ईर्ष्या : के, किन र कसरी ?

person explore access_timeसाउन १, २०७९ chat_bubble_outline0
सन्दर्भ तस्बिर

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य छ वटा मानवीय गुण हुन् । यद्यपि भागवतमा व्यासजीले यसलाई षड्दश्यु भनेका छन् । दश्युको अर्थ हुन्छ डाँकु । मानिसको सद्गुण अर्थात् दया, माया, मैत्री, करुणा, शान्ति, सदाचार, त्याग, तपस्या, परहित तथा परोपकार जस्ता सद्भावलाई चोरेर वा अपहरण गरेर दुःख दिन सक्ने भएकाले डाँकु भनिएको हो तर यो रूपमा मात्र हो सारमा होइन । यहाँ यिनै छवटा गुणमध्ये मात्सर्य गुणका बारेमा चर्चा केन्द्रित गर्ने प्रयास गरिएको छ ।


मात्सर्यको अर्थ हुन्छ ईर्ष्या । यो बालकदेखि वृद्धसम्म सबैमा हुन्छ । बालबालिकामा अप्रत्यक्षरूपमा हुन्छ । उमेरसँगै ऊ पनि बढ्दै जान्छ र युवावस्थामा पुग्दा प्रत्यक्ष देखिने गर्छ, जसले वृद्धावस्थासम्म पनि पिछा गरिरहेको हुन्छ । यो जन्मजात गुण हो । जन्मदा सँगै आएको हुन्छ, जीवनभर सँगै बस्छ र मर्दा सँगै जाने गर्छ ।



प्रायः भन्ने गरिन्छ ईर्ष्या दुर्गुण हो, गर्नुहुँदैन । धर्मशास्त्रले त्यसै भनेको छ, धर्मगुरुहरूले त्यसै भनेका छन् । शिक्षाले त्यसै भनेको छ, समाजले त्यसै भनेको छ, संस्कार र संस्कृतिले त्यसै भनेको छ । अन्यथा न धार्मिक ग्रन्थहरूमा वीरभोग्या वसुन्धरा भन्ने उल्लेख हुन्थ्यो वा त्यसतर्फ अभिप्रेरित गर्ने गरिएको पाइन्थ्यो न धर्मगुहरू विजयी भव भन्न पाउँदा गर्वले छातीले फुलाउने गर्थे । न शिक्षा, शिक्षक र शैक्षिक निकायहरू बालबालिकालाई प्रतिस्पर्धाको रेसमा उतार्ने प्रयास गर्थे वा उत्रन लगाउँथे न संस्कार र संस्कृति नै  शत्रुक्षयं राघवे र ऐश्वर्यं नहुषे भनेर आशीर्वाद दिने गर्थे । यसकै कारण आज जताततै विजय भवकै नारा गुञ्जिएको सुनिन्छ । कतै पनि समन्वय भव भन्ने गरिएको पाइन्न, सुनिन्न । यस्तो किन ? किनकि हामीले त्यस्तै सुनेका छौँ, सिकेका छौँ, सिकाएका छौँ ।



यसको अर्थ हो हामी कोही पनि ईर्ष्या नगरी बस्न सक्दैनौँ । विगतमा पनि यस्तै भएको थियो, वर्तमानमा पनि त्यस्तै भएको छ र यस्तै अवस्था रहे भविष्यमा पनि हुने त्यस्तै हो । जोजसले ईर्ष्या गर्नुहुन्न भन्ने गरेका छन् उनीहरूले नै सकेका छैनन्, सकेका हुँदैनन् ।

यसै पनि जो जन्मजात गुण हो, जो जन्मसँगै आएको छ र जीवनभर सँगै बसेको छ उसलाई छाड्न सकिने कुरै हुँदैन । यसलाई न कसैले भनेको भरमा छाड्न सकिन्छ न छाड्छु भनेको भरमा नै छुट्ने गर्छ । कसैले मैले छाडेको छु भन्छ भने ठाने हुन्छ उसले कि सरासर झुट बोलिरहेको छ कि अभिनय गरिरहेको छ । मनभित्र चाहिँ ईर्ष्याको भारी लुकाएर राख्ने मुखले भने छाडेको छु भन्नु भनेको पाखण्ड हो, ढोँग हो । गीतामा कृष्णले यस्तै आशय व्यक्त गरेका छन् तर रूपान्तरण भने गर्न सकिन्छ । रूपान्तरण गर्न सके वा जाने सद्गुण बनेर सुख दिन्छ नजाने वा नसके दुर्गुण बनेर दुःख दिन्छ वश फरक यति हो ।  

कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नैपर्ने कुरा भने होइन । त्यसो भए के गर्ने त ? प्रश्न गम्भीर छ तर उत्तर गम्भीर छैन । छैनमात्र होइन निकै सजिलो छ । थप केही पनि नगर्ने । हाल जे गर्दै आइएको छ त्यसैलाई नै अलिकति तलमाथि गर्ने वा परिवर्तन गर्ने । पुनः प्रश्न उठ्न सक्छ त्यो भनेको के ? उत्तर हो कसैको ईर्ष्या गर्नु सोझो प्रयोग हो । उसले गरेको कामको ईर्ष्या गर्नु रूपान्तरण हो । त्यसैले ईर्ष्या गर्नुस्, गर्नुपर्छ भन्ने हो तर कुनै व्यक्तिको नभई विषयको गर्नुपर्छ । अहिलेसम्म हामीले यसतर्फ ध्यान दिएका थिएनौँ, जसले गर्दा दुःख पाएका थियौँ । जब त्यस्तो बानी बसाउने छौँ स्वतः सुखी हुने छौँ ।

अव आयो विषयप्रति ईर्ष्या गर्ने भनेको के हो र कसरी गर्ने भन्ने । यसका निम्ति केही उदाहरणद्वारा बुझ्नुपर्ने हुन्छ, जसको लिङ्क तल दिइएको छ । ईच्छा हुनेले खोलेर हेर्न र मन परेमा प्रयोगमा ल्याउन सक्नुहुनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।