३ वर्षमा बेरोजगारी दर ५ प्रतिशतमा झार्ने, प्रतिव्यक्ति आय १३८० अमेरिकी डलर पुर्याउने लक्ष्य
प्रदेश १ सरकारले आर्थिक वर्ष २०८१÷०८२ सम्ममा हाल ७.३० प्रतिशत रहेको बेरोजगारी दरलाई ५ प्रतिशतमा झार्ने लक्ष्य सार्वजनिक गरेको छ । प्रदेश योजना आयोगले बुधबार सार्वजनिक गरेको मध्यकालीन खर्च संरचना प्रतिवेदनमा आगामी ३ वर्षभित्रमा प्रतिव्यक्ति कूल राष्ट्रिय आय १ हजार ३ सय ८० अमेरिकी डलर पुर्याउने लक्ष्य पनि लिइएको छ ।
हाल प्रदेश १ मा बहुआयामिक गरिबी १५.९० प्रतिशत रहेको अनुमान गरिएको छ । उक्त संख्यामा घटाउँदै आर्थिक वर्ष २०८१÷०८२ मा १४.५० मा झार्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सार्वजनिक गरेका थिए । उक्त मध्यकालीन खर्च संरचनाले दीर्घकालीन राष्ट्रिय सोच समृद्ध नेपाल, सुखी नेपाली, प्रादेशिक दीर्घकालीन सोच स्वच्छ, सुखी र समुन्नत प्रदेश र प्रादेशिक दीर्घकालीन लक्ष्य सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण हुने अवधारणा तय गरेको छ ।
यस्तै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशीक दीर्घकालीन सोचका १२ आधार स्तम्भ पनि निर्माण गरिएको छ । स्वच्छ तर्फ स्वस्थ्य र सन्तुलित पर्यावरण, आधारभूत सरसफाई सुविधा, नवीकरणीय उर्जा र जैविक कृषिलाई राखिएको छ । यस्तै सुखी तर्फ परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, सुशासन र जीवनस्तर रहेको छ । यस्तै समुन्नत उच्च र समातामूलक आय, मानव पूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तर आबद्धता, उच्च र दिगो उत्पादन र उत्पादकत्व आधार स्तम्भ रहेका छन् । राष्ट्रिय लक्ष्यसँग सामन्जस्यता कायम गरी आधारस्तम्भका ६६ वटा प्रादेशिक लक्ष्य, गन्तव्य र सूचक पनि मध्यकालीन खर्च संरचनामा निर्धारण गरिएको छ ।
सोही लक्ष्य, गन्तव्य र सूचकको आधारमा प्रदेशको कूल ग्राहस्थ उत्पादन उत्पादकको मूल्य १० खर्ब २६ अर्ब २३ करोड पुर्याउने, वार्षिक आर्थिक वृद्धिदर ८.६२ पुर्याउने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.४१ प्रतिशत रहेको अनुमान गरिँदै आएको छ ।
यस्तै कृषि क्षेत्रको वृद्धिदर ४.६० प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ । हाल कृषि क्षेत्रको अनुमानित उपलब्धी २.८६ प्रतिशत रहेको छ । लक्ष्य अनुसार कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान हाल २१३.८० अर्ब रहेको अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा भने त्यसलाई बढाएर २६०.६० अर्ब पुर्याउने लक्ष्य राखिएको छ ।
यस्तै उद्योगको ९.५० प्रतिशत पुर्याउने, गैरकृषि क्षेत्रको ९.६७ प्रतिशत, सेवा क्षेत्रको ११.४३ प्रतिशत र प्रतिव्यक्ति कूल राष्ट्रिय आय १ हजार ३ सय ८० अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ । हाल प्रदेश १ को प्रतिव्यक्ति कूल राष्ट्रिय आय १ हजार २ सय ६७ रहेको अनुमान छ ।
सोही मध्यकालीन खर्च संरचनामा वनले ढाकेको क्षेत्रफल प्रदेश १ मा २०८१÷०८२ सम्ममा ५० प्रतिशत पुर्याउने लक्ष्य पनि लिइएको छ । चालू आर्थिक वर्ष (२०७८÷०७९) मा वनको क्षेत्रफल ४८.९६ प्रतिशत रहेको अनुमान गरिएको छ ।
यस्तै प्रदेश १ का जनताको अपेक्षित आयु हाल ७१.६० रहने अनुमान भइरहेको बेला आगामी आर्थिक वर्ष २०८१÷०८२ सम्ममा ७२.१० पुर्याउने लक्ष्य लिइएको छ । यस्तै ५ वर्ष मुनिका बाल मृत्युदरलाई पनि अनुमानित २७ प्रतिशतबाट घटाएर २१ प्रतिशतमा झार्ने, आधा घण्टाको दूरीमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने परिवार ८५ प्रतिशत पुर्याउने लक्ष्य पनि लिइएको छ । हाल आधा घण्टाको दूरीमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने परिवारको संख्या ७० प्रतिशत मात्रै छ ।
यस्तै बहुआयामिक गरिबीमा रहेको जनसंख्या पनि घटाउने लक्ष्य मध्यकालीन संरचनाले लिएको छ । हाल प्रदेश १ मा बहुआयामिक गरिबी १५.९० प्रतिशत रहेको अनुमान गरिएको छ । उक्त संख्यामा घटाउँदै आर्थिक वर्ष २०८१÷०८२ मा १४.५० मा झार्ने लक्ष्य लिइएको छ ।
यस्तै विद्युत् पहुँच प्राप्त परिवार हाल ९८ प्रतिशत रहेको र अबको ३ वर्षमा ९९ प्रतिशत पुर्याउने, आधारभूत खानेपानी पुगेको जनसंख्या हाल ९८.२० रहेकोमा ३ वर्षपछि ९९.१० प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको छ ।
हाल सुरक्षित खानेपानी पुगेको जनसंख्या हाल २१ प्रतिशत रहेको छ भने ३ वर्षपछि २६ प्रतिशतमा पुर्याउने लक्ष्य लिइएको छ ।
यस्तै ९७ प्रतिशत जनसंख्यालाई यातायातको पहुँच आधार घण्टाको दुरीमा पुर्याउने, श्रमको उत्पादकत्व वार्षिक ३ लाख रुपैयाँ पुर्याउने, औपचारिक क्षेत्रको रोजगारीमा हिस्सा ५५ प्रतिशत पुर्याउने पनि लक्ष्य लिइएको छ । हाल औपचारिक रोजगारीको क्षेत्रमा ४३.७० प्रतिशत रहेका छन् ।
यस्तै प्रदेशको हालको ९३ प्रतिशत साक्षरता दरलाई बढाउँदै ९९ प्रतिशत पुर्याउने, काम गर्ने उमेरका प्राविधिक तथा व्यवसायिक तालिमप्राप्त जनसंख्या ५३ प्रतिशत पुर्याउने, उच्च शिक्षामा भर्ना दर २२ प्रतिशत पुर्याउने पनि लक्ष्य राखिएको छ ।
यस्तै कृषि भूमिको उत्पादकत्व (प्रमुख बाली)मा प्रति हेक्टर ४.१० मेट्रिक टन रहेकोमा यसलाई ५ मेट्रिकटन पुर्याउने लक्ष्य राखिएको छ । सोही मध्यकालीन संरचना अनुसार प्रदेश १ को बजेटको आकार आर्थिक वर्ष २०८१÷८२ मा ४३ अर्ब ८१ करोड १४ लाख ७६ हजार पुग्ने अनुमान पनि गरिएको छ ।
मध्यकालीन संरचनामा हाल विनियोजन गरिएको बजेटमा सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तर आबद्धताको क्षेत्रमा ४६.५२ प्रतिशत छुट्याइएको छ । उक्त बजेटलाई घटाएर जीवनस्तर उकास्ने, स्वास्थ्य, नवीकरणीय उर्जा, जैविक कृषि, स्वस्थ र सन्तुलित पर्यावरण, उच्च र दिगो उत्पादन तथा उत्पादकत्वको लागि हालको बजेटमा थप गर्नुपर्ने पनि उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव