बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘आकाश र पूजालाई मात्र होइन, ‘सम्झना विर्सना’ को कथा हेर्न हलमा आउनुस्’ (भिडियो संवाद)

बिहीबार, ३० असार २०७९, १९ : ०६
बिहीबार, ३० असार २०७९

शुक्रबार अर्थात् असार ३१ बाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘सम्झना विर्सना’ जसरी भएपनि चल्नैपर्ने चुनौती रहेको अभिनेता आकाश श्रेष्ठले बताएका छन् । रातोपाटीसँगको टक विथ द टप कार्यक्रममा बोल्दै अभिनेता श्रेष्ठले लामो समयपछि पर्दामा जाँदै गर्दा दर्शकको माया र विश्वासका लागि पनि चलचित्र चल्नैपर्ने दवाव रहेको बताएका हुन् ।

अभिनेता श्रेष्ठ र अभिनेत्री पूजा शर्मा यसै फिल्ममार्फत् करिब ४ वर्षपछि हल प्रवेश गर्दैछन् । त्यसैले पनि दुवै जनाको स्टार्डम भरथेगका लागि चलचित्र चल्नैपर्ने चुनौती छ । यद्यपि व्यावसायिक पाटो भन्दा पनि चलचित्रको कन्टेन्टले दर्शकको मन जित्न सके आफ्नो आगामी करियरलाई झनै सहयोग पुग्ने श्रेष्ठ बताउँछन् ।

‘अरु भन्दा पनि आफैले आफैलाई नै चुनौतीका रूपमा लिएको छु । दर्शकले पनि पहिलेका चलचित्र भन्दा भिन्न र राम्रो कुराकै आशा गर्नु भएको हुन्छ । यो चलचित्र सफल भए भविष्यका लागि पनि सहज हुन्छ’, श्रेष्ठ भन्छन् ।

चलचित्रमा मनोरञ्जनमात्र नभएर सामाजिक सन्देश पनि भएकाले अभिनेता श्रेष्ठ हलसम्म आएर चलचित्र हेरेर आफूलाई लागेको प्रतिक्रिया दिन दर्शकसमक्ष आग्रह गर्छन् । भन्छन्, ‘हामीले नेपालसहित भारतका विभिन्न स्थानमा चलचित्रको छायांकन गरेका छौं । जहाँ बहुसंख्यक् नेपालीभाषीको पहुँच छ, त्यहाँसम्मका समस्यालाई चलचित्रमा समेट्ने प्रयास गरेका छौं । त्यसले पनि चलचित्रमा थप नयाँ आयाम पस्कनेमा म विश्वस्त छु ।’

यसअघि पनि थुप्रै पटक अभिनेत्री पूजा शर्मासँग स्क्रिन सेयर भए पनि चलचित्र ‘सम्झना विर्सना’मा फरक अनुभवसहित सहकार्य गरेको अभिनेता श्रेष्ठले बताए । एउटा चलचित्र सफल हुन स्क्रिप्ट अनुसारको योजना र सोही अनुसारको मिहिनेतको आवश्यकता ठान्छन् उनी । सुनाउँछन्,‘चलचित्र सफल हुन स्क्रिप्ट अनुसारको योजना र मिहिनेत चाहिन्छ । त्यसैले यसका दुई पाटा भनेको कन्टेन्ट र मेकिङ नै हो ।’ उनी चलचित्र सफल हुनुमा त्यसको प्रचार प्रसारको भूमिका पनि उल्लेख्य हुने मत राख्छन् ।

शुक्रबार नेपाली चलचित्र ‘सम्झना विर्सना प्रदर्शनमा आउँदै छ । चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य अभिनय छ । करिब ४ वर्षपनि आकाश र पूजाको अभिनय रहेको यो चलचित्रमा विशेष गरेर त्रिकोणात्मक प्रेम कथालाई प्राथमिकतामा राखिएको छ ।

कतिपय चलचित्र कलाकारको स्टार्डमले पनि चल्ने गरेका छन् । तर, यस पटकको सम्झना विर्सनाका सन्दर्भमा भने आकाश श्रेष्ठ दर्शकका लागि फरक सल्लाह दिन्छन् । भन्छन्, ‘यस पटक आकाश र पूजालाई मात्र हेर्न मात्र होइन, सम्झना विर्सनाको सिंगो कथा÷ कन्टेन्ट हेर्न आउनुस् ’, उनी थप्छन्, ‘कलाकार भनेको चलचित्रले बनाउने हो, कन्टेन्टले र, मेकरले बनाउने हो । त्यसैले कन्टेन्ट हेर्न आउनुहोस् ।’

चलचित्रमा अभिनेता आकाशसहित पूजा शर्मा, सुनिल थापा, छुुल्ठिम गुरुङ लगायतको अभिनय रहेको छ ।

पछिल्लो समय अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठ बीचमा व्यक्तिगत सम्बन्धमा देखिएको दरारको पनि चर्चा हुने गरेको छ । चलचित्र ‘सम्झना विर्सना’लाई नै लिएर पनि प्रचार प्रसारमा सँगै हिँड्न नरुचाएका गसिप बन्ने गरेका छन् ।

अभिनेता श्रेष्ठले सकेसम्म प्रचार प्रसारमा अभिनेत्री पूजा शर्मासँग सँगै हिँडिरहेको र कहिँकतै आ–आफ्नो व्यस्तताले फरक फरक हुन गएको बताउँछन् । उनले कसैसँग पनि आफूले रिसराग नराखेको र बजारमा आउने गरेका गसिपका बारेमा उति सारो ध्यान नदिएका प्रष्ट्याउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप