शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशीको इशारामा तत्कालीन ओली सरकार ढल्यो : उपेन्द्र यादव

शनिबार, ३२ असार २०७९, १७ : १८
शनिबार, ३२ असार २०७९

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको दाबी गरेका छन् । पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको जिकिर गरेका हुन्  ।

नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीति कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारे ।  अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भएपनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको बताए ।

यादवले भने, ‘कुनै पनि मुलुकले आफ्नो विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई तय गर्दा भूराजनीति, आफ्नो छरछिमेकप्रति पर्ने असरलाई ध्यान दिएरै गर्नुपर्छ । नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र कसैको विरुद्ध आफ्नो भूमिलाई प्रयोग हुन नदिने कार्यलाई निकै अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिँदै आएको छ । भूराजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूल्ठूला दूर्घटनाहरु भएका छन् र यो भूराजनीतिको प्रभावबाट आफ्नो मुलुकको इन्ट्रेष्ट, आफ्नो मुलुकको सार्वभौमसत्ता, आफ्नो मुलुकको आर्थिक उन्नति, आफ्नो मुलुकको सुरक्षा र आफ्नो मुलुकको संस्कृति र सम्पन्नतालाई कसरी बढाउने, कसरी संरक्षण गर्ने यी महत्वपूर्ण विषय निश्चित रुपमा भूराजनीतिसँग जोडिएका विषयहरु हुन् ।’ 

 ‘भूराजनीतिमा नेपालको पोजिसन हेर्दाखेरि बडो संवेदनशील छ । हाम्रो मुलुक ल्याण्डलक छ र अल्पविकसित छ । राजनीतिक रुपमा अहिले पनि अस्थिर नै छ ।' अध्यक्ष यादवले भने, 'यति अस्थिर छ, हाम्रो पूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँ सँगसँगै म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिए । म पूर्व भए । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो । कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरु देखिनै प्रभावित भएर आएको छ । नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन् ।’

अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप