मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

मुद्दा हारेपछि विश्वराजलाई संकट : श्रीमतीसँग सल्लाह गरेर अबको निर्णय लिने !

शुक्रबार, ३१ असार २०७९, २२ : ३४
शुक्रबार, ३१ असार २०७९

सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आफ्नो पक्षमा नआएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई संकट आइलागेको छ । अब धीरजप्रताप सिंहलाई आईजीपी स्वीकारेर चुपचाप काममा फर्किने कि राजीनामा दिने भन्ने दुई विकल्प उनीसामु आइपरेको छ । 

उनी तत्काल के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । हाल निकटस्थ र पारिवारसँगकै छलफलमै आफू रहेको पोखरेलको भनाइ छ । आईजीपीविरुद्ध तपाईँले दायर गरेको मुद्दा खारेज भएसँगै अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू अहिले छलफलमै रहेको र श्रीमती पनि बाहिर भएकाले उनी फर्किएपछि आपसी सल्लाह गरेर आइतबार वा सोमबारसम्मका उपयुक्त निर्णय लिने बताए । 

‘श्रीमती पनि बाहिर गएको छ । म आइतबार सोमबारसम्ममा सल्लाह गरेर निर्णय लिन्छु’, उनले भने । उनले रातोपाटीसँग अगाडि भने, ‘काममा फर्किन पनि सक्छु । तर, काममा फर्किने कि राजीनामा दिने भन्नेमा एकिन भने भएको छैन । सल्लाह गरेर निर्णय लिन्छु ।’ 

उनले सर्वोच्च अदालतको फैसलामा आफनो केही पनि प्रतिक्रिया नरहेको बताए । सर्वोच्चका प्रवक्ता विमल पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ । 

आईजीपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको थियो । मुद्दामा शुक्रबार निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू सतिशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहाल, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए । 

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा शुक्रबार आईजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँ पटक सुनुवाइ भएको थियो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो ।  वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

पोखरेलले आफू आईजीपी हुन नपाएपछि लामो बिदा लिएका थिए भने बिदा सकिएपछि पनि उनले पुनः बिदा स्वीकृत गराउन चाहेका थिए । तर, उनको बिदा स्वीकृति भएको थिएन । बिदा स्वीकृत नभएपनि उनी कार्यालय भने गएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप