बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

टेकुमा आफ्नै पम्प सञ्चालन गर्दै निगम, खुद्रा बिक्रीमा उपस्थिति बढाउँदै

आइतबार, ०१ साउन २०७९, १५ : ०३
आइतबार, ०१ साउन २०७९

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पहिलोपटक आफ्नै पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले टेकुमा अत्याधुनिक सेवासहितको पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो । यस पम्प निर्माण गर्नका लागि टेण्डर आह्वान भइसकेको छ ।

काठमाडौं उपत्यकामा करिब १०० वटा पेट्रोल पम्प छन् । जसमध्ये सरकारी र सहकारीले सञ्चालन गरेका पम्पको संख्या १२ वटा छन् । यसमा साझा, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले सञ्चालन गरेका पम्प छन् ।
यसबाहेक, उपत्यकामा सञ्चालित सबै पम्प निजी क्षेत्रबाट सञ्चालित रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले निगमले पहिलोपटक काठमाडौं उपत्यकामा आफ्नै पेट्रोल पम्प सञ्चालनमा ल्याउने गरी निर्माणको ठेक्का आह्वान गरेको बताए ।

यसअघि, निगमले भैरहवा र नेपालगञ्जमा पनि आफ्नै पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । ‘निगमले विस्तारै पेट्रोलियम बजारमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको छ,’ उपाध्यायले भने, ‘सोहीअनुसार, सात वटै प्रदेशमा कम्तिमा १/१ वटा पम्प सञ्चालन गर्छौं ।’

यसअघि, पेट्रोलियम व्यवसायीहरू देशव्यापी हड्तालमा उत्रिएर सेवा अवरुद्ध गरेको समयमा निगमका पम्पहरूले निर्वाध सेवा दिइरहेका थिए । सोहीकारण, पेट्रोलियम पदार्थको बिक्री गर्ने पम्पकारूपमा सरकारी र सहकारी तथा निगमका पम्पहरू चाहिने देखिन्छ । सरकारी वा सरकारी निकाय तथा सहकारीको लगानीमा सञ्चालनमा रहेका पम्पहरूले हड्तालका नाममा सेवा अवरुद्ध पार्दैनन् ।

 निगमले यही असार ३१ गते पम्प निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । आह्वान भएको सूचनाअनुसार २४ सै घन्टा सेवा दिन सक्नेगरी पम्प बनाउनुपर्ने छ । काठमाडौं उपत्यकामा दैनिक ७ लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल बिक्री हुँदै आएको छ ।

यसस्थानमा नेशनल ट्रेडिङ कर्पोरेसनले २०६५ वैशाख १९ गतेदेखि पम्प सञ्चालन गर्दै आइरहेको थियो । कर्पोरेसनले साढे २ रोपनी जग्गामा सञ्चालन गरिरहेको पम्प २०७१/७२ सालमा निगमले जग्गा किनेपछि भने बन्द थियो । तत्कालिन समयमा निगमले टेकुमा ५२ रोपनी जग्गा खरिद गरेको थियो । 

नेपाल सरकारको निर्णयअनुसार खरिद गरिएको जग्गामध्ये पुनः सरकारको निर्णयसँगै १० रोपनी जग्गा नेपाल प्रहरीलाई बेचिएको थियो । निगमले आफ्नो नाममा बाँकी रहेको ४२ रोपनी जग्गामा (बागमती नदी छेउमा) अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेको हो ।

‘कर्पोरेसनले साढे २ रोपनी जग्गामा पम्प सञ्चालन गरेको थियो । तर, निगमले उक्त जग्गा किनेपछि भने पम्प बन्द थियो,’ उपाध्यायले भने, ‘अब भने पहिला पम्प रहेकै स्थानमा ५ रोपनी जग्गा क्षेत्रफलमा अत्याधुनिक पम्प सञ्चालनमा आउने भएको हो ।’ 

प्रवक्ता उपाध्यायका अनुसार निगमले सञ्चालनमा ल्याउने पेट्रोल पम्प नेपालकै अत्याधुनिक हुनेछ । यसबाट सेवाग्राहीले पूर्ण स्वचालितरूपमा सेवा पाउनेछन् भने आगो निभाउने अत्याधुनिक मेसिन समेत जडित हुने छ । यसका साथै, सेवाग्राहीले कार्ड स्वाप गरेर समेत यस पम्पबाट पेट्रोल तथा डिजेल हाल्न पाउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप