बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वामपन्थी एकताका लागि नारायणकाजीलाई ओलीको शर्त

शनिबार, ३२ असार २०७९, २० : ३७
शनिबार, ३२ असार २०७९

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । काँग्रेसको पुच्छर बनेर हिँड्ने, अनि वामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाई थियो । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका थिए । त्यसको जवाफ दिँदै उनले काँग्रेस नेतृत्वको सरकार छाडेर आए मात्रै वामपन्थी दलहरूबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने सर्त तेर्स्याएका हुन् । 

अध्यक्ष ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँड्नेहरू वामपन्थी हुनै नसक्ने जिकिर गर्दै यदि छन् भने एकताका लागि आफू तयार रहेको पटकपटक बताए । उनले काँग्रेसलाई छोडेर बाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए । 

अध्यक्ष ओली भने, ‘नेपालमा वामपन्थी पार्टीहरू छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ ? खै, वामपन्थी पार्टी ? कम्युनिस्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊ । एमालेसँग मिलेर काँग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔँ ।’

ओलीले नेपालको इतिहासमै सबैभन्दा बढी मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे । २००७ सालदेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियतामाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उहाँले त्यसयता वर्तमान काँग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए । 

अध्यक्ष ओलीले भने, ‘हाम्रो देशभक्ति बनावटी कुरा होइन । हुनुहुँदैन । बनावटी कुराले राष्ट्रहितको संरक्षण र सम्वर्द्धन गर्न सकिँदैन । अहिलेको सरकारको हालत हुन्छ बनावटी कुरा गर्‍यो भने । असंलग्न भन्दै गर्‍यो, ढल्किन हुन्न भन्दै गर्‍यो, पुरै ढल्क्यो । अहिलेकै सरकारको हालत हुन्छ क्या । नेपालको विदेशी नीति २००७ देखि २०१२ सालसम्म धेरै तल गयो । त्यसपछि बढ्दै घट्दै आयो होला । अहिलेको समयमा यो गठबन्धन सरकारले जति सात १२ पछि अहिले जति राष्ट्रियताको, स्वाभिमानको, हाम्रो भौगोलिक अखण्डताको, हाम्रो स्वतन्त्रताको, हाम्रो सार्वभौमसत्ताको अपमान र हुर्मत कहिल्यै पनि भएको थिएन । प्रमाणसम्मत कुरा गरौँन । तथ्यसम्मत कुरा गरौँन । सात सालपछि सम्झौता क-कसले गरे, केके गरे ? नेपाली काँग्रेसका नेताहरूलाई सम्झौताबारे थाहा पनि छैन होला ।’

तथ्य र प्रमाणहरू आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटक नै सरकारको नेतृत्व छोड्नु परेको गुनासो समेत गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप