बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र

शनिबार, ३२ असार २०७९, ०९ : ११
शनिबार, ३२ असार २०७९

मध्य असारयता  छिटो पानी नपरेपछि  मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ । महोत्तरी बाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चित बाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ ।

असार मध्य यता पानी परेको छैन । त्यसअघि  परेको पानीमा धान रोप्न भनेर  हिल्याइएका खेत अहिले सुकेका  छन्  । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन् । असार सिद्धिन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको  सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले  यहाँका किसानलाई पिरोलेको छ ।

“आज  असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के  गरी गुजारा गर्ने होला ?” भङ्गाहा नगरपालिका–४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले बिरक्तिँदै भने ।

मध्य असार अघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनै लाग्दा धान रोपाइँ जिल्लामा एक तिहाई नाघेको छैन । “उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघा खोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्छन्, “यो बढ्दो तापले सबै भताभुङ्ग पार्यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न ।” 

जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । रोपोको पनि सुकेको छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर खिस्रिक्क परेको छ । रोपेको खेतमा धाँजो फाट्दै छ । 

जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ । जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप