१३ वर्षमा जम्मा १९ किलोमिटर सडक निर्माण !
रुपन्देहीको सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माण सुरु भएको १३ वर्षमा जम्मा १९ किलोमिटर निर्माण सम्पन्न भएको छ । २०६६ सालदेखि सुरु भएको सडक निमार्णको काम बजेट अभाव देखाउँदै प्रत्येक वर्ष सुस्त बनेको हो ।
खासगरी लुम्बिनीका पर्यटकलाई बाग्लुङको ढोरपाटन आरक्षणसम्म जोड्नको उद्देश्यले सडक निर्माण सुरु गरे पनि काम भने निकै सुस्त गतिमा भएको छ । जम्मा १९७ किलोमिटर सडकमध्ये विगत १३ वर्षको अवधिमा जम्मा १९ किलोमिटर मात्रै पिच गरिएको छ । ग्राभेलको काम ७२ किलोमिटर भएको छ । कच्ची सडकको काम भने सकिएको छ ।
अर्घाखाँचीको सन्धीखर्कमा विवाद भएका कारण ५ सय मिटर कच्ची सडक रोकिए पनि अन्यत्र काम भएको छ । सालझन्डी–ढोरपाटन सडक कार्यालय प्रमुख वीरेन्द्र गौतमले बजेट कम हुँदा सडक निर्माणको काममा ढिलाइ भएको बताए । उनले चालु आर्थिक वर्षका लागि आएको बजेट अनुसारको काम पूरा भएको बताए ।
८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५/४० करोडमात्रै बजेट विनियोजन भएको छ । १३ वर्षको अवधिमा जम्मा २ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३५ करोड र थप ८ करोड बजेटको काम सकिएको छ भने यो वर्ष ४० करोड बजेट विनियोजन भएको छ ।
सडकको भौतिक प्रगति ३८ प्रतिशत रहेको दाबी गरिएको छ । ८ वटा पुल निर्माण गर्नुपर्नेमा ६ वटा निर्माण भइसकेको र अब दुईवटा निर्माण गर्नुपर्ने कार्यालय प्रमुख गौतमको भनाइ छ ।
उनले सडकको ट्रयाक खोल्ने काम पूरा भएकाले यातायात आवतजावत गर्न मिल्ने तर पूर्ण रूपमा पिच हुन भने बजेटका कारण समय लागेको बताए ।
पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने सडकको वर्षौंदेखि बेवास्ता
यो सडक निर्माण हुँदा बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा छोट्टिन्छ । बागलुङको पश्चिमी क्षेत्रका स्थानीय, प्युठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी यस सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू पनि ढोरपाटनसम्म सहजै पुग्न सक्ने अपेक्षा गरिएको छ ।
यसबाट लुम्बिनी र ढोरपाटन दुवैतिर पर्यटक वृद्धि हुने सरकारको अपेक्षा रहेको लुम्बिनी पर्यटन बोर्डका कार्यकारी निर्देशक रामु जोशीले रातोपाटीलाई बताए । लुम्बिनी होटल व्यवसायी संघका उपाध्यक्ष लीलामणि पोखरेलले लुम्बिनी आएका पर्यटकहरूलाई ढोरपाटन लैजान यो सडक निकै महत्वपूर्ण भूमिका हुने भए पनि निर्माणमा ढिलाइ भएको बताए ।
ट्राभल एजेन्सी संघ (नाटा)का लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारीले लुम्बिनी आउने पर्यटकलाई यो सडकका माध्यमबाट मुलुकको एकमात्र हिमाली सिकार आरक्षण ढोरपाटनसम्म सहजै लैजान सक्ने र यसले पर्यटक प्रवर्द्धनमा ठुलो मद्दत पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?
-
सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
-
वरिष्ठ जनरलको हत्या मामिलामा रुसमा उज्वेकिस्तानी नागरिक पक्राउ