अँगालोभरिको अनुभूति : एक विहङ्गम
नाम श्रवण गर्दैमा रुमानी, सुमधुर र प्रेरणाप्रद लाग्ने नेपाली वाङ्मयका अविश्रान्त साधक वसन्त श्रेष्ठद्वारा विरचित ‘अँगालोभरिको अनुभूति’ पुस्तक पढ्न पाइयो । सरसर्ती अवलोकन गर्दा अभिव्यञ्जनाले सम्मोहित हुँदै आनन्दले उद्वेलित र पुलकित भएँ ।
लेखक वसन्तले उक्त पुस्तकमा आफ्नो जीवनका विभिन्न कालखण्डहरूमा मानवीय जिजीविषा र त्यसका लागि गरेका सङ्घर्ष, अनुभूत गरेको जीवनको आरोह–अवरोहका तीता, मीठा अविस्मृत अनुभूतिका वृत्तान्त स्पष्टसँग इमानदारी तथा निर्भीकतापूर्वक रोचक ढङ्गले सम्प्रेषित गर्नुभएको छ ।
जीवन भनेको कवि बोर्खेसका कविताझैँ सम्झना मात्र नै रहेछन् । सम्झनाको सङ्कलन, अनुभवहरूको परिष्कृति नै जीवनका शुक्ल पक्ष हुन्, वैशिष्ठ्य हुन् । फ्रेन्च दार्शनिक सात्रको कथनअनुसार हाम्रो अस्तित्व हामीमाथि थोपरिएको भए पनि बाँच्नका निम्ति हामीसँग विविध विकल्प छन् । यसै मेसोमा साहित्यकार वसन्तका जीवन्त वृत्तान्तबाट जीवनप्रति आस्थावान् हुन प्रेरणा मिल्छ ।
आफ्ना प्रातः स्मरणीय पिताको असामयिक देहावसान भएपछि विरासतमा प्राप्त घरबारको जिम्मेवारी या भनौँ पारिवारिक जहाज सुचारु गर्ने दायित्व लेखकमाथि आइपर्‍यो । आफ्नो र आफ्नो परिवारको उन्नयन, सुख र समृद्धिका सपना छातीभरि बोकेर लक्ष्य प्राप्तिका लागि जिम्मेवारीपूर्ण कर्तव्यपथमा सतत् अग्रसर भइरहँदा गुज्रिएका दिनहरूका वर्णन छ यसमा ।
सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक परिवेशहरूमा घटेका सम्बद्ध घटना, परिघटनालाई सहज, सरल, सरस र सुकुमार शैलीमा अभिव्यक्ति दिने स्रष्टा हुन् वसन्त । उनका अनुशीलन, परिशीलन योग्य निजात्मकताले ओतप्रोत जीवन–उपयोगी, विशिष्ट आलेखहरु यथार्थमा नेपाली साहित्यको श्रीवृद्धि र संवर्द्धनका लागि अमूल्य सौगात हुन् ।
स्रष्टा वसन्तले आजसम्म प्रदर्शित गरेका उद्यमशीलता, सिर्जनात्मकता, कलाकौशल र सुकर्मले उहाँलाई सफलताको उत्कर्षमा पुर्याएका छन् । भगवान् बुद्धले मातापितालाई साक्षात देवता र पूर्वाचार्यको रूपमा श्रद्धा गरेझैँ आफ्नो मातापितालाई उच्च सम्मान गर्ने, मातापिताहरूको सपना साकार गर्ने सङ्कल्पलाई अनुष्ठानकै रूपमा प्रतिष्ठापित गर्ने काम गरेका छन् उनले ।
आफ्ना परिवारजनहरू भनेपछि हुरुक्कै हुने, आफ्नो जन्मभूमिलाई भूस्वर्ग नै ठान्ने, गीताको उपदेशले निर्देशित गरेझैँ सदा कर्तव्य पथमा निष्काम कर्म गर्दै अग्रसर भइरहने मोहम्मदको ‘आफू धैर्य नै भएर धीर बन’ भन्ने उपदेश अनुरूप जुनसुकै विषम परिस्थितिमा पनि अविचलित रहन्छन् उनी । नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि योगदान, सबैलाई उद्दाम, प्रेम, करुणा र सद्भावनाका साथ मीठो व्यवहार गर्ने वसन्तले आफ्नो असल कर्म कृतिमार्फत पनि उजागर गरिरहेका छन् ।
मिलिक्क बिलाइ जाने थोरै आयुको मान्छेको जुनी लिएर धर्तीमा आएका हामीले मृत्युलाई जित्नु भनेको परहितका लागि, अरूको उत्थान र कल्याणका लागि सत्कर्म गर्नु नै हो । स्वामी विवेकनन्द भन्छन्– “हामी यस धर्तीमा लिनलाई आएका हौँ ।”
हाम्रो शास्त्र भन्छ, “दाताको कहिल्यै मृत्यु हुँदैन ।” क्षणभङ्गुर देह धुलो र खरानी भएर बिलाए पनि आफ्नो कीर्ति मर्दैन । यस हिन्दी कविताले यही यथार्थतालाई उजागर गरेको हो । “हम नरहेङ्गे, तुम नरहोगे, मगर रहेगा निसानियाँ” देशविदेश जहाँ रहे पनि हर हमेसा समाज तथा राष्ट्रलाई केही न केही प्रदान गरिरहने उदारमना वसन्त श्रेष्ठलाई अझै सिर्जनात्मक काम गर्ने सफलता मिलोस्, यही कामना ।