आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई हतियार चाहिएकै हो ?

प्रहरीलाई निहत्था बनाउने ? : शर्मा, बदनाम अनुहारका कारण शङ्का : मल्ल
शनिबार, ३२ असार २०७९, १० : २५
शनिबार, ३२ असार २०७९

नेपाल प्रहरीका लागि आवश्यक हतियार खरिद प्रक्रियामा गएलगत्तै हतियार खरिदको आवश्यकता र औचित्यको सम्बन्धमा यतिबेला विवाद बढेको छ । प्रहरीलाई हतियार नै आवश्यक नरहेको, देश आर्थिक सङ्कटबाट गुज्रिरहेको समयमा हतियार किन्न लागिएको र बजार मूल्यभन्दा तीन गुणा महँगोमा हतियार खरिद गर्न लागेको लगायतका विषयले यतिबेला खरिद प्रक्रिया नै विवादमा मुछिएको हो ।

विवादकै बीच नेपाल प्रहरीले केही दिनअघि विज्ञप्ति निकालेर प्रहरीका लागि हतियार आवश्यक रहेको र ती हतियारहरू घातक हतियार नभएर आत्मरक्षा र सुरक्षाका दृष्किोणले आवश्यक हतियार मात्रै खरिद गर्न लागिएको स्पष्टीकरण दिएको छ । अर्थ मन्त्रालयबाटै हालसालै स्वीकृति तथा रकमान्तर गरिएको रकम नेपाल प्रहरीका लागि पेस्तोल, सटगन, हेल्मेट, पञ्जा लगायतका भीड नियन्त्रणका लागि आवश्यक सामग्री पनि खरिद गर्ने बाटो खुलेको थियो । प्रहरीका लागि यतिबेला एक हजार थान पेस्तोल, एक हजार १५० थान फोल्डिङ सटगन, २५४ हजार थान अश्रुग्याँसको सेल, दश लाख थान रबरका गोली लगायतका सामानहरू खरिद गर्न लागेको छ । प्रहरीका अनुसार सूचीकृत भएका कम्पनीहरुबीच प्रतिस्पर्धा गराइ हतियार तथा भीड नियन्त्रणका लागि आवश्यक सामाग्रीहरू किन्न लागिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार खरिद गर्न लागेको पेस्तोल बेरेटा कम्पनीको मिलिटरी पेस्तोल हो । जहाँ १५ वटा गोली अट्ने म्यागेजिन हुन्छ । यो पेस्तोलको मूल्य ६६९ अमेरिकी डलरमा खरिद गर्न लागिएको छ । यही कम्पनीको वेबसाइटमा हेर्दा यही कम्पनीले सिभिलियन भर्सनको १० राउण्ड गोली अट्ने पेस्तोलको मूल्य ६४९ अमेरिकी डलर उल्लेख गरेको छ ।

सिभिलियन पेस्तोल भन्दा मिलिटरी पेस्तोल बलियो, टिकाउ र शक्तिशाली हुने पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको भनाइ छ । शर्माका अनुसार मिलिटरी भर्सनको यो पेस्तोलको ग्यारेन्टी नै १० वर्ष र १० हजार राउण्ड गोलीको हुन्छ । शर्माका अनुसार मिलिटरी भर्सन तयारी अवस्थामा रहेको पेस्तोल नभएर अर्डर दिएपछि तयार हुन्छ । अहिले प्रहरीका लागि खरिद गर्न लागिएको १५ म्यागेजिनको मिलिटरी भर्सनको बेरेटा पेस्तोलको मूल्य बजार मूल्यभन्दा महँगो रहेको भन्ने दाबीमा सत्यता नरहेको शर्माको भनाइ छ । उनले भने, ‘कसैले सस्तोमा दियो नै भने त मेरो भन्नु केही रहेन । तर सिभिलियनकै बजार मूल्य ६४९ डलर रहेको अवस्थामा मिलिटरी भर्सनको ६६९ अमेरिकी डलर महँगो हो जस्तो मलाई लाग्दैन ।’

प्रहरीका लागि पेस्तोलबाहेक सटगन एक हजार १५० थान मगाइएको छ । उक्त सटगनका लागि २ हजार १६९ अमेरिकी डलर मूल्यमा किन्न लागिएको प्रहरीले जनाएको छ । अहिले किन्न लागेको सटगन म्याग्नम पोइन्ट २२ सटगन नभएर फोल्डिङ सटगन हो, जुन सटगनबाट गोली र टियर ग्याँस दुवै प्रहार गर्न सकिने प्रहरीको भनाइ  ।

त्यसैगरी प्रहरीले किन्न लागेको २५ हजार थान अश्रुग्याँस र १० लाख थान रबरको गोलीको मूल्य पनि सूचीकृत भएका ग्लोबल कम्पनीबाटै खरिद गर्न लागिएको प्रहरीको दाबी छ । प्रहरी स्रोतले रातोपाटीसँग भन्यो, ‘यो ओपन ग्लोबल टेण्डर होइन, यद्यपि सूचीमा दर्ता भएकाबाट ग्लोबल टेण्डर नै गरिएको हो । किनभने हतियारको सम्बन्धमा सुरक्षाका दृष्टिकोणले बाहिर नै खुल्लमखुल्ला मोडल नम्बर, हतियार र गोलीको कुरा ल्याउने भन्ने हुँदैन । त्यसकारण अहिले गरिएको टेण्डर र सम्झौता पनि ग्लोबल टेण्डर नै हो भनेर बुझ्नुपर्छ । हामीले हतियार खरिद गर्दा ‘सुरक्षा सामग्री वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ को दफा ७ अनुसार सूचीकृत भएका कम्पनीबाट टेण्डर गरी पठाएको आधारमा सोही कार्यविधिको संशोधन २०७५ अनुसार नै खरिद गर्न लागेका हौँ, त्यहाँ कुनै बदनियत छैन । र अहिले किन्न लागिएको हतियार बजार मूल्यभन्दा दुई तीन गुणा महँगो भनेर जसरी हल्ला गरिएको छ, त्यसमा कुनै सत्यता छैन । सामान्य फरक पर्न सक्ला, तर पनि हामीलाई लाग्छ कि यो बजार मूल्यभन्दा सस्तो नै छ ।’

अहिले प्रहरीमाथि लागेको दुई मुख्य आरोप लागेको छ । पहिलो आरोप, बरेटाको पेस्तोलको मूल्य बजार मूल्यभन्दा तीन गुणा महँगो छ  र दोस्रो प्रहरीले फेजआउट १२ बोरको बन्दुक ल्याउन लाग्यो । यसबारे प्रहरीको जवाफ यस्तो छ :

तीन गुणा महँगो मूल्यबारे : बरेटाको नाइन एमएमको मिलिटरी पेस्तोलको बजार मूल्य उसकै वेबसाइटमा ६९९ अमेरिकी डलर रहेको उल्लेख गरेको छ । १० राउण्ड गोली रहने म्यागेजिन भएको बरेटाकै सिभिलियन पेस्तोलको मूल्य ६४९ अमेरिकी डलर उल्लेख गरिएको छ । नेपाल प्रहरीले किन्न खोजेको बरेटाको नाइन एमएम पेस्तोल १५ म्यागेजिन भएको पेस्तोल हो जसको मूल्य उसले आफ्नो आधिकारिक वेबसाइटमै ६९९ अमेरिकी डलर राखेको छ, जबकि नेपाल प्रहरीले ६६९ अमेरिकी डलरमै किन्न खोजेको हो । यही पेस्तोल सशस्त्र प्रहरीले दुई वर्षअघि ७१० अमेरिकी डलरमा खरिद गरेको थियो । अर्थात् अहिलेभन्दा ४१ डलर महँगोमा उक्त पेस्तोल सशस्त्र प्रहरीले दुई वर्ष अगाडि नै खरिद गरिसकेको छ ।

फेजआउट १२ बोरको बन्दुक ल्याउनेबारे : अहिले प्रहरीले खरिद गर्न लागेको १२ बोरको बन्दुक वा फेजआउट भएको पोइन्ट २२ म्याग्नम हतियार होइन । बरु खरिद गर्न लागिएको हतियार रबरको गोली र टियर ग्याँस दुवै हान्न मिल्ने फोल्डिङ सटगन १२ जिए हो । यो न त १२ बोरको बन्दुक हो, न त फेजआउट म्याग्नम पोइन्ट २२ घातक हतियार नै हो । यसको खरिद मूल्य २ हजार १६९ अमेरिकी डलर हो । यद्यपि वेभसाइटहरुमा यसको आधिकारिक मूल्य भने प्राप्त गर्न सकिएन ।

हतियार किन्ने प्रक्रिया कहिले सुरु भयो ?

प्रहरीका लागि आवश्यक हतियार किन्ने प्रक्रिया पछिल्लोपटक २०७८ चैत २४ गते भएको छ । २०७८ चैत २४ मा गृहको सुरक्षा योजना अन्तर्गत प्रहरीलाई हतियार, सवारीसाधन, सञ्चारका साधन र रायट कन्ट्रोल गियर (दङ्गा नियन्त्रणका सामान) अपुग रहेको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा लैजान टिप्पणी उठी सदर भयो । अनि खरिद प्रक्रियाका लागि अन्तर मन्त्रालय समन्वय र खरिद प्रक्रियाका लागि सूचीकृत कम्पनीसँग बोलपत्र माग गरियो ।

प्रहरीका लागि हतियार र रायट कन्ट्रोल गियर कति आवश्यक ?

नेपाल प्रहरीका अनुसार पछिल्ला ९ वर्षमा प्रहरीका लागि कुनै हतियार खरिद गरिएको छैन । प्रहरीका दरबन्दी, भीआईपी र भिभीआईपी थपिएका छन्, तर प्रहरीलाई आवश्यक हतियार नै छैन । हाल हतियार दिनुपर्ने ३० प्रतिशत प्रहरीले हतियार नै पाएका छैनन् ।

दङ्गा नियन्त्रण तथा चुनावी सुरक्षाका लागि आवश्यक हतियार पनि प्रहरीसँग छैन । प्रहरीले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक रहेको एक हजार थान साना हतियारसमेत नेपाली सेनासँग सापटी लिएको थियो । प्रहरीका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा आफैँले हस्ताक्षर गरेर नेपाली सेनाको बालगिरीबाट एकहजार थान साना हतियार लिइएको थियो । जसमध्ये सातसय थान साना हतियार काठमाडौंबाट र तीन सय थान साना हतियार पूर्व क्षेत्रबाट बुझिएको थियो । त्यसैगरी निर्वाचन सुरक्षाका लागि भन्दै भीआईपी र भिभीआईपीको सुरक्षामा खटिएका पिएसओहरुबाट २ सय थाना साना हतियार फिर्ता लिइएको थियो । सेनासँग लिइएको हतियार निर्वाचन सकिएपछि जेठ ८ गते फिर्ता गरिएको थियो ।

प्रहरीले गत स्थानीय तहको निर्वाचन सुरक्षाका लागि विभिन्न व्यक्ति र कम्पनीबाट ९ सय थान सवारीसाधन पनि भाडामा लिएको थियो ।

चुनावभन्दा अगाडि भएको एमसीसी परियोजना विरुद्धको आन्दोलनमा आवश्यक दङ्गा नियन्त्रणका केही सामान पनि प्रहरीले नेपाली सेनासँगै सापटी लिएको थियो । तत्कालीन समयमा प्रहरीले सेनासँग एक हजार थान दङ्गा नियन्त्रणका सामाग्री र पानीको फोहरा हान्ने गियर पश्चिम क्षेत्रबाट सेनासँग नै मगाएको थियो ।

पूर्व प्रहरी अधिकृतको प्रश्न : प्रहरीलाई निहत्था बनाउने कि सक्षम ?

नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा प्रहरीका लागि हतियार र दङ्गा नियन्त्रणका सामान अति आवश्यक रहेको बताउँछन् । यदि राम्रोसँग शान्ति सुरक्षा दिने हो भने प्रहरीका लागि हतियार र दङ्गा नियन्त्रणका सामान अति आवश्यक रहेको पूर्व एआइजी शर्माले बताए । शर्माले रातोपाटीसँग भने, ‘मलाई मैले काम गरेको संगठनको माया छ । मेरै पालामा पनि आवश्यक सङ्ख्यामा हतियार, सटगन आदि थिएन । जसका कारण शान्ति कायम गर्न केही समस्या परेकै थियो । अहिले त भीआईपी र भिभीआईपी पनि थपिएका छन् । उनीहरूका सुरक्षाका लागि प्रहरी र हतियारको आवश्यकता बढेको छ । प्रहरीलाई निहत्था र भुत्ते बनाउने हो भने छुट्टै कुरा भयो, तर सबल र सक्षम बनाउने हो भने उनीहरुलाई हतियार त चाहिन्छ नै । यदि हतियार नै भएन भने प्रहरीमाथि नै आक्रमण हुन्छ । हतियार नभई भीड नियन्त्रण गर्न खोज्दा कतिपय स्थानमा प्रहरीमाथि नै आक्रमण भएको छ, उनीहरू मारिएका छन् । जसरी डाक्टरलाई स्टेथेस्कोप चाहिन्छ, वकिल र पत्रकारलाई कलम वा क्यामेरा चाहिन्छ, त्यसरी नै प्रहरीलाई हतियार र दङ्गा नियन्त्रणका सामान चाहिन्छ ।’

बजारमूल्यभन्दा तीन गुणा महँगोमा हतियार किन्न लागेको भन्ने हल्लामा पनि आफूले सत्यता नदेखेको पूर्व एआइजी शर्माले बताए ।

यी हतियार खुल्ला प्रतिस्पर्धा नगरेर किन गोप्य ढङ्गबाट किन्न खोजेको भन्ने प्रश्नमा शर्माले सुरक्षाको दृष्टिकोणले ती हतियारहरू खुल्ला प्रतिस्पर्धाका माध्यमबाट किन्न नसकिने बताए । उनले भने, ‘हतियारहरू जहाँ र जहिले पनि गोप्य तरिकाले नै किनिन्छ । किनभने सबैले थाहा पाउने गरी किन्दा दुस्मनले त्यो भन्दा राम्रो हतियार किन्ने वा त्यसको सुरक्षा रणनीति बनाउने भएकाले हतियारका सम्बन्धमा गोप्य नै हुन्छ । लौरोको भरमा प्रहरीले जनताको सुरक्षा गर्न सक्दैन, त्यसकारण प्रहरीका लागि हतियार र दङ्गा नियन्त्रणका सामान अपरिहार्य नै छ ।’

प्रहरी अनआर्म भइसकेका हुन् र ? : पूर्व एआइजी सुवेदी

नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदी पनि प्रहरीका लागि हतियार र दङ्गा नियन्त्रणका सामान आवश्यक रहेको बताउँछन् । हतियारबिनाका प्रहरीले सुरक्षा दिन नसक्ने भन्दै कि हतियारबिनाको प्रहरी राख्न खोजिएको भन्दै प्रतिप्रश्न गरे । सुवेदीले भने, ‘के नेपाल प्रहरी अनआर्म भइसकेको हो र ? म हुँदा प्रहरी पनि आर्मड पुलिस नै थियो । आफू सेवामा रहँदा हतियार आवश्यक छ भन्नेहरुले अहिले आफू नरहँदा आवश्यक छैन भन्न मिल्दैन । यदि नेपाल प्रहरी पनि आर्मड पोलिस नै हो भने हतियार आवश्यक छ, अनआर्ममा गइसकेको भए त हतियार किन चाहियो र ?’

बदनाम अनुहारका कारण शंका धेरै छ : पूर्व डीआईजी हेमन्त मल्ल

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल पनि प्रहरीका लागि हतियार र दङ्गा नियन्त्रणका सामान आवश्यक रहेको बताउँछन् । यद्यपि हतियार कसले कसरी ल्याउँदैछ भन्ने विषयमा भने गम्भीर खोज र चिन्तनको आवश्यकता रहेको मल्ल्ले बताए ।

मल्लले रातोपाटीसँग भने, ‘म गलत पनि हुनसक्छु, सही पनि हुन सक्छु । तर अहिले बाहिर आएको हल्ला अनुसार महँगोमा हतियार किन्न लागिएको छ र बदनाम अनुहारले हतियार ल्याउन लागेका छन् । जसकारण यी समग्र प्रक्रियामा प्रश्न उठेको छ, शंका उत्पन्न भएको छ ।’

मल्लका अनुसार अहिले हतियारको ठेक्का पाएकाहरुका कारण नै पहिले खरिद गर्न लागिएको हतियार एकाएक क्यान्सिल गरिएको थियो । तर अहिले फेरि उनीहरू नै हतियार ल्याउने काममा संलग्न भएको हल्ला आएको छ । अनि हतियार पनि बजार मूल्यभन्दा तीन–चार गुणा बढी मूल्यमा हतियार किन्न लागेको भन्ने सुनिएको छ । त्यसकारण यो प्रक्रियामा शंका गर्ने ठाउँ धेरै छन् ।’

देशमा डलरको सञ्चिति घटिरहेको समयमा करिब ८४ करोड रकममा विभिन्न हतियार, टियर ग्याँस तथा दङ्गा नियन्त्रणका लागि भन्दै ८४ करोड रुपैयाँ बराबरको सामान किन्न लागिएको छ । कतिपयले चुनावको मुखमा कमिसन खानका लागि राजनीतिक नेतृत्वले हतियार किन्न लगाएको आरोप लगाइरहेका छन् भने कतिपयले बजार मूल्यभन्दा तीन गुणा महँगोमा हतियार किन्न लागेको भन्दै विरोध जनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप