किन हुन्छ धनाढ्य भन्दा भिखारी सुखी ?
यो लेखको प्रारम्भ खुशीको प्रसंगबाट सुरुवात गर्न उचित ठान्दछु । गौतम बुद्ध एकदिन कुनै नदीको किनारै किनार आफ्ना शिष्यहरुसँग कुनै स्थानतर्फ जाँदै थिए । नदीको किनारामा ८/१० जना केटाकेटीहरु माटोको घर बनाउने खेल खेलिरहेका थिए । यो देखेर गौतम बुद्धले आफ्ना शिष्यहरुसँग भने, आउ यो रुखको छहारीमा बसौं र यिनीहरुको खेलको आनन्द लिऊँ । आज तिमीहरुले एउटा महत्वपूर्ण शिक्षा पनि प्राप्त गर्नेछौ ।
गौतम बुद्ध शिष्यसहित रुखको छहारीमा बसेर बच्चाहरुको खेलको आनन्द लिइरहेका थिए । यत्तिकैमा घर बनाइरहेको एक बालकले झुक्किएर अर्को बालकको माटोको घर कुचिदिन पुग्छ र उसको घर भत्कन्छ । जुन बालकको घर भत्कन्छ, उसले अर्को बालकसँग मेरो घर तैंले किन भत्काइदिइस् भनेर झगडा गर्न थाल्दछ र झगडा विस्तारै अघि बढ्दै जाँदा कुटाकुटको अवस्थासम्म आइपुग्छ ।
एकजना बच्चाले झगडा गरिरहेका बुवा आमासम्म यो खबर पुर्याउँछ । बुवाआमा आएपछि केटाकेटीले झगडाको कारण बताउँछन् । यसको दोष र उसको दोष भनेर बुवाआमाको बीचमा समेत झगडा हुन थाल्दछ । कुरा गाउँको मुखियासम्म पुग्छ, मुखिया आउँछन् । घटनास्थलमा पञ्चायत जुट्छ गाउँको ।
दुवै केटाकेटी फरक फरक समुदायका भएकाले झगडा सामुदायिक बन्न पुग्दछ । यत्तिकैमा मुखियाले घर भत्काएका केटाकेटीले एक अर्काको घर बनाइदिनुपर्ने भनी फैसला सुनाउँछन् । धेरै तनाव र थोरै सहमतिका बीचमा सबैको माग सम्बोधन भएको महसुस गर्दछन् झगडालु पक्षले, झगडा साम्य हुन्छ । केटाकेटीले फैसला अनुसारले नै एक अर्काको घर बनाइदिन्छन् र पुनः खेल्न थाल्छन् ।
आकाशमा विचरण गरिरहेका सूर्यदेव विस्तारै पश्चिम दिशातर्फ लालिमा छर्दै अस्तको संकेत गर्दछन् र सबै केटाकेटीका बुवाआमा अभिभावकले रात परिसक्यो घर फर्क भनेर तिनलाई बोलाउँछन् । दिनभर घर बनाएका, घर भत्केका कारण झगडा परेका सबै बालबच्चाहरु मिलेर साँझपख एकअर्काले बनाएको घर भत्काउँदै, रमाउँदै, उत्सव मनाउँछन् । घर बनाउनमा गरेको रमाइलो भन्दा बढी सबैको घर लात्ताले, हातले, सुतेर, उफ्रेर भत्काउँदा रमाइलो लाग्छ उनीहरुलाई ।
यो सब घटनापछि गौतम बुद्ध भन्छन्, घर भत्काउनुको घटना उस्तै थियो तर पहिलो घर भत्काइले दुःख दियो र दोस्रो घर भत्काइले खुशी । दुःख र सुखको एउटै कारण हो स्वीकार्यता । जीवनमा विविध घटना आइपर्छ तर घटनाप्रति हेर्ने दृष्टिकोणले मानिसलाई खुशी वा दुःखी बनाउने कार्य गर्दछ । म त यति जान्दछु एउटा खुशी ढोकाबाट निस्कन्छ भने हजार खुशीहरु झ्यालबाट तिम्रो घरमा छिर्दछन् । आवश्यक छ त मात्र केही नसोंची ती खुशीलाई आफूभित्र समाहित गर्नु ।
स्वतन्त्रता
कुनै दिन गौतम बुद्ध आफ्ना शिष्यहरुको साथमा बाटोमा हिँड्दै थिए । परबाट एउटा किसान बाच्छोलाई डोरीले बाँधेर जबरजस्ती अत्यन्त बलपूर्वक तान्दै आइरहेको थियो । यो दृष्य देखेर गौतम बुद्ध आफ्ना शिष्यहरुसँग सोध्छन्, हेर त को स्वतन्त्र छ ? बाच्छो वा बाच्छोलाई तानिरहेको मानिस ?
सबै शिष्यहरु एक स्वरमा भन्छन्, ‘अवश्य पनि त्यो मानिस ।’ यत्तिकैमा गौतम बुद्धले बाच्छोलाई बाँधिएको डोरी काटिदिन्छन् । बाच्छो तत्क्षण बुर्कुसी मारेर त्यहाँबाट भाग्छ । उक्त मानिस गौतम बुद्धलाई गाली गर्दै बाच्छोको पछि पछि कुद्छ । अनि बुद्ध भन्छन्, बाहिरी रुपमा बाच्छो बाँधिए तापनि भित्रबाट उ स्वतन्त्र थियो । मानिस बाहिरबाट स्वतन्त्र देखिए पनि भित्रबाट बाच्छोसँग बाँधिएको थियो । यहाँ स्वतन्त्र मानिस होइन, बाच्छो छ ।
यसै सन्दर्भमा म बुटवल, गोलपार्क बस्दाको एक घटना वर्णन गर्न चाहन्छु । गोलपार्क माथिको डाँडामा होटल बनाउनको लागि सामान ओसार्न म बस्ने कोठाभन्दा केही पर मेरो साथीले खच्चरहरु राखेको थियो । एक पटक डाँडामा सामान पुर्याएर फर्कने क्रममा रात परेछ र दुर्भाग्यवस उसको एउटा खच्चर रातको समयमा कहीँ कतै हराएछ ।
भोलिपल्ट उसले हामीलाई खच्चर खोज्न डाँडामा जाऊँ भनेर अनुरोध गर्यो । र, हामी सातजना साथीहरु मिलेर डाँडा चढ्यौ, दिनभरी खच्चर खोज्यौँ तर कतै फेला पारेनौ । अनि निराश भएर घर फक्र्यौ । तर हाम्रो आशा विपरीत उनकी श्रीमतीले हामीलाई खबर सुनाइन् कि खच्चर त हामीभन्दा पहिला नै घर फर्किसकेको रहेछ ।
खच्चर भाग्न पनि सक्थ्यो तर भागेन । यदि कोही स्वतन्त्रताको अवसर पाएर पनि परतन्त्र हुन चाहन्छ भने हजारौँ अवसर मिलुन्, उ त्यसको सदुपयोग गर्न सक्दैन । यस्तै प्रकारको घटना मरुभूमिमा पनि हुन्छ । मरुभूमिको मालवाहक सवारी साधन हो उँट । कैयौँ दिनसम्म एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा उँटलाई मरुभूमिमै रात विताउने पनि वाध्यता आइपर्छ । त्यस समयमा उँट धनीले उँट बाँधिदिएको डोरी पर लगेर हँथौडाले ठोकेझैँ गर्छ । उँटलाई यो भ्रम पर्छ कि म कुनै खुँटोमा बेस्सरी बाँधिएको छु । उ केही चलमल नगरीकनै त्यत्तिकै बसी नै रहन्छ । उ भाग्न पनि चाहन्न, भाग्ने चेष्टा पनि गर्दैन । त्यसैले यदि कोही स्वतन्त्र बन्ने प्रयास नै गर्दैन भने उ स्वतन्त्र बन्न पनि सक्दैन ।
मानव परापूर्वकालदेखि नै आफूलाई स्वतन्त्र मान्दै आएको थियो र आजसम्म पनि स्वतन्त्र नै मान्दछ । तर हामीलाई त्यस समयमा उम्कन सजिलो थियो, जब हामी यो सोँच्दथ्यौँ हामी परतन्त्र छौँ । जब मनमा यो निश्चय हुन्छ कि हामी परतन्त्र छौ, तब स्वतन्त्रता पाउनु कुनै दुसाध्य कुरा होइन । तर यसको विपरीत हामी परतन्त्रता नै स्वतन्त्रता हो भन्ने ठान्छौ लाखौँ वर्ष बितुन्, हामी स्वतन्त्र हुन सक्दैनौ ।
नोवाल युवा हरारी आफ्नो पुस्तक सेपियन्समा उल्लेख गर्छन्, कृषि क्रान्ति र औद्योगिक क्रान्तिको प्रभावले प्राप्त उपलब्धि तथा विकासले हामीलाई अन्न र जनावरहरुलाई आफ्नो अधीनमा राख्ने बनायौं । उनीहरुको अनि हामी स्वतन्त्र भएको सोंच्यौं तर वास्तवमा जंगलमा स्वतन्त्र विचरण गर्दै मौसम अनुसारका फलफुलहरु खाँदै देश देशावर डुल्दै गरेका हामी अन्न र जनावरको सेवक बन्न पुग्यौं । अन्न र जनावरकै वंश विस्तार, नश्ल सुधार आदिमा लाग्यौं । उनीहरुले हामीलाई पराधीन बनाए र मानव सभ्यता रहुञ्जेल हामी पराधीन नै रहनेछौं ।
शक्ति र पावर
सम्राट अशोकले कलिङ्गको युद्धपछि भएको रक्तपात र रोदन देखेपछि विरक्तिएर बुद्ध मार्ग अपनाएका थिए । कुनै बेला ससानो निहुँमा समेत आफ्ना सहयोगी दास दासीहरुलाई तरवारले काटिदिने उनी शान्तिको दूत बन्न पुग्दछन् ।
सम्राट अशोक नै ती व्यक्ति थिए, जसले बौद्ध दर्शनलाई विश्वसामू चिनाउन महत्वपूर्ण योगदान गरेका थिए । उनको बौद्ध भिक्षु र आश्रमहरुप्रति निकै लगाव थियो । लगभग आफ्नो साम्राज्यभित्र रहेका सबै आश्रमहरुमा आर्थिक र भावनात्मक सहयोग उनी निरन्तर गरिरहन्थे ।
समय क्रममा सम्राट अशोकको राज्य विस्तारै कमजोर हुँदै गयो अनि उनले सहयोग गर्ने आश्रमको संख्या पनि बिस्तारै घट्दै गयो । पछि उनी राजा रहेनन् । आफ्नो भागमा परेको सामग्रीले आश्रमलाई सेवा गर्दै गए । उनले खाने सुनको थाल पनि कुनै आश्रमलाई दान गरे र आफूले पातमा खान थाले । उनी मृत्यूशैयामा पुग्दा उनलाई मनपर्ने फल मध्येको एउटा अमला मात्र थियो उनको साथमा । त्यही अमला पनि आधा आफूले खाए, आधा आश्रमलाई दान दिए अनि मृत्यूवरण गरे ।
शक्ति स्थायी र निरन्तर रहँदैन, निरन्तर ह्रास हुनु शक्तिको सिद्धान्त नै हो । हामीलाई अथाह शक्तिले भरीदिने सूर्य त स्वयंले निरन्तर आफ्नो शक्ति गुमाउँदै छ । निरन्तर सूर्यमा हुने हाइड्रोजनको पारमाणविक विष्फोट न सूर्यको शक्तिको कारण हो । निरन्तर सूर्यको साथमा रहेको हाइड्रोजन सकिँदैछ । एक दिन सूर्यको चम्किने शक्ति आफ्नै गुरुत्वबलसँग हार खान्छ र आफैंभित्र भाँसिएर ब्ल्याक होल वा न्यूट्रन स्टार यस्तै केही बन्न पुग्छ र सबै ताराहरुमा यो प्रक्रिया जारी रहन्छ ।
एक दिन सबै तारा, आकाशगंगा, ब्ल्याकहोल, न्यूट्रन स्टार, ग्रह उपग्रहरु एक अर्कामा ठोकिन पुग्छन्, एक अर्कामा समाहित हुन पुग्छन् अनि फेरी जुन स्थानबाट यी सबको उत्पत्ति भएको थियो, त्यहीँ पुग्छन् । त्यो स्थान हो, एउटा विन्दु हाम्रो डटपेनको पिन टप भन्दा पनि अरबौ गुना सानो बिन्दु । सबै टुङ्गिन्छन् सिङ्गुलारिटी एउटा एटममा असीमित गुरुत्वबल र असीमित घनत्वमा ।
त्यही सानो बिन्दुमा रहेको असीमित शक्तिले उत्पन्न भएको ब्रह्माण्डका कुनै आकाशगंगाका कुनै ताराको वरपर चक्कर लगाइरहेका ग्रहको धेरै प्राणीहरुमध्ये एक मानव हामी । आजभन्दा १३.७ बिलियन वर्षअ घि बिगब्याङ्गको बिष्फोट नभएको भए हामी के हुन्थ्यौं होला । अबको ३०÷४० वर्षपछि हामी के हुन्छौं होला, कति शक्ति रहन्छ होला ? धनको, शरीरको अनि हाम्रो मष्तिष्कले हामीलाई उच्च मान्ने उच्चताको उन्माद कहाँ जान्छ होला ?
महाभारतको युद्धमा धेरै महारथीहरुको मृत्यूपश्चात कौरवको तर्फबाट कर्ण सेनापति बन्छन् । युद्धकै क्रममा दानवीर कर्ण पनि अर्जुनको तीरले घाइते भइ जमिनमा बजारिन पुग्छन् । कर्ण साधारण मानव थिएनन्, उनको यो दुःखद अन्त्यमा स्वयं कृष्ण पनि दुःखी हुन्छन् ।
कृष्णले मृत्युको नजिक रहेका कर्णसँग सोध्छन्, ‘भन कर्ण तिम्रो आखिरी इच्छा के छ ?’
कर्ण भन्छन्, हे कृष्ण, म यो युद्धको पक्षधर कदापि थिइन । मलाई युद्धको रक्तपात मन पर्ने पनि होइन तर परिस्थितिहरु यसरी मोडिन पुगे, मैले रक्तपातको बाटो चयन गर्नुपर्यो । मृत्यू हुने समयमा म यो युद्धभूमिमा छु, जहाँ म कदापि रहन चाहन्नथें । त्यसैले कृष्ण म मरेपश्चात यस्तो स्थानमा मेरो दाहसंस्कार गरिदिनु, जहाँ अहिलेसम्म कुनै मानिसको मृत्यू नभएको होस् ।
कृष्णले आफ्नो ध्यान दृष्टिले सम्पूर्ण पृथ्वीमा हेर्छन्, मानिस नमरेको स्थान फेला पार्दैनन् । तर अचम्म कुरुक्षेत्र जहाँ १८ अक्षौहिणी सेना र महारथीको मृत्यू भएको थियो, त्यो स्थानमा एक बित्ता जमिन खाली रहेको हुन्छ । जहाँ कसैको रगत मुछिएको हुँदैन, त्यही स्थानमा कर्णको दाहसंस्कार हुन्छ । तपाईं हामीभन्दा पहिला यहाँ कैयौं महारथी तथा राजा रजौटा र शक्तिकेन्द्र मानिने व्यक्ति र सन्यासी सिद्धपुरुष मरिसकेका छन् । शक्ति गुमाएर माटो र बालुवामा खरानी नजाने के के भैसकेका छन् ।
सञ्चय
कुनै देशमा निकै धनाढ्य व्यक्ति हुन्छन् । धनकै कारणले अन्य देश एवं आफ्नै देशका व्यक्ति राजपरिवारसम्ममा पनि उनको निकै ख्याति थियो । चन्दनको बिस्तरामा पल्टेर मखमली तन्नामा बस्दै गर्दा उनको मनमा विचार आउँछ, मेरो सम्पत्ति कति होला ? मेरा कति पुस्ताले यो सम्पत्तिले दिने ऐश आराम गर्न उपभोग गर्न पाउँछन् होला ?
धनाढ्य व्यक्तिको मनमा यो कुराले यति गहिरो प्रभाव पार्दछ कि उनले आफ्नो सम्पत्तिको हिसाब निकाल्छन् र आफू र आफ्ना छोरा नाति पनातिको संख्याबारे हिसाब निकाल्छन् । अनि पत्ता लगाउँछन् कि उनीपछि जम्मा ४ पुस्ताले मात्र पर्याप्त मात्रामा उनले सञ्चय गरेको धनले आरामको जिन्दगी बिताउन पाउने रहेछन् । उनलाई यो कुराले निकै पीडा दिन्छ ।
आफ्ना सन्ततिले दुःख पाएको कसले पो देख्न चाहन्छ र ? उनी पनि चाहँदैनथे । उनी यही विशाद्ले बिरामी बन्न पुग्छन् । उनी निको हुन धामी, झाँक्री, वैद्यकहाँ पुग्छन् तर उनको बिमार ठिक हुनुको सट्टा दिन प्रतिदिन बढ्दै जान्छ ।
एकदिन उक्त धनाढ्य व्यक्तिले थाहा पाउँछन् कि नजिकैको गाउँमा गौतम बुद्ध आउनुभएको छ । उनी आफ्नो बिमारको निराकरण हुन्छ कि भन्ने आशाले गौतम बुद्धको शरणमा जान्छन् । गौतम बुद्धको अगाडि हजारौ श्रद्धालु भएतापनि आफ्नो पावरको कारणले उनले गौतम बुद्धसँग समयमै भेट्न पाउँछन् अनि गौतम बुद्धलाई आफ्नो समस्या एकोहोरो बताउन थाल्छन् ।
उता गौतम बुद्धले ती साहुलाई पंक्तिमा अगाडी रहेका व्यक्तिहरुको पालो सकिएपछि मात्र उनको समस्या सुन्ने बताउँछन् । ती साहु बिहानदेखि साँझसम्म कुर्छन् । साँझपख आफ्नो पालो आएपछि गौतम बुद्धसँग आफ्नो समस्या बताउँछन्, प्रभु मेरो सम्पत्ति जम्मा ४ पुस्ताको लागि मात्र पुग्छ । त्यसपछि मेरा पुस्ताले दुःख पाउने भए । यही सोचले म बिरामी भएको छु । अब म के गरुँ ?
ती साहुको समस्या सुनिसकेपछि गौतम बुद्ध भन्छन्, यहाँबाट एक कोश पर नदीको किनारामा एउटा घर छ । त्यो घरमा एउटी बूढी आमा र बुहारी बस्छन् । उनीहरुलाई एक छाक पुग्ने खाद्यान्न लगेर देउ, तिम्रो समस्याको समाधान हुनेछ ।
साहु खुशी भए अनि आश्चर्य पनि । एक छाक खानेकुरा दिनु उनको लागि कुनै ठूलो कुरा थिएन । उनी आफ्नो घर आएर उनीहरुको लागि एक छाक खान आवश्यक पर्ने मीठा सामग्रीको पोको बनाउँछन् । अनि सोंच्छन्, उनीहरुलाई मीठो भन्ने के थाहा ? यस्ता महँगा खाद्यान्न किन दिनु उनीहरुलाई, जे दिए पनि खुशी हुन्छन् । फेरि महँगा खाद्यान्न दान गरे मेरै सम्पत्ति घट्ने हो ।
यस्तै सोंचेर साहुले सस्ता सामग्री पोको पार्दछन् र नदीको किनारमा रहेको घरमा पुग्छन् । घरमा पुग्दा सासु सन्ध्या आरती गरिरहेकी हुन्छिन् भने बुहारीले खाना पकाइरहेकी हुन्छिन् । साहुले बुहारीलाई बोलाएर पोको दिन थाल्छन् । बुहारीले सोध्छिन्, यो के हो ?
साहुले जवाफ दिन्छन्, यो तपाईंहरुलाई पुग्ने एक छाक खाद्यान्न । बुहारी भन्छिन्, मैले त अहिलेको लागि खाना पकाइसकें ।
साहु भन्छन्, त्यसो भए यो भोलिको लागि ।
बुहारीले जवाफ दिइन्, भोलिको म चिन्ता गर्दिन । ईश्वरले अवश्य मलाई परिश्रम गर्ने माध्यम दिन्छन् र परिश्रमको कमाइ मैले ल्याउँछु । अनि भोलिको गर्जो भोलि नै टार्छु । कृपया तपाईंको सामग्री तपाईंले नै लैजानुस् ।
साहुकार फर्किन्छन्, एउटा महत्वपूर्ण शिक्षाको साथमा । अहिले प्राप्त श्रोत साधनले मलाई सन्तुष्टि दिनु पर्नेमा असन्तुष्टि मात्र दिइरहेको रहेछ । जे छ त्यसको भोग गर्नुभन्दा, जे छैन त्यसको चाहनामा मेरो जीवन बितिरहेको रहेछ ।
एलेक्जेण्डर द ग्रेट जसलाई भारतमा सिकन्दरको नामले पनि चिनिन्छ । उनको एउटा मात्र चाहना हुन्छ, म विश्व विजेता बन्छु । अनि विश्वविजेता भइसकेपछि शान्तिको जीवन जिउँछु । तर दुर्भाग्य युद्धकै क्रममा बाटोमा उनी बिरामी परे ।
एउटा गाउँमा आफ्ना सेनासहित सिकन्दर बसिरहेका हुन्छन् । अर्कोे राज्यमाथि कसरी आक्रमण गर्ने, कसरी त्यो राज्य आफ्नो हात पार्ने, महत्वपूर्ण विषयमा छलफल चलिरहेको हुन्छ । कुराकानीकै क्रममा एकजना गुप्तचरले सुनाउँछन् कि यही गाउँको छेउमा एउटा सन्यासी मान्छे छ । जो नाङ्गै बस्छ, सेनाहरुसँग पनि डराउँदैन, उसको घर पनि छैन तर पनि आनन्दमा रहन्छ निरन्तर ।
यो सबै सुनेर सिकन्दरलाई अचम्म लाग्छ । लगभग ७० प्रतिशत विश्व मैले जितिसकेँ र त म सन्तुष्ट छैन, त्यो मान्छे केही नभएर कसरी सन्तुष्ट रहन सक्छ ? मैले त्यसको अधिक सन्तुष्टीको लागि केही गर्नैपर्छ, जीवनको आनन्द के हो उसलाई बताउनै पर्छ । यो सोंचेर उनी त्यही सन्यासीकोमा जान्छन् ।
सन्यासी ढुंगामाथि बसेर आनन्दसँग घाम तापिरहेको हुन्छ । सिकन्दर त्यहाँ पुगेर सोध्छन्, तिमीलाई यो ढुँगामाथि बस्दा दुःख भयो होला, मिष्ठान्न भोजन गर्न पाउँदैनौ होला, घाम असिना पानीले तिमीलाई निरन्तर सताउँछ होला । म विश्वविजेता एलेक्जेण्डर द ग्रेट हुँ । माग, तिमीले मसँग जे माग्छौ, म त्यो दिन तयार छु ।
सन्यासीले भन्छ, तपाईंले म तर्फ आइरहेका सूर्यका किरण छेकिदिनुभयो, कृपया अलिक छेउमा उभिनुस् । तपाईं म तर्फ आइरहेका सूर्यका किरण मलाई दिनुस् । अरु केही चाहिँदैन ।
यही घटनाबाट प्रभावित एलेक्जेण्डरले भनेका थिए, म विश्व विजेता बन्छु अनि विश्वविजेता भइसकेपछि तिमीजस्तै आनन्द र शान्तिको जीवन जिउँछु । सन्यासीले भनेका थिए, आइज अहिल्यै बस मेरो छेउ, यो ढुँगामा तेरो लागि पुग्ने पनि स्थान छ । एलेक्जेण्डरले शान्तिपूर्ण जीवन जिउन समय मागे, दुर्भाग्य समयले उनलाई शान्तिपूर्वक बाँच्ने समय नै दिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता