शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बाबुरामलाई लोसपाको बेवास्ता : अबको यात्रा कता ?

शनिबार, ३२ असार २०७९, १७ : ०३
शनिबार, ३२ असार २०७९

जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डा.बाबुराम भट्टराई पक्षसँग सहकार्य गर्ने चर्चा खुबै चलेको थियो । तर अहिले लोसपाले पनि महत्व दिन छाडेको छ ।  लोसपाका नेताहरुले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि विश्वास गर्न नसकिने बरु बाबुराम भट्टराईसँग एकता वा सहकार्य गर्न सकिने अभिव्यक्ति दिँदै आएका थिए । पार्टी एकता गर्ने विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र बाबुराम भट्टराईबीच एकपटक छलफल पनि भएको थियो ।

त्यतिबेला बाबुरामसँग एकता गर्न लोसपा निकै उत्साहित थियो तर अहिले त्यति उत्साहित नदेखिएको सो पार्टीका नेताहरु बताउन थालेका छन् । लोसपाका एक नेताले भने, ‘त्यतिबेला बाबुराम एउटा शक्ति जस्तो देखिन्थे, त्यतिबेला उहाँको संसद, केन्द्रीय समिति, कार्यकारिणी समितिमा  बहुमत थियो तर अहिले बाबुराम एक्लै हुनुभएको छ । दुईजना सांसद मात्र छन्, करिब एकसय जना केन्द्रीय सदस्य छन्, ५–६ जना कार्यकारिणी सदस्य छन्, त्यस्तोसँग एकीकरण गरेर के गर्नु अहिले हामी त्यति उत्साहित छैनौं ।’ 

वीरगञ्जमा असार २९–३० गते बसेको जसपाको केन्द्रीय समितिको बैठकले सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई कारवाही गरेको छ । कारवाहीमा परेपछि अब बाबुराम भट्टराईले कुन बाटो रोज्ने हुन् निश्चित भएको छैन । शुक्रबार उनले एक विज्ञप्ति जारी गरी पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । नयाँ पार्टी बनाउने कि जसपा मै बस्ने निश्चित नदेखिएका कारण लोसपाले उनलाई त्यति महत्व नदिएको हुनसक्ने नेताहरु बताउँछन् ।

लोसपाका कार्यकारिणी सदस्य अनिलकुमार झाले भने, ‘बाबुराम भट्टराई हाम्रो पार्टीमा आउनुभयो भने हामी स्वागत गर्छौ तर जसपामा बाबुरामको हैसियत के हो, त्यसको अहिलेसम्म टुंगो लागेको छैन । त्यसैले बाबुरामसँग कुन हैसियतमा सहकार्य गर्ने थाहा छैन ।’ बाबुरामले अर्को पार्टी बनाउनुभन्दा लोसपामा आए राम्रो हुने बताउँदै झाले भने, ‘उपेन्द्र यादव नेतृत्वको पार्टीसँग उनको सहकार्यको सम्भावना अब कम छ ।’

उनले भने, ‘उपेन्द्र यादवले महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेतालाई पार्टीबाट कारवाही गरेर निकाल्नुभएको हो, आज फेरि सोही पार्टीसँग कसरी सहकार्य गर्ने वा एकीकरण गर्ने ? मलाई जहाँसम्म लाग्छ उपेन्द्र यादवको पार्टीसँग लोसपाको एकता हुने सम्भावना म कम देख्छु, बरु बाबुराम पक्षसँग सहकार्य हुनसक्छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप