आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

पहिलो साइन्स क्याम्पसको हरिबिजोग

वर्षात‍्मा छाना चुहिन्छ, नाम मात्रको सीएसआईटी
शुक्रबार, ३१ असार २०७९, ०९ : ४९
शुक्रबार, ३१ असार २०७९

 माथि छतबाट तप्प तप्प पानी चुहिन्छ । भुईँभर पानी छ । भित्ता पानीले मक्किएको छ । यो दृश्य हो, ठमेलस्थित अमृत (अस्कल) साइन्स क्याम्पसको पुस्तकालयको । २०७२ सालको भूकम्पले क्षति पुर्‍याउँदा भूकम्प पुनर्निर्माण प्राधिकरणले उक्त भवनमा बस्न नमिल्ने भन्दै रातो झण्डा राख्यो । तर पुनर्निर्माणको काम अघि बढेको छैन ।

२०१३ सालमा निर्माण भएको नेपालकै पहिलो साइन्स क्याम्पसको लाइब्रेरीको उक्त भवन भत्काउन मिल्दैन । त्यसलाई प्रबलीकरण (रेट्रोफिटिङ) गर्न मिल्छ । तर, भूकम्प गएको सात वर्ष हुँदा समेत न त्यसको प्रबलीकरण हुन सकेको छ, न त प्रयोगविहीन । 

भूकम्पले क्षति पुगेपछि रातो झण्डा राखिएको उक्त पुस्तकालयमा अहिले १० हजार पुस्तक यथावत् छ, जहाँ बिहान १० देखि बेलुका ५ बजेसम्म पढ्ने विद्यार्थीहरूको भीड हुन्छ । आकाशबाट हल्का पानी पर्ने बित्तिकै छतबाट पानी चुहिएर पुस्तकालयको भित्र पुग्छ र ताल बन्छ । विद्यार्थीहरू त्यही तालमाथि बसेर अध्ययन गर्छन् ।  ज्यान जोखिममा राखेर विद्यार्थी अध्ययनमा हुन्छन् भने कर्मचारी आफ्नो ड्युटी गर्छन् । पुस्तकालयका असिस्टेनट लाइब्रेरियन रमेश निरौला ज्यान जोखिममा राखेर ड्युटी गर्नु परिरहेको बताउँछन् । 

‘एकछिन पानी पर्दा छतबाट चुहिएर पुरै कोठाभरी पानी हुन्छ । भित्ता पुरै पानीले मक्किसकेका छन् । त्यसमा भूकम्पले चिरा चिरा परेको छ । कतिबेला के हुने हो, थाहा छैन ।’ निरौलाले भने ।  

सरकारले पुस्तकालयको रेट्रोफिटिङका लागि २ करोड ८५ लाख बजेट छुट्याएको थियो । तर, अहिलेसम्म भवनको रेट्रोफिटिङ हुन सकेको छैन । पुस्तकालय भवनको भन्दा कन्तबिजोग त अन्यत्र छ । यतिसम्म कि पुरुष शौचालयलाई गोदाम बनाइएको छ, जहाँ कवाडी सामान राखिएको छ । 

७ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा करिब १५ सय विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई पढ्न २६ वटा मात्रै कक्षाकोठा छन् । २०४८ सालपछि त्यहाँ कुनै पनि नयाँ संरचना बनेका छैनन् । 

सहायक क्याम्पस प्रमुख रवीन्द्रसिंह महत त्रिभुवन विश्वविद्यालयले भौतिक पूर्वाधारका लागि बजेट नदिएको गुनासो गरे । ‘भौतिक पूर्वाधारका लागि बजेट छुट्याउनु छैन, खाली विद्यार्थी कोटा मात्र थपिराखेको छ । जसले गर्दा अभावै अभावकाबीच विद्यार्थीलाई पढाउनु परिरहेको छ ।’ महतले भने । 

क्याम्पस प्रमुखदेखि कर्मचारीको मनलाग्दी  

हरेक कर्मचारी तथा शिक्षकहरूले क्याम्पस लागेको समय अनिवार्य उपस्थित हुनुपर्छ । र, आफ्नो ड्युटी अनुसारको काम गर्नुपर्छ । तर, क्याम्पस प्रमुख लोकबहादुर बरालको कार्यकक्षमा प्रायः ताला झुण्डिरहेको हुन्छ । 

सीएसआईटीका विद्यार्थी एलएस धामीका अनुसार क्याम्पस प्रमुख मात्रै होइन, प्रशासनिक कर्मचारीसमेत मन लागेको बेला कलेज आउने, मन नलागेको दिन आउँदैनन् । 

‘केही काम पर्‍यो भने कर्मचारीलाई फोन गरेर खोज्न जानुपर्छ । आफ्नो ड्यूटीमा बसे त त्यसरी खोज्नुपर्ने थिएन नि । एक घण्टामा हुने सामान्य काम पनि कर्मचारी नआउँदा हप्तौं लाग्छ,’ धामीले भने । 

क्याम्पसमा आएका कर्मचारीमा पनि अचम्मको रोग छ । कार्यालयमा आएपछि एक छिन पनि कुर्सीमा बस्न सक्दैनन् । कोही कता जान्छन्, कोही गफमा व्यस्त हुन्छन् । 

नाम मात्रको सीएसआईटी  

अमृत साइन्स क्याम्पस सीएसआईटीको केन्द्रीय क्याम्पस हो, जहाँ बीएस्सी सीएसआईटीका लागि १४४ र बिआईटीका लागि ३६ जनाको सिट क्षमता छ । 

सीएसआईटी कोर्स विद्यार्थीको रोजाईमा पर्छ । तर, यहाँ पढ्न आउने विद्यार्थी भन्छ, ‘दशा बिग्रिएर भर्ना भएछु ।’ 

हुन पनि किन न होस् । न राम्रोसँग पढाई हुन्छ, न राम्रो कम्प्युटर ल्याब नै छ । २५ वटा कम्प्युटरमा राम्रोसँग चल्ने ५ वटा मात्रै छन् । अरूमा कसैमा विद्युतीय लाइन नै जडान गरिएको छैन, कसैमा सीपीयू नै छैन । 

विद्यार्थीहरूले समस्याबारे विभागीय प्रमुख डा. विनोद अधिकारी, क्याम्पस प्रमुख, प्रशासनलाई पटक पटक अवगत गराइसकेका छन् । उनीहरूको गुनासो न विभागीय प्रमुखले सुन्छन्, न क्याम्पस प्रमुखले । 

रातोपार्टीकर्मीले विद्यार्थीको गुनासोबारे विभागीय प्रमुख अधिकारीलाई प्रश्न गर्दा उनले भने, ‘मैले मिडियामा बोलेर के हुने हो र ? समस्या छ भन्ने मलाई पनि थाहा छ । हाम्रो समस्या तपाईंलाई बताएर समाधान हुने हो र ?’

आफ्नो काम मिडियाबाजी गर्दै हिँड्ने नभएको भन्दै उनी जवाफ दिनबाट पन्छिए । उनी प्रमुख भएको कक्षाकोठाका कम्प्युटरमा मात्रै समस्या होइन, सीएआईटीको लागि भन्दै खोलिएको पुस्तकालयमा पनि उस्तै छ । 

पुस्तकालयमा रहेको एउटा कम्प्युटर खोल्न एक घण्टा लाग्छ । ‘नाम मात्रको लाइबेरी हो । न राम्रोसँग कम्प्युटर चल्छ, न विद्यार्थीले शिक्षकहरुबाट केही सिक्न पाउँछन् । समस्याबारे भन्दा विभागीय प्रमुखको रुखो जवाफ सुन्नुको विकल्प छैन,’ विद्यार्थी धामीले भने । 

विज्ञान प्रयोगशालाको पनि उस्तै गति छ । विद्यार्थीले प्रेक्टिल गर्न समेत उपकरण पाउँदैनन् । 

विज्ञान पढ्ने विद्यार्थी पाउनै गाह्रो  

कुनै समय अमृत साइन्स क्याम्पसमा पढ्नको लागि विद्यार्थीहरू मरिहत्ते गर्थे । त्यहाँ पढ्न निकै पापड पेल्नुपथ्र्यो । तर, अहिले विद्यार्थी पाउनै मुस्किल भएको छ । बीएस्सीका लागि ५ सय जनाको सिट छ । तर, मुस्किलले २ सय जना विद्यार्थी भर्ना भएका छन् । 

२०६७ सालदेखि अमृतबाट आइएस्सी कार्यक्रम हट्यो । त्यसपछिबाट भने बीएस्सी पढ्ने विद्यार्थीको संख्यामा कमी आएको सहायक क्याम्पस प्रमुख महत बताउँछन् । 

सूचना र प्रविधिको विकास भएसँगै विद्यार्थीहरू विज्ञानभन्दा पनि प्राविधिक विषय पढ्न थालेपछि यस्तो समस्या आएको उनको भनाई छ । 

५३ दिनसम्म क्याम्पसमा तालाबन्दी  

अमृत क्याम्पसमा वैशाख ४ देखि जेठ २७ गतेसम्म तालाबन्दी भयो । बीएस्सी सीएसआईटी पढ्ने विद्यार्थीको भर्नालाई लिएर अनेरास्ववियूले तालाबन्दी गरेको थियो । त्यो बेला क्याम्पस प्रमुख बराल कलेज नै जान सकेनन् । 

गत चैत २९ गते त्रिविले अमृतमा सीएसआईटी पढ्न १५ सय जनाको सूची निकाल्यो । ती मध्ये कोटाअन्तर्गत १४४ जनामा १३६ जना भर्ना भए । ८ जनाका लागि कलेजले नै पुनः आवेदन आह्वान गर्‍यो । त्यसपछि विवाद सुरु भयो । त्रिविले निकालेको सूचीअनुसार नै भर्ना गर्नुपर्ने लगायत सात सुत्रीय माग राख्दै अनेरास्ववियूले वैशाख ४ गतेदेखि तालाबन्दी गर्‍यो । 

वैशाख ११ गते त्रिविको डिन कार्यालयबाट आएको लिष्टअनुसार नै जान क्याम्पस प्रशासन तयार भयो । सोहीअनुसार नयाँ लिष्ट आयो । त्यहीबेला कलेजका विद्यार्थीले कलेजको लेटर प्याडमा अर्को लिष्ट निकाले । 

क्याम्पसको छाप र लेटरप्याड प्रयोग गरेर विद्यार्थीले कीर्ते काम गरेको भन्दै क्याम्पस प्रशासनले प्रहरीमा उजुरी दियो । अनेरास्ववियू क्याम्पस इकाई अध्यक्ष रुद्रहरि पोखरेल र बीएस्सी सीएसआईटीका पूर्व विद्यार्थी तथा एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य कमलराज जोशीविरुद्ध क्याम्पस प्रशासनले कीर्ते गरेको भन्दै उजुरी दिएको थियो । सोही आधारमा पोखरेल पक्राउ परे । तर, जोशी भने अझै फरार छन् । यो विषय अहिले पनि समाधान हुन नसकेको सहायक क्याम्पस प्रमुख महत बताउँछन् । 

यो विषय सेलाउन नपाउँदै क्याम्पसमा अर्को विवाद सुरु भयो । जेठ २२ गते एक विद्यार्थीले कुटेको भन्दै क्याम्पसका रसायन शास्त्रका उप–प्राध्यापक दिवाकर पाण्डेले प्रहरीमा उजुरी दिए । 

अनेरास्ववियू अमृत क्याम्पस इकाइ कमिटीका सहसचिव पंकज पाण्डेले आफूमाथि दुव्र्यवहार गर्नुका साथै कक्षाकोठाभित्र थुनेर कुटपिट गरेको आरोप उनले लगाए । कुटपिट गर्ने बेला रुद्रहरिको मुद्दा फिर्ता लिन दबाब दिएको उप–प्राध्यापक पाण्डेको भनाई छ । तर रुद्रहरिले भने यो आफूसँग सरोकार नहरेको विषय भएको दाबी गरे ।  यस विषयमा अहिले पनि प्रहरी अनुसन्धान चलिरहेको उनको भनाइ छ । 

यो विषयमा पनि अझै विवाद कायमै छ । यसरी क्याम्पसमा साझा मुद्दामा छलफल गर्नुभन्दा पनि सीमित स्वार्थका लागि विद्यार्थी संगठनहरु लागिपरेको क्याम्पस प्रशासनको आरोप छ । 

नयाँ भवनका लागि ५० करोड बजेट 

नयाँ भवन निर्माण गर्नका लागि शिक्षा मन्त्रालयले ५० करोड बजेटको व्यवस्था गरेको छ । कलेजकै नाममा रहेको १४ रोपनी जग्गामा भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको कलेज प्रशासन बताउँछ । 

त्यसका लागि चीनको एक्जिम बैंकले आर्थिक सहयोग गर्ने र दरबार हाइस्कुल मोडलमा चिनियाँ कम्पनीले नै निर्माण गर्ने गरी तयारी भइरहेको महतको भनाई छ । 

रेट्रोफिटिङका लागि २ करोड ५० लाख बजेटको व्यवस्था गरिएको छ । त्यस्तै भवन निर्माणकै लागि भनेर कलेजको कोषमा २ करोड छ । ल्याब सामग्री खरिदका लागि एक करोड ५० लाख बजेट छुट्याइएको महतले बताए । 

कलेजमा १२२ जना शिक्षक छन्, जसमा ५ जना प्राध्यापक, २३ जना सह–प्राध्यापक, ८८ जना उप–प्राध्यापक र ६ जना शिक्षण सहायक छन् । १०० भन्दा बढी आंशिक शिक्षक छन् । ७० जना कर्मचारी छन् । 

राजनीति हाबी हुँदा कलेज लथालिङ्ग 

केही नयाँ काम खोजियो कि क्याम्पसमा तालाबन्दी गरिहाल्ने समस्या अमृत क्याम्पसमा छ । यसको प्रमुख कारण राजनीति नै हो । 

अमृतको क्याम्पस प्रमुख बराल नेकपा माओवादी केन्द्रको भागबण्डाबाट आएका हुन् । जबकि कलेजमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू हावी छ । 

राजनीति हाबी हुँदा काम गर्न समस्या भइरहेको क्याम्पस प्रमुख बराल बताउँछन् । ‘क्याम्पसमा मुद्दा सबैका साझा मुद्दा हुन् । तर, केही गर्न खोज्यो कि तालाबन्दी, तोडफोड गर्ने प्रवृत्ति बढेको छ,’ प्रमुख बरालले भने ।  

शिक्षक कर्मचारीसमेत नियम कानुन पालना गर्ने, आफ्नो कर्तव्यप्रति निष्ठावान् हुन सकेका छैनन् । 

‘शिक्षकहरूले विगतमा सेवाभावले पढाउने गरेका थिए । तर, अचेल सेवाभाव भन्दा पनि दौडधुपमा बढी व्यस्त भए । आङ्गिक क्याम्पसलाई महत्त्व दिनुभन्दा पनि बाहिर निजी कलेजमा पढाउन थाले,’ महतले भने, ‘कलेजले उनीहरूको समय अलिकति पनि तलमाथि गरिदिने हो भने उनीहरू समस्यामा पर्छन् ।’ 

अमृत क्याम्पसमा अहिले पूर्वाधारको चरण अभाव छ । त्यस्तै प्रशासनिक सुधारको आवश्यकता देखिएको छ । 

विद्यार्थीहरूमा समेत शिक्षकप्रति गर्ने सम्मान तथा आदरमा कमी देखिएको छ । अमृतमा २०६५ सालयता स्ववियू निर्वाचन हुन सकेको छैन, जसले गर्दा विद्यार्थी संगठनहरुको दादागिरी मौलाइरहेको महतको भनाई छ । 

तर, विद्यार्थीहरू भने कलेजले केही गर्न नसकेपछि सम्पूर्ण दोष विद्यार्थीमाथि लगाउने गरेको बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप