मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

केही महत्त्वपूर्ण सन्दर्भमा सरकार असफल देखियो : महामन्त्री शर्मा

भदौमा नीति अधिवेशन बोलाउन सुझाव
शनिबार, ३२ असार २०७९, २० : ५८
शनिबार, ३२ असार २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार केही महत्त्वपूर्ण सन्दर्भमा असफल देखिएको बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले केपी ओलीले जस्तै वर्तमान सरकारले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरेको आरोप लगाएका हुन् । त्यस्तै सुशासनको कतिपय प्रश्नमा खरो उत्रन नसकेको तथा संघ र प्रदेश सरकारका बीच पर्याप्त समन्वय हुन सकेको उनले बताए ।

उनले अर्थतन्त्रबारे सरकारले श्वेत पत्र जारी गर्न सुझाव दिए । उनले भने, 'एकातर्फ हामीले घरेलु जीवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ, अर्को तर्फ के नेपाल श्रीलङ्का बन्दैछ भन्ने मनोवैज्ञानिक त्रासलाई पनि चिर्नु छ । प्रमुख दलका रूपमा  नेपाली काँग्रेसको कर्तव्य हो, जनतालाई ढाडस दिने, आशा जिवित राख्ने, विश्वासमा लिने । त्यसैले सरकारले आजको समग्र अर्थतन्त्रबारे श्वेत पत्र जारी गरेर जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ ।' उनले प्रमुख प्रतिपक्षी लगायत संसद्‍मा रहेका सबै दलहरू एवं विज्ञ अर्थशास्त्रीहरु सहितको सर्वपक्षीय छलफल आयोजना गर्न पनि सुझाए । 

सरकारको आलोचना गर्दै गर्दा ३ महत्त्वपूर्ण सन्दर्भमा सफल भएको जिकिर गरे । यसमा खोप, एमसीसी र स्थानीय चुनाव रहेको उनले उल्लेख गरे । चुनाव व्यवस्थित रूपले सम्पन्न गराएकोमा र नेपाली काँग्रेसलाई पहिलो दल बनाउन नेतृत्व गरेकोमा सभापति र देशभरका पार्टीपंक्ति बधाइ दिए ।

उनले भातृ संस्था पूर्णता र विभाग गठनको एक हप्ते अभियान सञ्चालन गर्न सुझाव दिए । नीति अधिवेशनको विधि, मिति र स्थान तय गर्नुपर्ने उनको भनाइ थियो । भदौको दोस्रो साता उपयुक्त हुने उनले सुझाए ।

महामन्त्री शर्माले एउटा नेताको पक्षधरता राख्दा अर्कोलाई थोरै होच्याउने गरी बोल्न नहुने धारणा राखे । उनले भने, 'हाम्रो राजनीतिको विसंगत पाटो हो l नेतृत्वको प्रशंसा गर्ने नाममा - ॐ , जय , जगदीश हरे गरेर घण्टी नबजाऔँ l अनि आलोचना गर्ने नाममा, डण्डी पनि नचलाऔँ l' उनले डा शेखर कोइरालाले होटलमा भेला गर्नु हुन्थ्यो वा हुन्नथ्यो भन्दा पनि पार्टी भित्रको फरक विचार समूहले के मुद्दा उठाइरहेको छ भन्ने मुख्य कुरा रहेको जिकिर गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप