शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भुक्तानी पाउन नसकेका योजनालाई आगामी आवमा समावेश गर्न निर्देशन

शनिबार, ३२ असार २०७९, २० : ५३
शनिबार, ३२ असार २०७९

मधेस प्रदेशसभा बैठकले चालु आर्थिक वर्ष २०७८–७९ मा सञ्चालन भई भुक्तानी पाउन नसकेका योजनालाई आगामी आर्थिक वर्ष २०७८–७९ मा समावेश गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यले प्रदेश सरकारका कमजोरी र कर्मचारीको लापरवाहीका कारण आफूहरूको संसदीय कोषबाट सञ्चालित योजनाको समयमा भुक्तानी नहुँदा समस्या भएको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याएपछि सभामुख सरोजकुमार यादवले प्रदेश सरकारलाई यस्तो निर्देशन दिए ।

“प्रदेश सरकारले आर्थिक कार्यविधि अन्तर्गतका ऐन, कानुन र नियमावली बनाउन नसक्दा आवको अन्तिममा योजनाको भुक्तानी रोकिएर समस्या भएको हो”, सभामुख यादवले भने– “प्रदेश सरकारले समयमा आर्थिक कार्यविधिअनुसार नियमावली तयार नगर्दा अझै पनि सङ्घीय सरकारकै आर्थिक कार्यविधिअनुसार भुक्तानी हुँदै आएको छ । तसर्थ प्रदेश सरकारले तत्काल आर्थिक कार्यविधि अनुसारको ऐन, कानुन र नियमावली तथा सर्भर निर्माण गर्न सरकारलाई यो प्रदेशसभाको बैठकले निर्देशन दिन्छ ।”

यस्तै बैठकले चालु आव २०७८–७९ मा सञ्चालन भई भुक्तानी हुन नसकेका योजनालाई आगामी आव २०७८–७९ मा समावेश गर्न र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको सभामुख यादवले बताए । साथै आवको अन्तिममा भुक्तानी दिन लापरवाही गर्ने र कार्यालयमा अनुपस्थित हुने कर्मचारीमाथि कारबाही गर्न समेत प्रदेशसभा बैठकले सरकारलाई निर्देशन दिएको छ ।

आज दिउँसो बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले सम्पन्न भइसकेका योजनासमेत भुक्तानी रोकिँदा उपभोक्ता मारमा परेको भन्दै भुक्तानी हुन नसक्नुमा कसको कमजोरी हो भन्ने छानबिन गर्न मागसमेत गरेका थिए । प्रदेशसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादवले संसदीय कोषबाट सञ्चालन भएको र सम्पन्न भइसकेका योजनाको समेत भुक्तानी नहुँदा उपभोक्ता मारमा परेकाले यो प्रस्ताव ल्याएको बताए ।

“अधिकांश योजना सम्पन्न भइसक्दा पनि भुक्तानी हुन सकेन”,उनले भने, “यसमा दोषी को ? उपभोक्ता, सरकार वा कर्मचारी ? यसका विषयमा छलफल हुनुपर्छ, त्यसैले यो प्रस्ताव ल्याएको हुँ”, उनको भनाइ थियो । सो प्रस्तावको समर्थन गर्दै प्रदेशसभा सदस्यहरूले योजनाको भुक्तानी किन रोकिएको हो भन्नेबारेमा सरकारको जवाफसमेत माग गरेका थिए । बैठकमा प्रदेशसभा सदस्य परमेश्वर साह, किशोरी साह (कमल), उपेन्द्र महतो, सुरिता साह, रानी शर्मा तिवारी, शिवचन्द्र चौधरी, नेत्रविक्रम साह, डा रीना यादव, रवीन्द्र बैठा, पारसप्रसाद साहलगायतले जरुरी सार्वजनिक महत्वको प्रस्तावमा समर्थन गर्नुहुँदै सम्पन्न भइसकेका योजनाको अबिलम्ब भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले असार २५ गते रातिदेखि सर्भर बन्द भएकाले चालु आर्थिक वर्षको भुक्तानी गर्न नसकिएको जानकारी दिँदै असार ३२ गतेसम्म भुक्तानीको व्यवस्था मिलाइदिन सङ्घीय सरकारसँग माग गरे पनि उपलब्धिमूलक परिणाम आउन नसकेको बताए ।

चालु आव २०७८–७९ मा सञ्चालन भई भुक्तानी हुन नसकेका योजनालाई आगामी आव २०७८–७९ मा समावेश गरी भुक्तानीको व्यवस्था मिलाइने प्रतिबद्धता मन्त्री साहले व्यक्त गरे । प्रदेशसभा बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप