शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा ४६ प्रतिशत मुद्दा फछ्र्योट हुन बाँकी

शनिबार, ३२ असार २०७९, ०८ : ५९
शनिबार, ३२ असार २०७९

कैलालीमा आर्थिक वर्ष २०७८/२०७९ दर्ता भएकामध्ये ४६ प्रतिशत मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरि आएका र आर्थिक वर्ष ७८/७९ मा दर्ता भएका कुल मुद्दा मध्ये ४६ प्रतिशत मुद्दा फछ्र्योट​ हुन बाँकी रहेको हो ।

अघिल्लो वर्षका जिम्मेवारी सरि आएका मुद्दा सहित तीन हजार ८८ मुद्दा मध्ये एक हजार चार सय २४ मुद्दा फछ्र्योट​ हुन बाँकी रहेका छन् । जिल्ला अदालत कैलालीले आर्थिक वर्ष २०७८/७९ मा एक हजार छ सय ६४ मुद्दा फछ्र्योट भएको जनाएको छ ।

जिल्ला अदालत कैलालीका मुख्य न्यायाधीश जयानन्द पनेरुका अनुसार अघिल्लो वर्षका जिम्मेवारी सरि आएका जम्मा लगत मुद्दाहरु एक हजार १३ रहेकोमा सात सय ६२ फछ्र्योट भएका थिए । जसमा दुई सय ५१ बाँकी रहेका थिए । यस वर्ष नयाँ दर्ता भएका मुद्दाहरु दुई हजार ७५ रहेकोमा नौ सय दुई फछ्र्योट​ भएका थिए, भने एक हजार एक सय ७३ मुद्दा बाँकी रहेका छन् । 

मुख्य न्यायाधीश पनेरुका अनुसार लगत मुद्दाहरूमा जबरजस्ती करणी संबन्धीका दुई सय पाँच मुद्दा मध्ये ७३ मुद्दा फछ्र्योट​ भएका छन् । भने एक सय ३२ बाँकी रहेका छन् । यस्तै, लागु औषध सम्बन्धी दुई सय २९ मुद्दा मध्ये ५४ वटा मुद्दा फछ्र्योट भएका छन, भने एक सय ७५ बाँकी रहेका छन् । 

लागु औषधका घटना तथा मुद्दाको प्रकृति हेर्दा अभिभावकको रेखदेखमा कमी, विद्यालयमा उच्च शिक्षा नमिल्नु र बालबालिका सँग वृद्ध वृद्धा नखेल्ने तथा बालबालिका र वृद्ध वृद्धा पनि सामाजिक सञ्जाल डिजिटल खेलमै बढी बस्नाले यी घटना बढ्ने गरेको मुख्य न्यायाधीश पनेरुले बताए । यसमा नियामक निकायको भूमिका कत्तिको कडाइका साथ लागु भएको छ भन्ने कुराले पनि महत्व राख्ने बताउँदै पनेरुले कैलाली जिल्लामा एक व्यक्तिबाट लागु औषध बढी जसो १० ग्राम भन्दा कम बरामद भएको र सबै भन्दा बढी ३० ग्राम बरामद भएको बताए ।

यस्तै, कर्तव्य ज्यान सम्बन्धीका २२ मुद्दा मध्ये १३ फछ्र्योट​ भएका छन, भने नौ फछ्र्योट​ हुन बाँकी रहेका छन् । यसका साथै, जिल्लामा सबैभन्दा बढी मुद्दा दर्ता सम्बन्ध विच्छेदका रहेका छन् । सम्बन्ध विच्छेदका पाँच सय ५० मुद्दा मध्ये एक सय ६९ मुद्दा फछ्र्योट​ भएकोमा फछ्र्योट​  हुन बाँकी तीन सय ८१ मुद्दा रहेको मुख्य न्यायाधीश पनेरुले बताए । यी घटनाहरूको प्रकृति हेर्दा कयौँ घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लागेर सबै विदेशबाट पठाएको पैसा खर्च गरिदिनु, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने र श्रीमती तथा बालबच्चाहरुलाई पिट्ने र यी घटना बढ्नुमा सामाजिक सञ्जालको दुरुपयोग पनि मुख्य रहेको मुख्य न्यायाधीश पनेरुको भनाइ रहेको छ । 

कैलाली जिल्लामा आर्थिक वर्ष  २०७८÷२०७९ मा चेक अनादरका मुद्दा दुई सय ९१ रहेको मा एक सय ६१ फछ्र्योट​ भएका छन् भने एक सय ३० फछ्र्योट​ हुन बाँकी रहेका छन् । चेक अनादर मुद्दा बढ्नुमा भने कानुन खुकुलो हुँदा मनोमानी ढंगले चाहे जतिको रकम अन्धाधुन्ध दिनु रहेको मुख्य न्यायाधीश पनेरुको भनाई रहेको छ । पनेरुका अनुसार बालबालिका संलग्न मुद्दा एक सय ४१ रहेकोमा ६३ फछ्र्योट भएका छन् भने ७८ बाँकी रहेका छन् ।

अदालतमा कार्यसम्पादन ढिला हुने गुनासो लाई सम्बोधन गर्दै मुख्य न्यायाधीश पनेरुले उक्त गुनासो जायज रहेको तर ढिला सुस्ती हुनुमा अदालतका कर्मचारीहरूको दोष नभएको स्पष्ट पार्दै कानुनले प्रक्रियामा जाँदा उक्त समय लाग्ने गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप