शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ठूला कुरा गर्ने र मै हुँ भन्ने मान्छे नेता हुन सक्दैन : मन्त्री चौधरी

शनिबार, ३२ असार २०७९, १६ : १३
शनिबार, ३२ असार २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले सबै राजनीतिक दलहरू नमिली देश विकास हुन नसक्ने बताएका छन् । शनिवार काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर १ मा नवनिर्मित शहीद किरण दंगाल पार्कको उद्घाटन गर्दै मन्त्री चौधरीले सबै राजनीतिक दलहरू मिलेर नगईकन कुनै पनि परिवर्तन र विकास निर्माणको काम सम्भव नहुने बताए । 

उनले भने–‘सबै मिल्दा २००७ सालमा प्रजातन्त्र ल्यायौँ, २०४६ सालमा लोकतन्त्र, २०६२–०६३ सालमा सबै मिलेर गणतन्त्र ल्यायौँ । जब हामी सबै मिल्छौँ एउटा व्यवस्था परिवर्तन गर्न सक्छौँ । जब हामी एक्लै अघि बढ्छौँ दुःख मात्रै पाउँछौँ । शहीदसँग जोडिएको यो गणतन्त्र पार्कलाई मेरो मात्र हो, मैले मात्र गरेँ, म मात्र गर्नुपर्छ भन्ने भावना जब आउँछ त्यो बेला सकिन्छौँ हामी ।’

मन्त्री चौधरीले ठूला कुरा गर्ने र मै हुँ भन्ने मान्छे नेता हुन नसक्ने भन्दै त्यस्ता भावना त्याग्न आग्रह गरे । जति धेरै सानो बन्यो जति धेरै झुक्यो उति ठूलो नेता हुने मन्त्री चौधरीको भनाई थियो । 

उनले मेरो पाटी मात्र ठूलो, म मात्र १० वर्ष शासन चलाउँछु भन्ने अवस्था च्याप्टर क्लोज भएको बताए । २०१५ सालदेखि विभिन्न समयमा भएका निर्वाचनमा बहुमत ल्याएका दलहरूले सरकार चलाउन नसकेको बताउँदै उनले राजनीतिक दलहरूले आफ्नो दृष्टिकोण समृद्ध बनाउन आवश्यक रहेको बताए । उनले अरूलाई गाली गरेर, दोष थुपारेर मात्र केही नहुने बताउँदै एउटा प्रतिबद्धता जनाएर देश बनाउने काममा लाग्न आग्रह गरे ।   

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नै पहलमा साँखु मेलम्ची सडक कालोपत्रे भएको बताउँदै सो सडक छेउमा रहेको शहीद पार्कका लागि सहरी विकास मन्त्रालयले गर्न सक्ने काम गर्न आफूलाई निर्देशन दिएको मन्त्री चौधरीले बताए । 

तत्कालीन माओवादीले गरेको सशस्त्र आन्दोलनका क्रममा २०६० सालमा राज्य पक्षबाट भएको आक्रमणमा मृत्यु भएका तत्कालीन नाङ्लेभारे-८ पटापका किरण दंगालको स्मृतिमा सो पार्क बनाइएको हो । पार्क उद्घाटनका क्रममा स्व.किरणका दाजु उद्धव दंगालले नेताहरू जनताका समस्याहरूलाई उठाउने र आफ्ना स्वार्थ पूरा गर्न केन्द्रित रहेको बताए । शहीदको बलिदानबाट व्यवस्था परिवर्तन भए पनि जनतामाथि खेलबाड भइरहेको उनले बताए । 

स्वार्थका लागि राजनीति गर्नेहरू बढेको र उनीहरू भ्रष्टाचारमा लागेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य नगरेसम्म देशमा परिवर्तन सम्भव नभएको दंगालले बताए ।  बागमती प्रदेश सरकारले दिएको २२ लाख बजेटमा उपभोक्ता समिति मार्फत सो पार्क बनाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप