विसंगत बस्तीको उहापोह
बस्तीलाई विम्व बनाएर लेखिएका धेरै साहित्यिक रचनाको लामो सूची तयार हुने देखिन्छ । मदन पुरस्कार प्राप्त सरुभक्तको पागल बस्ती, सरुबिन्दको विसंगत बस्तीहरु, जर्ज अर्वेलले लेखेका एनिमल फार्मको नेपाली अनुवाद पस्केका विश्वम्भर चञ्चलको पशुहरुको बस्ती अनि डब्बु क्षेत्रीले लेखेको चलचित्र बस्ती । यही बस्तीहरुको लहरमा मुक्तक संग्रहको रुपमा डा ऋषि बस्ताकोटीको भर्खरै प्रकाशित कृति ‘विसंगत बस्ती’ आएको छ ।
कहिले चेपाङहरुको बस्तीमा, कहिले नेपाली गाउँघरको कुना कन्दराको अनकन्टार बस्तीहरुमा चहार्ने वातावरणकर्मी डा बस्ताकोटीका‘विसंगत बस्ती’ ले अझै धेरै बस्तीहरुलाई जोड्ने र उजिल्याउने सपना देख्छ ।
उनको साहित्यिक मन र विकासे वातावरण सँगसंँगै हिँडेर सपाट, सरल, सुसंस्कृत अनि सुरम्य बस्तीको निर्माणमा अघि बढ्ने सपना देख्छ । वातावरणको विश्वव्यापी मान्यता सँगसंँगै त्यसको सुक्ष्मतम इकाई वा भनौं सुक्ष्माती सुक्ष्म चिजहरुमा पनि सुधार र शालीनताको माग गर्दछन् । त्यो भावको प्रकटीकरण आफ्नो भाष्यमा हुन्छ, कल्पनाशिलतामा हुन्छ र त्यसको प्रस्फुटन रचनाहरुमा हुन्छ भन्ने मान्यता राख्दछन् । त्यसैले विरोधभाषमा मुक्तककार बाँचेको समयको खिरिलो अभिव्यक्ति उनको मुक्तकमा भेट्न सकिन्छ ।
खुशी टाढा भागेको भागेई छ
अल्पविराम लागेको लागेई छ
पुग्ने मन थ्यो हिजो अस्तिमा
आजसम्म यतै छु, क्यारी जाउ भेट्न म
क्षितिज पारि उनको बस्तीमा
किरण बाबु पुनको शब्दमा रामजी खाँड र टीका पुनको संगीत गुन्जने गीतले भनेझैँ विसंगत बस्तीमा माया, प्रेम, सद्भाव र सामन्जस्यताको अभाव देख्दा कवि मनले यस्तै मन छुने गीतको रचना गर्दछ । त्यस्तै कवि मनका धनी ‘ज्वालाका राफारू’ तथा ‘स्पर्श’ गजल संग्रहका श्रस्टा डा बस्ताकोटीले आफ्नो शब्द संयोजनलाई मुक्तकका रुपमा थप मुखरित गरेका छन् ।
कर्णाली इन्स्टिच्युट खोलेर जुम्लाको चौधबिस क्षेत्रको कुन किसिमको बस्ती निर्माण र विनिर्माणमा लागेका थिए ?, सपनामात्र देखाएर हराए डोरबहादुर विष्ट । हाम्रो विकासको बाधक के हो, बाहुनवाद कि भाग्यवाद ? दोबाटोमा उभिएका उनी कहाँ हराए ? रहस्य नै रहस्यको पहाडजस्तो लाग्छ हाम्रो यो सुन्दर बस्ती । इतिहासदेखि वर्तमानसम्म, समाजवाददेखि साम्यवादसम्म, सुगौली सन्धिदेखि लिम्पिया धुरासम्म, बाल्मिकी, ब्यास, राम, पाण्डब, दुल्लभ ऋषि सबका सब रहस्यमय ।
‘एनिमल फार्म’ अर्थात् पशुहरुको बस्तीमा उल्लेख भएझैँ सबका सब बराबर तर कोही बराबर भन्दा पनि माथि भन्ने हो कि समाजमा समानताको जग बसाउने हो ? हिजो चार वर्ण छत्तीस जातको भेद्भावले आक्रान्त समाजलाई के अब फेरि वर्ग, लिङ्ग, जात, रंग या क्षेत्रको आधारमा विभेद गरि रहने हो ? युद्ध लडेका र नलडेका, मार्क्सवाद पढेका र नपढेका, लेभी तिरेका र न तिरेका, मुट्ठी उठाएका र न उठाएका, कम्युनमा छिरेका र नछिरेका भन्दै नववर्ग तयार गर्दै पुस्तौ बिताउँछौ भने कहिले भेट्छौ तिम्रो आदर्शको समानता ? र, कहिले बन्छ विसंगति रहित बस्ती ?
मुक्तककार ऋषिलाई पर्यावरणको उत्तिकै चिन्ता छ र लेख्छन्ः
हेर्दा हेर्दै सेतै हिमाल कालो भयो भने
च्यातिएको ओजोनको जालो भयो भने
सम्झनु कि संकटले घेर्न थाल्यो अब
उल्टो पाल्टो मौसमको पालो भयो भने
जलवायु परिवर्तन र त्यसले निम्त्याई रहेको दिनानुदिन बढ्दै गरेको मौसमी परिवर्तनले ल्याएको बाढी, पहिरो, हिमताल लगायतको संकटलाई आत्मसात गर्दछन् । विसङ्गति, विकृतिप्रतिको चोटिलो प्रहार ऋषिको बिशेषता हो भनेर लेख्छन् भूमिकामा लेखक विवश पोखरेल ।
‘चेरी फुल्दा प्रदेशमा गाउँ सम्झने’ गीतकार ऋषि मुक्तकमा यसरी पोखिन्छन् कि सेतोलाई कालो बनाउनुस् र व्यंग्य कस्छन्ः
कहिले टांकी बनाउनुस्, कहिले कोइराला बनाउनुस्
खेतालाहरु हो यो देशलाई पालोपालो बनाउनुस्
आफैसंँग रङ्ग र कुची भएपछि जसो गर्न नि मिल्छ
कालोलाई सेतो बनाउनुस्, सेतोलाई कालो बनाउनुस्
मैले जानेका, तिमीले जानेका र तिम्राहरुले जानेका भन्दा उम्दा छन् ्र बरु हाम्राले जानेका सम्म मान्न सकिन्छ भन्ने भावधारा बोकेका मानिसहरुको बाहुल्यता हुँदै गएको समयमा उनका तिखो व्यंग्य यसरी मुखरित हुन्छः
मेरै धर्ती, मेरो मात्रै आकाश भन्यो भने
प्रकृतिको दोहनलाई विकाव भन्यो भने
साझा घर हो, सहँदैन प्रकृतिले पनि
आफ्नै मात्रै समस्याको निकास भन्यो भने
सिंगो धर्तीलाई साझा घर भनेर बुझ्ने जमातका कवि आफ्नो कृतिमा निकै चोटिलो मुक्तक समेटेका छन्ः
लहराहरू झैँ लम्केको मानिस हो ऊ
चोटहरुबाट चम्केको मानिस हो ऊ
दुःखहरुले पनि दुखाउँदैन उसलाई
हिलोको कमलझैं गम्केको मानिस हो ऊ
फूलको सकारात्मक भाव, काँडाको बिझाई मात्र होइन, उनलाई छिपछिपे हिलो, दलदल, र धमिलोपना पनि उनको नजरमा लुकेको छैन ।
कसैका प्रमाणपत्र छन् नक्कली
कसैका शैक्षिकसत्र छन् नक्कली
सक्कली पो नक्कली लाग्छन् अचेल
जब यत्रतत्र सर्वत्र छन् नक्कली
अर्को सशक्त र यथार्थ मुक्तक भन्छ, जसले केही गर्ला भन्ने ठानिएको थियो, उसले बाटो बिरायो कि त सहिद भए, जसको कुनै ढंग छैन र छिनो हथौडा लिन जान्दैन, ऊ मूर्तिकार हुँ भन्दै कुद्दैछ ।
सपुतहरु सहिद भए
कपुत उल्टै वैध भए
जसलाई ईश्वर मानी पुज्यौ
अपशोच तिनै द्वैध भए
‘ज्वालाका रापहरु’मा आरबि फ्लेम बनेर कुर्लने कवि ऋषि मुक्तककारका रुपमा विसंगति, विरोधाभास र विडम्वनाले आक्रान्त समय देखेर पोखिन्छन्ः –
सिमानामा बलभद्रको गाथा हराउँछ कि
हेर्दा हेर्दै हाम्रो सगरमाथा हराउँछ कि
कमजोरीलाई अक्कर पारी छिमेकीले चेप्दा
नेपाली हौँ भन्ने भोलि नाता हराउँछ कि
उनलाई उत्तिकै चिन्ता छ, मिचिएको सिमाना र चुच्चिएको देशको नाप नक्शामा ।
माया, प्रेम, पागलपन र आस्थामा आधारित समाज निर्माणको नालीबेली समेटेको सरुभक्तको पागल बस्तीमा उनले बजार र उत्पादनसँग सम्बन्ध राख्ने अनुपम बस्ती निर्माणको प्रयास गर्छन् तर ऋषिले देखेको विडम्वना, विसंगति, विरोधाभाषपूर्ण खिचातानीले समाजलाई अर्कै गोलाद्र्धतर्फ धकेलिरहेको हुन्छ ।
सुधार र परिस्कृत त निरन्तर प्रक्रिया हो भन्ने बुझेका मुक्तककार ऋषि बस्ताकोटीको कलम अझै सशक्त बनोस् र तिखारियोस् । समाजको विसंगत परिवेशलाई चित्रण गर्दै समाज परिवर्तनका खातिर अघि बढोस् भन्ने कामना ।
अश्रांग, गोरखा, हालः कटुन्जे, भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू