वीरगञ्ज बैठकपछि धमाधम पार्टी छाड्दै जसपा नेताहरू
![वीरगञ्ज बैठकपछि धमाधम पार्टी छाड्दै जसपा नेताहरू](https://rpcdn.ratopati.com/media/albums/JSP-UML_UMU2BO8lIZ.jpg)
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद गहिरिँदै जाँदा नेताहरूले धमाधम पार्टी छाड्न थालेका छन् । वीरगञ्जमा बसेको जसपा उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीको विवाद झन् गहिरिएको हो । योसँगै जिल्ला तथा केन्द्रका नेताहरू पार्टी छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् ।
पार्टीकी कार्यकारिणी सदस्य रेणु यादवले वीरगञ्जबाट आफ्नो सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी । उनी यसअघि पार्टीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिइन् । उनलाई हटाएर कार्यकारिणी सदस्य इस्तियाक राइलाई मन्त्री बनाइएको छ । उनले सरकारबाट मन्त्री फिर्ता बोलाउँदा चारैजना मन्त्रीलाई फिर्ता बोलाउनु पर्नेमा तीन जनालाई मात्र फिर्ता बोलाएर राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा प्रशासन मन्त्रालयमा यथावत् राखिएको प्रति असन्तुष्टि जनाएकी थिइन् । जसपा अध्यक्ष उपेन्द्र यादवले नेतृ रेणु यादव केही समयका लागि आक्रोशित भएर पदबाट राजीनामा दिएको र रिस शान्त भएपछि पुनः पार्टीमा फिर्ता हुने दाबी गरेका छन् ।
शुक्रबार मात्र जसपाका संघीय परिषद्का दुईजना सदस्य तथा मधेस प्रदेशका सदस्य दुईजना नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमालले स्वागत गरेका थिए । एमालेमा प्रवेश गर्नेहरूमा सदस्यद्वय भोला मिश्र र अमरेन्द्र कुमार झा रहेका छन् । पार्टी छाड्ने मधेस प्रदेशका सदस्य ममता मिश्र पाठक र विमला भट्टराई हुन् ।
पार्टी प्रवेश गर्दै भोला मिश्रले भने, ‘जसपाको मूल नेतृत्वमा दम्भ, जातीय संकीर्णता र एकात्मकवादी चिन्तन रहेका कारण पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको हुँ ।’
त्यसैगरि, शनिबार पर्साको वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी जसपाका दुईजना केन्द्रीय, एकजना प्रदेश सदस्यसहित ६९ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । पार्टीमा परित्याग गर्नेहरूमा केन्द्रीय सदस्यद्वय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्य, मधेस प्रदेशका सदस्य सलाउदिन अहमद पार्टीका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादव, जिरा भवानी गाउँपालिका संयोजक रजबली यादव, ठोरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिनले पार्टी परित्याग गरेका हुन् । पर्सा क्षेत्र नम्बर ४ मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको क्षेत्र हो ।
पार्टी परित्याग गर्दै केन्द्रीय सदस्य वीरेन्द्र यादवले एकलौटी तरिकाले जसपा सञ्चालन भइरहेको हुनाले त्यहाँ काम गर्न गाह्रो भएको भन्दै पार्टी छाडेको बताए । जसपा जनताको हितमा काम गर्नुको सट्टा सो पार्टीका नेताहरूको व्यक्तिगत स्वार्थमा लागेको आरोप उनले लगाए ।
त्यसैगरी, जसपाका केन्द्रीय सदस्य दानबहादुर चौधरीले पनि पार्टी जसपामा नबस्ने मनस्थिति बनाइसकेका छन् । बाबुराम पक्षका नेता चौधरीले रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘जसपामा उपेन्द्र यादवको एकलौटी छ । उहाँले पार्टीमा जे चाहनु हुन्छ त्यही हुन्छ । उहाँको डरले सो पार्टीमा कोही बोल्नु हुन्न । जो बोल्ने साहस गर्छन्, उनीहरूलाई पार्टीबाट साइड लगाई दिनुहुन्छ ।’
अहिले आफू बाबुराम पक्षमा रहेको तर त्यहाँ पनि बस्ने नबस्ने टुङ्गो नभएको उनले बताए । कपिलवस्तुमा चुनाव जित्नका लागि केही फरक तरिकाबाट सोच्नुपर्ने अवस्था आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन
-
मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सीआईबी
-
सुदूरपश्चिममा कांग्रेस र एमालेबिच मन्त्रालयको सङ्ख्या घटाउने सहमति
-
लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ
-
एआईको प्रयोगसम्बन्धी सरकारले पहिलोपटक तयार गरेको अवधारणा पत्रमा के छ ?
-
महामन्त्री ढकालको लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको चर्चा