सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश : पोखरी सौन्दर्यीकरणको नाममा अनियमितता

शनिबार, ३२ असार २०७९, १४ : ०८
शनिबार, ३२ असार २०७९

मधेश प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यीकरण कार्यक्रमको नाममा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । केही दिनअघि महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

मुख्यमन्त्री लालबाबु राउतको पर्सा निर्वाचन क्षेत्रस्थित नगवा पोखरी, मुरली पोखरी, लक्ष्मणवा पोखरी र निचुटा पोखरीको सौन्दर्यीकरणमा करोडौँ रुपैयाँ अनियमितता भएको सो प्रतिवेदनमा उल्लेख छ । ती पोखरीको सौन्दर्यीकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत २३ करोड ९० लाख ११ हजार रुपैयाँको खरिद सम्झौता गरी निर्माण व्यवसायीलाई १६ करोड ८ लाख ३० हजार रुपैयाँ भुक्तानी गरिएको पाइएको छ ।  तर उल्लेखित पोखरीमा भनिए अनुसारको सौन्दर्यीकरणका काम भने नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

अधिकांश पोखरीमा पुरानो स्वरूपको अधिकांश भागमा बाहिरबाट माटो ल्याई पुरिएको, कंक्रिट संरचना निर्माण गरेकोमा विभिन्न ठाउँमा भत्केको, गुणस्तरयुक्त काम नभएको, तत्काल माटो फिलिङ गरेको स्थानमा कंक्रिट संरचना निर्माण गरेको, डीपीआरलाई बेवास्ता गरी निर्माण कार्य गरेकोे प्रतिवेदनमा भनिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘पोखरीको डिलमा पिलरसमेत नराखी भवन निर्माण गरिएको, सबै स्थानमा सोलार लाइट जडान नगरिएको, दुईवटा पोखरीको काम अधुरो अवस्थामा रोकिएको छ भने सौन्दर्यीकरण कार्य गरेका सबै पोखरीको जग्गाको क्षेत्रफल एकीन  हुनुपर्नेमा सो पनि भएको छैन ।’ पोखरीको नापनक्सा बमोजिमको क्षेत्रफल समेत एकिन नभएको देखिएको प्रतिवेदनमा जनाइएको छ ।
यता मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमका विभिन्न फाइलहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि लगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप