आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महँगीले आक्रान्त अमेरिकी घरमै पकाउँदै, साथीभाइकामा पाहुना लाग्दै

शनिबार, ३२ असार २०७९, २१ : २८
शनिबार, ३२ असार २०७९

बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजो आज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन् । 

घरमै पर्याप्तमात्रामा खानेकुरा पकायो, सम्भव भएसम्म रेष्टुराँ नगयो, घरै बस्यो । छोटो दुरीमा मात्र यात्रा गर्यो । खर्च जोगाउन यस्तै दैनिकी बनेको छ अमेरिकीको आजभोलि ।  उत्तरी भर्जिनियास्थित एउटा सुपथमूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफै विविध परिकार पकाउन थालेका छन् । आफ्नो पहिलो नाममात्र उद्धरण गर्न चाहने उनी विरलै रेष्टुराँतिर जान्छन् । सरकारी कर्मचारी उनी एक झोला कुखुराका साँप्रा र १० टुक्रा कुखुराका पखेटाको मूल्य उस्तै भएको बताउँछन् । 

दशकौंपछि अमेरिकामा महङ्गी अचाक्ली बढेको छ । खर्च जोगाउन धेरै अमेरिकी नागरिकले विविध उपाय अवलम्बन गरेका छन् । अमेरिकी उपभोक्ता मूल्य सूचकाङ्क चार दशकपछि पहिलोपटक गत जेठमा ९.१ प्रतिशतले बढेको थियो । त्यसयता खाद्य सूचकाङ्क १०.४ प्रतिशतले बढ्दा मध्यमवर्गीय अमेरिकीलाई हातमुख जोर्न धौधौ भएको छ । मूल्यवृद्धि नभएका कुनै वस्तु छैनन् । दशौँलाख अमेरिकी इन्धनको मूल्य बढेपछि थप पिरोलिएका छन् । 
चर्को मूल्य चुकाएर हवाइजहाजबाट यात्रा गर्ने चाहना पनि अब धेरैको रहेन । न्यूयोर्क महानगरका सेवा निवृत्त शिक्षिका ग्लोलिया ब्राण्डम्यानले हवाईजहाज नचढेको धेरै भयो । भाडा महँगो भएकाले जहाजको सट्टा मोटर कारमा यात्रा गर्दै आएको बताउने उनले पेट्रोलको बढेको मूल्यले अब त्यसमा पनि यो वर्ष कटौती गर्ने तरखरमा आफू रहेको सुनाइन् । पुरानो कारलाई मर्मतसम्भार गरेर दौडाइरहेको उनले बताइन् । उच्च मूल्यकै कारण नयाँ कार किन्न नसकेको उनको कथन छ ।  

उत्तरी भर्जिनियाका स्थायी बासिन्दा जेम्स पेट्रोलको मूल्य वृद्धिले तनाव बढाएको दुःखेसो गर्छन् । हरेकपटक कारको इन्धन ट्याङ्क भर्दा उनले थप ३० डलर तिर्नुपर्छ । पाएसम्म र भ्याएसम्म सार्वजनिक यातायात सेवा प्रयोग गर्ने गरेको उनले बताए । 

घरभाडा पनि अनपेक्षित रूपमा बढेको छ । त्यो अहिले १२ देखि २० प्रतिशतले वृद्धि भएको छ । केन्टकीको किराना पसलमा काम गर्ने आफ्नी भतिजी घरभाडा तिर्न नसकेर आफूसँगै बस्न आएकी आर्था फक्स जोन बताउँछिन् । बढ्दो आवास भाडाले घरबार विहीनको सङ्ख्या बढ्ने चिन्ता पनि अमेरिकामा बढेको छ । देशको अर्थतन्त्रसँग पनि अमेरिकी नागरिक खुशी नभएका अन्तरराष्ट्रिय मुद्रा कोषका एकजना पूर्व अधिकारीले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप