सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा करार कर्मचारी आन्दोलन प्रकरणमा आरोप प्रत्यारोप सुरु

सत्यतथ्य कुरा बाहिर ल्याउने गरी छानबिन गर्न कर्णालीका कानुन मन्त्रीको निर्देशन
आइतबार, ०१ साउन २०७९, १६ : ४५
आइतबार, ०१ साउन २०७९

शुक्रबार साँझ दैलेखको गुुराँस गाउँपालिकाको गुराँसेमा गोली चल्यो । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर प्रदर्शन भएपछि त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप नै भयो । घटनाले उग्र रुप लिन थालेपछि प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।

साउन १ गतेदेखि करार कर्मचारीको म्याद नथप्ने गाउँपालिकाको निर्णयपछि करार कर्मचारी आन्दोलित बनेका थिए । आन्दोलनमा सहभागीहरु उग्र बनेपछि गोली चलाएको दैलेखका प्रहरी नायब उपरीक्षक भूवनेश्वर प्रसाद साहले बताए ।

गोली लागेर भवानी प्रसाद भट्टराई र बखत बहादुर खत्री घाइते भएका छन् । खत्री कर्मचारी हुन् । यस्तै आठ जना प्रहरी पनि सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते दुवै जनाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।  उनीहरुको उपचार खर्च गुराँस गाउँपालिकाले बेहोर्ने भएको छ ।

प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले गाउँपालिकाको संरचनालाई तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले बताए । उनका अनुसार अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष, सहायता कक्ष, सभागृह तथा विश्राम केन्द्रमा ढुङ्गामुढा गर्दा ठुलो क्षति हुनका साथै नजिकै रहेको प्रहरीबिटमा समेत तोडफोड गरिएको छ ।

अध्यक्ष बिसीले भने, ‘पालिकाको भौतिक संरचनामा क्षति, पालिकाको भवन तोडफोड भएकाले सेवा–प्रवाहमा बाधा पुगेको छ ।’ गाउँपालिकाको आन्तरिक श्रोतले नभ्याउने भएपछि करार कर्मचारी हटाइएको पालिकाका प्रवक्ता दीपेन्द्र ओलीको भनाइ  छ ।

पूर्व अध्यक्ष ओलीमाथि लाग्यो षड्यन्त्रकारीको आरोप

शुक्रबारको घटनालाई राजनीतिकरण गर्न थालिएको छ । गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेसका जिल्ला सचिव खेमराज ओलीमाथि गाउँपालिका कार्यालयले गम्भीर आरोप लगाएको छ ।

उनै ओलीको योजनामा घटना भएको पालिका अध्यक्ष बिसीको दाबी छ । ओलीले पालिकाका नायब सुब्बा कर्ण थापाको सहयोगमा पालिकाको रकम हिनामिना गरेको आरोपसमेत लागेको छ । शुक्रबार घटना भएको दिनमा भने थापा बिदामा थिए ।

ओली स्थानीय तह चुनावमा एमालेका टोप बहादुर बिसीसँग पराजित भएका थिए । बिसीले भने, ‘पालिकाले गरेका राम्रो कामको सुरुवातलाई असर पु¥याउन र चुनावमा हारको प्रतिशोध साँध्न ओलीकै सपोर्टमा आन्दोलन भएको हो ।’

करारका कर्मचारीले आफूहरुलाई ज्ञापनपत्र दिएको र छलफलको तयारी भइरहेको समयमा पूर्व अध्यक्ष ओली लगायतको टोलीले राजनीतिक ढंगबाट आन्दोलनलाई चर्को रुप दिएको उनको आरोप छ ।

दुई महिनामा १० गल्ती भए : पूर्व अध्यक्ष ओली

आफूमाथि गम्भीर आरोप लागेपछि पूर्व अध्यक्ष खेमराज ओलीले प्रष्टीकरण दिएका छन् । ‘अनजानमा केही गल्ती कमजोरी भए होलान्, सामान्य कुरामा प्रतिशोध साँधेर नेतृत्व अगाडि नबढौं, मेरो रिसले कर्मचारीमाथि अन्याय नगरौँ,’ उनले भने ।

ओलीले समय सधैँ आफ्नो पक्षमा नहुने बताउँदै पालिका अध्यक्ष बिसीले नेतृत्व सम्हालेको दुई महिनामै १० गल्ती भएको आरोपसमेत लगाए ।

घटनाको छानबिन गर्न समिति गठन

शुक्रबार भएको घटनालाई लिएर जिल्लास्तरमा छानबिन समिति बनेको छ । शनिबार पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालको संयोजकत्वमा गठित समितिमा जिसस दैलेखका निमित्त जिल्ला समन्वय अधिकारी भक्तबहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दील बहादुर चौधरी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा र सदस्यसचिवमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा छन् । समितिले १५ दिनभित्र प्रतिवेदन तयार पारेर जिल्ला समन्वयमा पेस गर्नुपर्ने छ ।

सत्यतथ्य छानबिन गर्न कर्णालीका कानुन मन्त्रीको निर्देशन

घटनाले राजनीतिक रुप लिएपछि आइतबार कर्णालीका कानुन मन्त्री हिमबहादुर शाही गुराँसे पुगेका छन् । उनीसँगै दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, डीएसपी भूवनेश्वर साह पनि गुराँसे पुगेका थिए । उक्त टोलीले घटना उच्छृङ्खल भएको बताएको छ । कानुन मन्त्री शाहीले घटना अराजक देखिएको भन्दै कुनै पनि हालतमा स्वीकार्य मान्न नसकिने तर्क गरे ।

छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए । साथै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन सरोकारवाला निकायलाई निर्देशन समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप