बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कोभिड–१९ महामारीमा भएको खर्चमा १ करोड ८८ लाखको हिसाब गायब

बिहीबार, ३० असार २०७९, १९ : ५४
बिहीबार, ३० असार २०७९

कोभिड–१९ महामारीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायबाट महामारी रोकथाम नियन्त्रण र उपचारका लागि भएको खर्चमा एक करोड ८८ लाखको हरहिसाब नै गायब भएको पाइएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा १ करोड ८८ लाख रुपैयाँको हिसाब मिलान नभएको हो ।

मन्त्रालय र मातहतका निकायबाट कोभिड–१९ महामारी रोकथाम नियन्त्रण र उपचारका लागि सो वर्ष १० अर्ब ७३ करोड २२ लाख खर्च भएको छ । जसमध्ये कार्यालय सञ्चालनमा २६ करोड ७८ लाख, कार्यक्रम खर्चमा १ अर्ब १५ करोड ६५ लाख, सशर्त अनुदानमा ४ अर्ब ४ करोड ९ लाख, औषधि खरिदमा ४ अर्ब ७१ करोड ३५ लाख र पुँजीगततर्फ ५५ करोड ३५ लाख खर्च भएको देखिन्छ ।

तर, महालेखा नियन्त्रक कार्यालयले पेस गरेको प्रतिवेदन अनुसार १० अर्ब ७१ करोड ३४ लाख रुपैयाँको मात्र हरहिसाब पाइएको छ ।  कोरोना महामारीमा किट खरिदमा चरम लापरवाही भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार एन्टिजेन किट खरिद लागतमा भुक्तानी गर्नुपर्ने आधार प्रमाण पेस नभइकन पनि भुक्तानी गरेको पाइएको छ ।

युनिसेफबाट १५ अप्रिलमा २०२१ मा १ लाख ५५ हजार सेट एन्टिजेन्नट किट खरिद गर्दा लागतको भुक्तानी गर्नुपर्ने कुनै पनि आधार नपाइएको प्रतिवेदनमा उल्लेख छ । एन्टिजेन किट खरिद गर्दा लागत अनुमानमा भाडा, बीमा, ह्याण्डलिङ चार्जसमेत समावेस गरिसकेपछि कन्टिन्जेन्सी बफरबापत समेत भुक्तानी दिएको तर त्यसको आधार र प्रमाण पेस नभएकाले उक्त रकम फिर्ता गर्नुपर्ने प्रतिवेदनमा भनिएइको छ ।

यस्तै, युनिसेफबाट ३० जून २०२१ मा ५ लाख सेट एन्टिजेन किट खरिद गर्दा अनुमान लागतभन्दा बढी भुक्तानी गरेको पाइएको छ ।  २० सेप्टेम्बर २०२१ मा पेस भएको बिल, बीजकअनुसार अमेरिकी डलर १३ लाख १० हजार १९ मात्र खर्च भएको देखिएको तर अमेरिकी डलर १४ लाख ७ हजार ५०० सय भुक्तानी गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

‘बालबालिकालाई दिइने खोप खेर फालियो’

महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा खोप कार्यक्रम मितव्ययी र कुशल रुपमा सञ्चालन नभएको उल्लेख गरिएको छ । प्राप्त खोप अस्वाभाविक रुपमा खेर गएको पाइएको पनि प्रतिवेदनमा जनाइएको छ ।

खोप लिने तालिका बनाई व्यवस्थापन गर्नुपर्ने विषय अघिल्लो वर्ष नै औंल्याइएको भए पनि यो वर्ष पनि सुधार नभएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार बीसीजी खोप २० लाख ९५ हजार ३९८ मात्रा खेर गएको छ । यस्तै, पेन्टा डीपीटी ४ लाख ६४ हजार १५२ मात्रा, दादुरा रुवेला खोप ९ लाख २७ हजार ५३३ मात्रा खेर गएको छ । पोलियो ओपीभी ४ लाख ६३ हजार ५४१ मात्रा जेई खोप ४ लाख ३६ हजार ४४६ मात्रा, टीडी ४ लाख १३ हजार ३३३ मात्रा खेर गएको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप