आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई एमालेको प्रश्न : बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने देश कहाँ छ ?

बिहीबार, ३० असार २०७९, १७ : २४
बिहीबार, ३० असार २०७९

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले हालै दर्ता गरेको नागरिकता विधेयकमा राखिएका विभिन्न प्रावधानमाथि प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेले आपत्ति जनाएको हो । 

एमाले सांसद कृष्णभक्त पोखरेलले वैवाहिक अंगीकृत नागरिकता दिने विषयमा सरकारले बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने व्यवस्था गर्न खोजेको भन्दै आपत्ति जनाए । सांसद पोखरेलले बिहे गरेर आउने बुहारीलाई कति समयपछि नागरिकता दिने हो भन्ने बिषयमा बोल्न नहुने हो भन्दै प्रश्न गरे । 

उनले प्रश्न गरे– ‘बिहे गरेर आएको भोलिपल्टै नागरिकता दिने देश कहाँ छ नाम दिनुपर्यो । हैनभने भारतमा नेपाली चेली बिहे गरेर गएपछि नागरिकता पाउन ७ वर्ष लाग्छ । अमेरिका बेलायत जहाँको हेरे पनि ५ वर्षभन्दा अगाडि पाइँदैन । यसमा छलफल गरौँ। तर कत्ति पनि हुन्न भोलिपल्टै दिनुपर्छ भन्ने लाइनबाट विधेयक आएको छ दुनियाँको अभ्यास हेरेर एउटा निष्कर्षमा पुग्न जरुरी छ ।’

उनले जन्मसिद्ध नागरिकका सन्तानले संविधान बनेको यति लामो समयसम्म पनि नागरिकता नपाउने अवस्था हुन नहुने बताए । यस्तै गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा अघिल्लो विधेयक भन्दा संकुचित व्यवस्था गरिएको टिप्पणी गरे । यस्तै संविधानमा महिलाले पाएको अधिकार कटौती हुनेगरी विधेयक आएको बताए । 

उनले भने– ‘संविधानको धारा १२ मा वंशीय आधार तथा लैङ्गिक पहिचान दिने भनिएको छ । महिलाहरुले यति लामो समय आन्दोलन गरेर, लडेर संविधानमा गरिएको व्यवस्था तपाईलाई काट्ने अधिकार कसले दियो ? यो नागरिकता ऐनमा त्यो कुरा उल्लेख नगरीकन यो विधेयक ल्याउने अधिकार कहाँ छ ? हिजो सुव्यवस्थित तरिकाले लेखेर ल्याएको कुरा कटौती गरिएको छ गृहमन्त्रीजी । हिजोको विधेयकमा परिवारका सदस्य पनि सनाखत गर्न आउनुपर्ने भन्ने राम्रा प्रबन्ध काटेर फाल्नुपर्ने कारण के ?’

विगतमा एमालेले ल्याएको विधेयकलाई फिर्ता गर्नुपर्ने परिस्थिति नभएको बताउँदै उनले सदनबाट त्यसमा आवश्यक संशोधन गरेर पास गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप