शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक रोजगार : श्रम स्वीकृति लिनेको सङ्ख्या ५ वर्षयताकै उच्च

आकर्षणमा साउदी अरब
शनिबार, ३२ असार २०७९, ११ : ३७
शनिबार, ३२ असार २०७९

चालू आर्थिक वर्ष ५ वर्षयताकै सबैभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । चालू वर्षको असार ३० गतेसम्ममा ६ लाख २८ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । जुन, विगत ५ वर्ष यताकै उच्च हो ।

पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या यो वर्ष ह्वात्तै बढेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । यो वर्ष वैदेशिक रोजगारीका लागि ५ लाख ७९ हजार ५२८ जना पुरुष र ४८ हजार ९७५ जना महिलाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएको विभागले जनाएको छ । गत वर्ष कोरोना महामारीका कारणले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा जम्मा १ लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका थिए । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका थिए भने २०७५/७६ मा ५ लाख ८८ हजारले स्वीकृति लिएका थिए ।

यसै गरी, आर्थिक वर्ष २०७४/७५ मा ६ लाख १२ हजार ६८५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । त्यसअघि, आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ४२ हजार ८५९ जनाले वैदेशिक रोजगारीमा जानका लागि स्वीकृति लिएका थिए । यसअनुसार श्रमिकले चालू वर्ष विगत ५ वर्षयताकै उच्च सङ्ख्यामा वैदेशिक रोजगारीको अनुमति लिएका छन् ।

विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । जुन, चालू वर्षमा ६ लाख २८ हजार ५०३ पुगेको छ । यो, गत वर्षको भन्दा ४ लाख ६१ हजार ८०५ बढी हो ।

कुन महिना कतिले लिए स्वीकृति ?

चालू आर्थिक वर्षको मङ्सिर महिनामा सबैभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । मङ्सिर महिनामा मात्रै ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएका छन् ।

यसै गरी, साउन महिनामा सबैभन्दा कमले श्रम स्वीकृति लिएका थिए । उक्त महिना वैदेशिक रोजगारीमा जानका लागि जम्मा २५ हजार ४२७ जनाले स्वीकृति लिएका थिए ।

स्रोत: वैदेशिक रोजगार विभाग

आकर्षणमा साउदी अरब

चालू वर्षमा वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकमध्येमा साउदी अरबमा रोजगारीका लागि जान सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि जान श्रम स्वीकृति लिएकामध्ये १ लाख ८८ हजार ३९८ जनाले साउदी अरब जानका लागि स्वीकृति लिएका छन् । यसपछि, कतार जानका लागि १ लाख ८४ हजार ५०३ जनाले स्वीकृति लिएका छन् ।

यसै गरी, संयुक्त अरब इमिरेट्समा रोजगारीका लागि १ लाख २२ हजार ३६६ जनाले स्वीकृति लिँदा कुवेतका लागि ३५ हजार ४४६ जनाले स्वीकृति लिएको विभागले जनाएको छ । यसपछि, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोयसिया जानका लागि सबैभन्दा धेरै श्रम स्वीकृति लिइएको छ ।

बढ्न थाल्यो रेमिट्यान्स

वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढ्न थालेसँगै लामोसमयदेखि घट्दै आएको रेमिट्यान्समा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ महिनासम्ममा ३.८ प्रतिशतले रेमिट्यान्स आप्रवाह सुधारिएको छ । यस्तै, गत वैशाख महिनासम्ममा रेमिट्यान्स आप्रवाह ०.३ प्रतिशतले सुधारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप