता राष्ट्रका लागि र उहाँ आफ्नै टिमका लागि फाइदाजनक हुन सक्दैन ।’ माओवादीका अधिकांश नेताहरूले बाबुराम पुरानै पार्टीमा फर्किए नेता मानेर बस्न कुनै आपत्ति नहुने जिकिर गरेका छन् । यसअघि समेत आफ्नै पार्टीको सिनियर नेता भएकाले अब पनि पार्टीमा फर्किँदा उत्तिकै सम्मान हुने बताएका छन् । 

यता राजनीतिक विश्लेषक हरि रोका भने बाबुरामले माओवादी हुँदै जसपासम्म आउँदा राजनीतिक र वैचारिक रुपमा धेरै परीक्षण गरिसकेकाले अब रिटायर्ड जीवन बिताउँदा उपयुक्त हुने सुझाव दिन्छन् । राजनीतिबाट विश्राम लिएर बाबुरामले आफ्नो बौद्धिकता देश र समाजका लागि खर्च गर्दा फलदायी हुने रोकाले भनाई छ । अहिले भएका काँग्रेस, एमाले वा माओवादी लगायत अन्य कुनै पार्टीमा गए बाबुरामले आफ्नो स्थान लिन कठिन हुने रोकाको विश्लेषण छ ।

अर्का राजनीतिक विश्लेषक एवम् नागरिक अभियान्ता श्याम श्रेष्ठले बाबुरामले ७० प्रतिशत श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टी बनाए त्यसको अर्थ हुने जिकिर गरे । अहिले भएका पार्टीहरू असफल भएको भन्दै श्रेष्ठले गरिखाने वर्गको पार्टी निर्माण गरेमा बाबुरामलाई इतिहासले मूल्याङ्कन गर्ने बताए ।

‘बाबुरामजीको आफ्नो लिगेसी र इतिहास जहाँ छ, त्यहीँ जानुपर्‍यो’

खगराज भट्ट, स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम इन्चार्ज, नेकपा माओवादी केन्द्र

बाबुराम भट्टराई नेपाली राजनीतिको स्थापित अनुहार हो । उहाँको बौद्धिकता कार्यक्षमता, इतिहास र योगदानका विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय जगत परिचित छ । मैले बारम्बार भन्ने गरेको छु । तपाईंको लिगेसी, इतिहास र योगदान जहाँ छ । त्यसले मात्रै तपाईंलाई न्याय र मूल्याङ्कन गर्न सक्छ । त्यसैले तपाईं माओवादीमा फर्किनुहोस् । माओवादीहरू सबै एउटै केन्द्रमा आउनुपर्छ । देशभक्त प्रगतिशील र अग्रगमनका पक्षधरहरू एउटै केन्द्रमा आउन जरुरी छ । उहाँले गर्ने अरु कुनै प्रयोग र परीक्षणको निरन्तरता राष्ट्रका लागि र उहाँको आफ्नै टिमका लागि फाइदाजनक हुन सक्दैन । उहाँले हिजो माओवादी पार्टीलाई चर्किएको घर भन्नु भएको थियो । त्यो चर्किएको घर अहिलेसम्म भत्किएको छैन, राम्रै छ मजबुत छ । कहिलेकाहीँ दृष्टि दोष पनि हुन्छ । उहाँले माओवादीलाई चर्किएको भन्दै गर्दा उहाँको आफ्नै पार्टी कति पटक चर्कियो भत्कियो ? 

आत्मसमीक्षा गरेर माओवादीमा फर्किनुपर्छ

शिवकुमार मण्डल, पोलिटब्यूरो सदस्य, नेकपा माओवादी केन्द्र

नेपालको १० वर्षे जनयुद्धको सशक्त कमाण्डर मध्येका एक बाबुराम भट्टराईले त्यतिबेला नेतृत्वदायी भुमिका निभाउनुभयो । उहाँ पछिल्लो अवस्थामा आफ्नो विचारलाई छोडेर विचलित हुँदा जुन खालको अवस्था बहोर्नु भएको छ, त्यो सबैलाई जगजाहेर नै छ । त्यसको मूल कारक वहाँ आफै हुनुहुन्छ । 

उहाँले विगतमा माओवादी आन्दोलनप्रति गरेको टिप्पणी राम्रो थिएन । आफू बसेर नेतृत्व गरेको बरिदानपूर्ण संघर्ष, मेहनत र आन्दोलनको औचित्य समाप्त भयो भन्नुभयो । अब नयाँ ढंगले जानुपर्छ भन्नुभयो । उहाँले सोचेर जान खोजेको बाटोमा सफल हुन सक्नुभएन । अब उहाँले आफ्नो विगतका गल्तीको आत्मसमीक्षा गरेर माओवादी पार्टीमा फर्किए राम्रो हुन्छ । यसो भएमा उहाँलाई र माओवादी आन्दोललाई राम्रो हुनेछ । माओवादी आन्दोलनभन्दा बाहिर रहेर उहाँको अस्तित्व, महत्त्व र औचित्य रहँदैन । त्यसमा उहाँले पनि महसुस गरी सक्नुपनि भएको छ । माओवादीभन्दा बाहिर रहेर आफ्नो भूमिका निभाउँन हुन्नु हुन्न ।

बाबुरामजीले राजनीतिबाट थाकेर विश्राम लिनुहुन्न

इन्द्रजित थारु, पोलिटब्यूरो सदस्य, नेकपा माओवादी केन्द्र

बाबुरामजीले अब आफ्नो महत्त्वाकांक्षा त्यागेर माओवादीमै फर्किनुपर्छ । उहाँको मार्क्सवादी जुन ज्ञान छ, त्यो प्रयोग गर्ने थलो माओवादी हो । उहाँले पुरानै पार्टीमा फर्किएर योगदान गर्दा राम्रो हुन्छ । उहाँले यसअघि माओवादी काम लाग्दैन भनेर गएपनि कहीँ राम्रो भएन । आफूलाई नयाँ ठाउँमा स्थापित गर्न सक्नुभएन । 

बाबुरामजी जस्तो व्यक्तिले राजनीतिबाट विश्राम लिनुहुँदैन । उहाँले नेपाली राजनीतिमा योगदान गर्ने समय अझै छ । बाहिरबाट हेर्दा असफल जस्तो देखिएपनि आफैले गहिरो गरी समीक्षा गरेर अघि बढ्नुपर्छ । मेरो असफलता केमा हो भनेर बुझेर उहाँको योग्यता र क्षमता पुरानै पार्टीमा प्रयोग गर्नुपर्छ ।

बाबुरामले आफ्नो विचारमा रिथिङ्क गर्नुपर्छ

निर्मल आचार्य, पोलिटब्यूरो सदस्य, नेकपा माओवादी केन्द्र

उहाँले जुन पार्टी र आन्दोलनमा लामो समय खर्चिनुभयो । त्यसले नै गर्दा यो देशको परिवर्तन गर्न सम्भव भयो । देशको परिवर्तन गर्न सक्ने कम्युनिस्टहरूले हो । तर  विकास र निर्माण गर्न कम्युनिस्टले सक्दैनन् भनेर कम्युनिस्ट विचार छोड्नु भयो । त्यो उहाँमा देखिएको विचलन हो । कम्युनिस्ट आन्दोलनमा कमी कमजोरी भएको भए सच्याउनुपर्छ । त्यसलाई सुधार गरेर जाने विषयमा सकारात्मक रुपमा लिन सकिन्छ । देशको क्रान्ति कम्युनिस्टले गर्ने तर  विकास निर्माण अर्को पार्टी चाहिने भन्ने कुरा यूक्तिसङ्गत छैन । 

उहाँले उठाएको विचार त्यो युरोपमा उहिले असफल भएको विचार हो । त्यसैले उहाँले आफ्नो विचारमा रिथिङ्क गर्नुपर्छ । देशको यो परिवर्तन कम्युनिस्टहरूकै योगदानमा भएको हो । अब विकास निर्माणको नेतृत्वपनि सर्वहाराको नेतृत्वमा कम्युनिस्टले नै गर्ने छन् । यि सबै विचारमा पुनर्विचार गरेर सिंगो माओवादी मूलधारमा आएमा देशलाई केही न केही फाईदा पुग्छ ।

मैले भनेर बाबुरामले मान्ने कुरा भएन

जयपुरी घर्ती, पोलिटब्यूरो सदस्य, नेकपा माओवादी केन्द्र

मैले बाबुरामलाई के सुझाव दिने हो ? नेताहरूको कुरा भयो । मैले भनेर बाबुराम सरले मान्ने कुरा भएन । मलाई भित्रैदेखि लागेको उहाँ माओवादीमै फर्किँदा हामीसबै खुसी हुने थियौँ । उहाँ हिजोपनि हाम्रो नेता हो, भालिपनि हामीलाई नेता मान्न गाह्रो छैन । अध्यक्ष प्रचण्ड कमरेडसहित अरु नेताहरूले के भन्नुहुन्छ ? सकेसम्म सबै पूर्व माओवादीहरू एउटै पार्टीमा भए राम्रो हुने थियो । उहाँले मार्क्सवाद र माओवाद छोडे भनेपनि पुनः त्यहीँ विचारलाई लिएर जान पनि सकिन्छ । त्यसमा कुनै समस्या छैन । त्यस विषयमा बहस छलफल गर्न सकिन्छ ।

मेरा दुई सुझाव छन्

देवी खड्का, पोलिटब्यूरो सदस्य, नेकपा माओवादी केन्द्र

बाबुराम भट्टराई यो देशको १० वर्षे जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेता हुन् । यो देशको परिवर्तन ल्याउनुमा उहाँको ठूलो योगदान छ । त्यसमा उहाँको अवमूल्यन गर्नुहुँदैन । अब उहाँ कि यहीँ माओवादीमै फर्किएर योगदान गर्नुपर्‍यो । त्यो हुँदा उहाँको योगदान र लिगेसी सबैको निरन्तरता हुन्छ । उहाँको सम्मान पनि हुन्छ । यदी होइन उहाँ यो पार्टीमा आउन सक्नुहुन्न, उहाँलाई फर्किएर यो पार्टीमा जोडिन गाह्रो हुन्छ भने वौद्धिक कर्ममा लाग्दा राम्रो हुन्छ । बाबुराम जस्तो व्यक्तिको बौद्धिकले नेपाली समाजलाई धेरै ठूलो योगदान हुन सक्छ ।

प्रचण्ड बाबुराम एउटै टेबलमा बस्नुपर्‍यो

सुदन किराती, पोलिटब्यूरो सदस्य, नेकपा माओवादी केन्द्र

बाबुराम सर परम्परागत कम्युनिस्टको विचार दर्शन र पुँजीवादमाथि नै प्रश्न उठ्यो भनेर नयाँ शक्ति निर्माणतिर लाग्नुभयो । जुनसुकै प्रयोगशालामा जाँदा पनि सिद्ध गर्न सक्नु भएन । जनयुद्धको यति ठुलो नेताको अवस्था यस्तो हुँदा खुसी हुने कुरा भएन । उहाँ पुरानै घरमा फर्किएर स–सम्मान बसेर योगदान गरे राम्रो हुने थियो । हामीले रगत र पसिना बगाएर ल्याएको परिवर्तन बेवारिसे हुन खोज्दै छ । त्यसलाई सुदृढ गर्न यही पार्टीमा फर्किदा असाध्यै राम्रो हुने थियो । त्यसका लागि अध्यक्ष प्रचण्ड कमरेड र बाबुराम सर एउटै टेबलमा बसेर यो व्यवस्थालाई सुदृढ गर्न अपिल गर्नुपर्‍यो ।

उहाँले नयाँ सत्यको खोजीमा ठुला–ठुला अस्त्र प्रयोग गर्नुभयो । आफूलाई सत्य साबित गर्न सक्नु भएन । पुरानै माओवादी पार्टीमा फर्किएर आफुले योगदान गरेको परिवर्तनलाई अझ सुव्यवस्थित गरेर लग्न लाग्नुपर्छ । त्यसलाई अझै व्यवस्थित सुदृढ गर्नतिर लाग्दा हामी सबैको हित र राष्ट्रको हित हुने छ ।

जहाँ बाबुराम उभिन्छ त्यहीँ पार्टी जन्मिन्छ भन्ने गलत सावित भयो   

रञ्जित तामाङ, केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्र

बाबुराम भट्टराई जुन आन्दोलनको जगमा आफूलाई स्थापित र परिचित बनाउनुभयो । त्यो आन्दोलन र जग छोडेर आफ्नै पहिचान र अस्तित्वको नयाँ ब्राण्ड बनाउन सम्भव छैन । उहाँ पुरानै घरमा फर्किनुपर्‍यो । राजनीतिक रुपमा नमिलेका असहमति र जटिलताहरू हिजोकै आन्दोलनबाट खोजिनुपर्छ । जहाँ बाबुराम उभिन्छ, त्यहीँ पार्टी र आन्दोलनको जन्म हुन्छ भन्ने जुन बुझाई थियो, त्यो नयाँ शक्ति बनाएर जसपाको एकता हुँदै विभाजनसम्म आउँदा आफैले आफूलाई परीक्षण गरी सक्नुभयो । उहाँले थप नयाँ पार्टी बनाएर थप परीक्षण गर्नुपर्ने जरुरी छैन । माओवादी वृत्तमा जनताको बीचमा स्वीकार गर्ने आधार छ । माओवादीसंग फर्किदा फरक नेताको रुपमा वा फरक ढंगले हेर्नुपर्ने अवस्था बन्दैन ।

रिटायर्ड जीवन बिताउँछुभन्दा राम्रो हुन सक्छ  

हरि रोका, राजनीतिक विश्लेषक

बाबुरामजीको बारेमा कहीँ बोल्ने इच्छा थिएन । आग्रह गरेपछि आफूले देखेको केही भन्नै पर्ने भयो । राजनीतिमा एउटा धैर्यता चाहिन्छ । उहाँमा धेरै छटपटी भयो । एकचरण आफैले आत्मसाथ गरिसकेपछि त्यसको औचित्यको बारेमा अलि बढी चिन्तन मनन गर्नुपर्ने हुन्छ । उहाँमा बौद्धिक क्षमता भएकाले एक खालका मान्छेसँग अपेक्षा थियो । धैर्यतापूर्वक अपेक्षा पुरा गरी हिँड्नुहुन्छ र सहजतापूर्वक आफ्नो कामलाई अगाडि बढाउनुहुन्छ जुन आम जनताको पक्षमा हुन्छ भन्ने खालको मानिसको सोच थियो । त्यो सोच जसरी निर्माण गर्नुपर्ने थियो, त्यो अपेक्षालाई पुरा गर्न जसरी संस्थागत रुपमा सोच्नुपर्ने थियो, त्यसमा कमी देखियो । उहाँले अडान लिएका कुराहरू माओवादीमा रहँदा, जनयुद्ध हुँदा निक्कै लामो समयसम्म माओवाद बारेमा ब्याख्या विश्लेषण गर्नुभयो । उहाँका धेरै किताब र लेखहरू लेखेर सैद्धान्तिकरण गर्नुभएको छ । त्यस हिसाबले उहाँ एउटा विचारकको रुपमा स्थापित हुनु भयो । माओवादीमा भएका वा आबद्ध हुन चाहनेहरू त्यस कारणले आकर्षित भए । माओवादभित्रको वौद्धिक जमात उनीसँगै आकर्षित भएर समर्पित भएका थिए ।

तर, उहाँ आफ्नो विचारमा स्थिर हुनुभएन । जे जति व्याख्या गर्नुभयो । पछिल्लो चरणमा उहाँले आफूलाई मार्क्सवाद वा समाजवादप्रति र कम्युनिस्ट विचारमा मेरो विश्वास छैन भनेर हिँड्न थाल्नुभयो । त्यस विषयले उहाँको विश्वसनीयता टुट्यो । समाजमा उहाँको विश्वसनीयता टुटेपछि उहाँलाई निक्कै गाह्रो भयो ।

सांगठनिक क्षमता, सैद्धान्तिक वैचारिक कुरा र नेतृत्वको चातुर्यले कसैलाई नेता बनाउँछ । आफ्नो करिश्मा प्रयोग गरेर नेतृत्वमा प्रचण्ड भइरहे । वैचारिक हिसावले वैद्य र बाबुराम आफ्नो हिसावले नेतृत्व गर्न सक्छन् भन्ने माओवादीभित्र स्थापित थियो । त्यस कुरालाई बाबुरामजीले आफैले खण्डित गरेर हिँड्नुभयो । स्वाभाविक रुपमा उहाँमाथि मात्रै होइन उहाँको टिमको पनि विश्वसनीयता रहेन । जब उहाँसँग विश्वास हुँदैन आम कार्यकर्ता नरहने स्थिति बनिहाल्यो । जस्तो उहाँले माओवादी छोडेर गएपछि उनकै टिममा लामो समय साथ दिएका नेताहरू गएनन् । नयाँ शक्ति बनाएपछि उहाँसँग रहेका केही नेताहरू लामो समय टिकेनन् । उहाँको कुरामा विश्वास गर्न सकेनन् । 

अहिले जसपाको जुन ठाउँमा थिए , त्यहाँ बाबुरामको सारै औचित्य भए जस्तो जनमतमा देखिएन । जस्तो जसपाको स्थानीय चुनावमा बाबुरामको प्रभावबाट चुनाव जितेको क्षेत्र छैन । त्यस विषयमा जसपाभित्र उनको आफ्नै मूल्याङ्कन हुने नै भयो । उहाँको वैचारिकता पनि खण्डित हुन पुग्यो । अन्तिममा सांगठनिक क्षमता रहेनछ भन्ने पुष्टी भयो । उहाँमा करिस्मा पनि छैन भन्ने देखापर्‍यो । यी तीन कुराले उहाँलाई राजनीतिबाट बाहिरिन बाध्य बनायो ।

उहाँ फकेर माओवादीमा आउँदा विश्वस्नीयता बाँकी रहँदैन । किनभने उहाँले माक्र्सवाद, लेनिनवाद माओवाद सबै पुराना भइसके भनेर निस्कनु भएको थियो । यसको औचित्यता छैन भनेर धेरै पटक भनिसकेकाले माओवादीमा आउने सम्भावना छैन । काँग्रेसमा उहाँ जान सक्नुहुन्छ जस्तो लाग्दैन । किन भने काँग्रेसमा नयाँ प्रतिस्पर्धीहरू जन्मिसकेका छन् । उहाँलाई त्यहाँ ठाउँ हुन्छ जस्तो लाग्दैन । एमालेमा पनि केपी ओलीसँग धेरै पटक टसल भइसकेकाले सम्भवना देखिँदैन । अर्को कुरा एमालेमा पनि नयाँ नेतृत्व आइसकेको छ । त्यहाँ जान सक्ने अवस्था छैन । नयाँ शक्ति बनाएर जान सक्ने अवस्था छैन । त्यो नयाँ शक्ति बनाउँदा यस अघि नै पुष्टी भइसकेको छ । बुद्धिविलास गरेर, लेख पढ गरेर बसे पनि भयो । रिटार्यड जीवन बिताउँछु भन्दा राम्रो हुन सक्छ ।

श्रम वर्गको प्रतिनिधित्व गर्ने पार्टी बनाए औचित्य छ

श्याम श्रेष्ठ, नागरिक आन्दोलनका अगुवा

यो देशको रुपान्तरण गर्न पार्टी गठन गरेमा बाबुरामको त्यस्तो खालको पार्टीको उपादेयता हुन सक्छ । अहिले भइरहेका पार्टीहरूमा एक थान पार्टी थप्ने हो भने त्यसको कुनै औचित्य भएन । त्यसले नेपालमा कुनै अर्थ राख्दैन । नेपालमा चाहिएको तल्लो वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । अहिले भएका प्रायः सबै पार्टीहरूले मध्यम वर्गको मात्रै प्रतिनिधित्व गर्छन् । तल्लो वर्गको प्रतिनिधित्व गर्ने पार्टी बाबुरामले बनाउन सकेमा सम्भावना छ ।  नेपालमा गरिखाने वर्ग झण्डै ७० प्रतिशत छ ।  अहिले बनेका पार्टीहरूले ३० प्रतिशतको मात्रै प्रतिनिधित्व गरी राखेका छन् । बाबुरामजीले ७० प्रतिशतलाई प्रतिनिधित्व गर्ने पार्टी बनाउन सक्नुहुन्छ ? उहाँले बनाउन कस्सिने हो भने त्यसको अर्थ हुन सक्छ ।

पार्टी बनाउने उमेरले होइन, सोच र दृष्टिकोणले हो । यसो भन्नलाई भन्यो भने उहाँको रिटायर्ड जीवन बाँच्ने अवस्था हो । अहिले भएका सबै नेताहरू रिटायर्ड हुनुपर्ने हो । त्यो हिसाबले उहाँपनि रिटायर्ड हुनुपर्ने हो । यदी पार्टी बनाउनु हुन्छ भने ७० प्रतिशत तल्लो वर्गको प्रतिनिधित्व गराउने पार्टी बनाउनुभयो भने त्यसको अर्थ छ । नभए उहाँ रिटायर्ड भएर बसे हुन्छ । रिटायर्ड भएपछि व्यक्तिगत जीवन जसरी बिताए पनि भयो । बाबुरामजी मात्रै नयाँ शक्ति बनाउँदा असफल हुनुभएको होइन । अहिले भएका सबै दलहरू असफल भएका हुन् । संविधानमै भएको व्यवस्था दलहरूले गरेर देखाउन सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप