शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयता कार्यान्वयन सन्तोषजनक छैनः महालेखाको प्रतिवेदन

बिहीबार, ३० असार २०७९, १७ : ३०
बिहीबार, ३० असार २०७९

महालेखा परीक्षकको प्रतिवेदनले संघीयता कार्यान्वयनको समग्र अवस्था सन्तोषजनक नरहेको उल्लेख गरेको छ । ५९औं वार्षिक प्रतिवेदनमा संघीयता कार्यान्वयनको समग्र अवस्था नै सन्तोषजनक नरहेको महालेखा परीक्षकले जनाएको हो ।

अधिकार क्षेत्र अनुरूप कानून निर्माण नभएको एवं वित्तीय संघीयताले मूर्तरूप लिन नसकेको बताइएको छ । अधिकार क्षेत्र अनुरूप संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक ढङ्गले कानून निर्माण गर्न ध्यान दिनुपर्ने समेत औंल्याइएको छ । संघले प्रदेशले सशर्त अनुदान उपलब्ध गराउँदा क्रियाकलाप नै तोकेर सशर्त अनुदान उपलब्ध गराउने परिपाटी अन्त्य गरी क्षेत्रगत शर्त र लक्ष्य तोकेर उपलब्ध गराउने व्यवस्था हुनुपर्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशका लोकसेवा आयोगहरूको प्रभावकारिता अभिवृद्धि गरी प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने समेत बताइएको छ । समन्वय परिषदमार्फत विवाद निरूपण गर्ने एवं प्राकृतिक स्रोतको प्रयोग गर्दा लाभको वितरण समन्यायिक, सन्तुलित र पारदर्शी रूपमा गर्नुपर्ने समेत बताइएको छ । 

संघीयता कार्यान्वयनका लागि स्थानीय सरकारलाई राजस्वको दायरा बढाउन प्रोत्साहित गर्नुको साथै साझा अधिकार अन्तर्गत संकलित राजस्व सम्बन्धित विभाज्य कोषमा जम्मा गरी समयमै बाँडफाँट गर्नुपर्ने समेत प्रतिवेदनमा उल्लेख छ । संविधानमा उल्लिखित साझा अधिकारका विषयहरू मध्ये प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने कार्यक्रमहरूसमेत संघ र प्रदेशले राख्ने गर्दा सडक, सिँचाइ ,कृषि, पशु ,वन स्वास्थ्यलगायतका विषयगत क्षेत्रहरूको कार्यक्रम कार्यान्वयनमा देखिएको दोहोरोपनलाई नियन्त्रण गर्नुपर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप