शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड दिल्ली उडेपछि नेपालमा ‘वाममोर्चा’ बनाउने असफल प्रयास !

आइतबार, ०१ साउन २०७९, १६ : १९
आइतबार, ०१ साउन २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण सकेर आज आइतबार स्वदेश फर्किँदैछन् । पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार भारत भ्रमणमा निस्केका प्रचण्ड आइतबार साँझ स्वदेश फर्कन लागेका हुन् । तर, प्रचण्ड भारत भ्रमणमा निस्केलगत्तै नेपालमा भने वाम पार्टीहरूको ‘मोर्चा’ गठन गर्ने विशेष  प्रयत्न भएको खुलासा भएको छ । त्यसका लागि एमालेका महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अग्रसरता देखाएको बुझिएको छ ।

‘एमालेका बरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल तथा माओवादीका नेता नारायणकाजी श्रेष्ठबीच मोर्चा बनाउन प्रयत्न गरेको बुझिएको छ’, एमालेका एक पदाधिकारीले रातोपाटीसँग भने, ‘उहाँहरूबीच सामान्य कुराकानी भएपनि त्यो प्रयत्न असफल भैसकेको छ, जुन कुरा शनिबार नै पुष्टि भैसकेको छ ।’

त्यसो त माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ वाम एकता वा वाममोर्चा बनाएर भएपनि कम्युनिस्ट पार्टीबीच नै सहकार्य गर्नुपर्छ भन्ने पक्षमा उभिँदै आएका नेता हुन् । त्यसका लागि श्रेष्ठले बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै प्रयत्न नगरेका भने होइनन् । उनले राष्ट्रिय सभा बैठकमै वाम एकताको आवश्यकता रहेको भन्दै नेतृत्वको ध्यानाकर्षण समेत गराएका थिए । गत पुसमा सम्पन्न नेकपा माओवादीको आठौँ महाधिवेशनपछि कुनैपनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता र सामान्य प्रतिक्रिया समेत नदिएका श्रेष्ठले गत जेठ ३० गते एमाले अध्यक्ष ओलीलाई भेटेर वाम एकताका लागि पहल गरेका थिए । यद्यपी ओलीसँगको भेटवार्तामा वाम गठबन्धन वा पार्टी एकताबारे कुनै छलफल नभएको दावी श्रेष्ठले गर्दै आएका छन् ।

काँग्रेससँगको गठबन्धन तत्कालिन समय (संसद विघटनका बेला)मा आवस्यक भएपनि पछिल्ला दिनमा गठबन्धन र गठबन्धनको सरकारका कामकारवाहीप्रति सन्तुष्ट हुन नसकेका नेता श्रेष्ठले शनिबार काठमाडौमा भएको एक कार्यक्रममा सके कम्युनिस्ट एकता नभएपनि आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । एमाले अध्यक्ष केपी ओली समेत सहभागी उक्त कार्यक्रममा श्रेष्ठको प्रस्तावलाई ओलीले भने ठाडै अस्वीकार गरे । ओलीले देशमा वामपन्थी पार्टीहरू अरु पनि भए काँग्रेसको पुच्छर बन्न छोड्न चुनौति नै दिए । यसरी एउटै मञ्चबाट श्रेष्ठले राखेको एकताको प्रस्ताव ओलीले ठाडै अस्वीकार गरेपछि आगामी मंसिरमा हुने निर्वाचनअघि वाम एकता वा तालमेलको सम्भावना टरेको एमाले–माओवादी नेताहरुको बुझाइ छ । यही बुझाई अनुसार माओवादी नेता श्रेष्ठले आइतबार ओलीको अहंकारले वाम एकतामा ठेस लागेको प्रतिक्रिया दिए ।

‘मैले आत्मालोचक भई वाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन अपील गर्दा समेत हलमा उपस्थित श्रोता सहभागी हरुले कर्तलध्वनीका साथ ताली बजाएर समर्थन गर्नु भएको थियो । तिनै श्रोता सहभागीहरुले क.ओलीले अहंकारको प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाउनुभयो । यसले वाम तालमेल र एकतालाई सहयोग पुर्याउँछ त ? पु–याउँदैन । हामी कहिले सच्चिने होला ? गम्भीरतापूर्वक सोचौं’, सामाजिक सञ्जाल फेसबुकमा आइतबारको प्रसंग उल्लेख गर्दै श्रेष्ठले भनेका छन् ।

गठबन्धन भत्काउने ओलीको अर्को प्रयास

संसद विघटनपछि आफ्नो सरकार ढालेर बनेको ५ दलीय सत्ता गठबन्धनप्रति ओली रुष्ट छन् । गठबन्धनप्रति सकारात्मक नभएकै कारण उनले पछिल्लो समय कहिले गठबन्धन सरकारलाई सतीदेवीको अंगसँग तुलना गर्ने त कहिले यो सरकार रहिरहे मुलुकको अर्थतन्त्र श्रीलंकाको भन्दा कमजोर हुने टिप्पणी गर्दै आएका छन् । घोषित नीति अनुसार नै गठबन्धन भत्काउन लागि परेका ओलीले एकातिर सरकार र गठबन्धनप्रति वितृष्णा फैलाउने र अर्कोतिर आफु निकटका नेताहरुलाई एमाले र माओवादीसँग निरन्तर वार्ता गर्न खटाइरहेका छन् ।

आगामी निर्वाचनसम्मै गठबन्धन अघि बढाउने प्रयासमा सत्ता साझेदार दलहरु लागेको बुझेका अध्यक्ष ओली नयाँ नयाँ प्रलोभन र आश्वासन दिन पछि पर्दैनन् । सोही योजना अनुसार शनिबार पनि उनले नयाँ प्रस्ताव अघि बढाएका छन् । ओलीको नयाँ प्रस्ताव छ–‘गठबन्धन भत्काऔँ र चुनावी सरकार बनाऔं ।’

तर ओलीको प्रस्तावमा वाम पार्टीहरू लोभिने सम्भावना नरहेको नेताहरु बताउँछन् । माओवादी केन्द्रका नेता लीलामणि पोखरेल निर्वाचनअघि वाम एकता, वामहरुको मोर्चा अथवा राष्ट्रिय सरकार बन्ने कुनै सम्भावना नरहेको बताउँछन् । त्यसो गरिए आफुहरु नीतिविहिनताको अवस्थामा पुग्ने पोखरेलको बुझाई छ ।

‘अहिले त्यसो गर्न थाल्यो भने हामी नीति विहिनताको अवस्थमा पुग्छौ’, पोखरेलले भने, ‘पेण्डुलम किन हुने ?’ तर वामपन्थीहरुको एकता नभई समाजवादी कार्यदिशा लागु हुन नसक्नेमा आफु प्रस्ट रहेको बताए ।

‘सैद्धान्तिक र दीर्घकालिन रुपले म प्रस्ट छु । वामपन्थीहरुको एकता नभई समाजवादी कार्यदिशा लागु हुन सक्दैन । तर समाजवादी कार्यदिशा लागु गर्न काँग्रेससँग गठबन्धन गरेको होइन’, पोखरेलको भनाइ छ ।

उनले संविधान बचाउन र निर्वाचित जनप्रतिनिधि संस्थाको रक्षाका निम्तिमात्रै काँग्रेससँग गठबन्धन गरिएको बताए । ‘त्यसैले अगामी चुनावसम्म यही गठबन्धन अघि बढ्छ र यसको कोर्ष पनि पुरा हुन्छ’, पोखरेलले त्यसपछि मात्रै वामहरुको मोर्चा वा एकता हुनसक्ने बताए ।

यसअघि अव हुने संसदीय निर्वाचन एमाले एक्लै जितेर सरकारको नेतृत्व गर्ने बताउँदै आएका ओलीले वामपन्थी पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने कुरा गर्नुलाई पनि पोखरेलले ओलीको पुरानै बानीको संज्ञा दिए । ‘त्यो अल्मल्याउने, लोभ्याउने उहाँको पुरानै बानी हो, त्यसमा हामी फस्नुहुँदैन’, पोखरेलको सुझाव छ ।

‘राफसाफ कुरा गरौं, कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, काँग्रेस विरोधी होइन, देश र राष्ट्रियताका पक्षमा काम गर्ने सरकार बनाऊँ’ शनिबार काठमाडौमा नेपाल चीन हिमालय मैत्री समाजले गरेको ‘नेपालको भूराजनीतिक अवस्था, चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए ।

‘देशभरि सुनिने गरी फेरि एकपटक भन्न चाहन्छु –बर्को छोडौं, असली रूपमा आऊँं,  कोही  वामपन्थी हुनुहुन्छ भने एकताका लागि आउनुस्’, अध्यक्ष ओलीको भनाइ थियो । त्यसक्रममा अध्यक्ष ओलीले माओवादी र एकीकृत समाजवादीलाई काँग्रेसका पुच्छर नबन्न सुझाव समेत दिएका थिए । सोही कार्यक्रममा वक्ताका रुपमा उपस्थित नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विगतका गल्ती कमजोरी र पार्टी एकता जोगाउन नसकेकोप्रति सवैले आत्मालोचना गर्दै तत्काल पार्टी एकता नभए पनि चुनावी तालमेल गरेर अघि बढ्न सकिने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप